गुल्मी : धुलैधुलो चिसो भूईंमा ओछ्याएको फाटेको गुन्द्री । गुन्द्रीमाथी पुरानो च्यादर ओढेर सुत्छन् तीनजना किशोर । चितवनमा आफूले काम गर्ने होटल बन्द भएपछि पैदल हिँडेर आफ्नो गाउँ आइपुगेका किशोरले आश्रय लिएको ठाउँ हो चन्द्रकोट गाउँपालिका –१ को वडा कार्यालयमा बनाईएको क्वारेण्टाइन । कोरोना भाइरस नियन्त्रणका लागि बाहिरबाट आउनेहरुलाई क्वारेण्टाइनमा राख्ने गाउँपालिकाको निर्णय छ । त्यसैले, ज्यान जोगाउन तीन दिन लगाएर गाउँमा आइपुगेका उनीहरु सुरक्षाका लागि क्वारेण्टानइ बस्न राजी भए । तर क्वारेण्टाइनमा सुरक्षा होइन, विरामी परिन्छकी भन्ने चिन्ताले किशोरलाई पिरोल्ने गरेको छ ।
‘भोकभोकै हिँडेर तीनदिनमा घर आयौँ, तर गाउँपालिकाले घर जान नदिएर क्वारेण्टाइनमा राख्यो’, उनीहरुमध्येका एक करण विक भन्छन्, ‘दिनदिनै पानी परेर पुसमाघजस्तो चिसो छ, तर च्यादर ओढेर गुन्द्रीमा सुत्दा निदाउन पाइएको छैन ।’ विद्यालयको कोठामा सामान्य कम्बल ओढेर बसेका गुल्मीकै धुर्कोट गाउँपालिका ६ का सुरज विश्वकर्मा रातभर आगो तापेर बस्छन् । जनप्रतिनिधी आउलान् र पिडा सुनाउँला भनेर पर्खिएका सुरजले क्वारेन्टाईन् बसेको चारदिनसम्म कोही फर्केर नआएको गुनासो पोखे । २७ दिन होम क्वारेण्टाइनमा बसेर आफ्नै मोटरसाइकलमा काठमाडौंबाट आएका उनलाई क्वारेण्टाइनकै चिसोले बिरामी पर्ने ठूलो डर छ । ‘दिउँसो त जसोतसो कटिहाल्छ,सुरजले भने,‘राती हुन थालेपछि जस्ताको चिसोले निन्दै्र लाग्दैन ।’ दिनदिनै परेको पानीले चिसो बढेको छ ।
विद्यालयको कक्षा कोठामा बनाईएका क्वारेन्टाईनमा बसेका भने कष्टकर जीवन विताउन बाध्य छन् । चन्द्रकोट गाउँपालिका–१ का वडा अध्यक्ष गोविन्द बहादुर बलालले वडा कार्यालयमाथी बनाईएको क्वारेन्टाईन् स्थानीयले बनाएको बताए । उनले क्वारेन्टाईन्मा बसेका नागरिकसंग भेट नभएको बताउँदै क्वारेन्टाईन वडाले नभई स्थानीयले बनाएर बसेको जानकारी दिए । बलालले वडा कार्यालयमा बसेका तीन जना किशोरका लागी खाना र विस्तारा घरबाटै व्यवस्था गरिएको जनाए ।
जिल्लाका स्थानीय तहले निर्माण गरेका क्वारेन्टाईन स्थानीय वडाका विद्यालय भवनमा बनाईएका छन् । जस्ताको छानामुनी बेञ्च जोडेर म्याट र सामन्य खालको पातलो कम्वलले दिनदिनै परेको पानीले बढेको चिसो थेग्न नसकेको जिल्ला बाहिरबाट आएर क्वारेन्टाईन्मा बसेकाको गुनासो छ । नाम मात्रैका क्वारेन्टाईनमा बसेका मानिसले सुरक्षित हुनुको साटो विरामी परिएलाकी भन्ने चिन्ता लाग्न थालेको बताए । प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले स्थानीय तहले बनाएका क्वारेन्टाईन् नेपाल सरकारले बनाएको मापदण्ड अनुसार नभएको बताए । उनले क्वारेन्टाईन् अनुगमनका लागि गाउँगाउँ पुग्दा धेरैजसो ठाउँमा स्थानीय स्रोत साधनबाटै क्वारेन्टाईन बनाएको उल्लेख गरे । शर्माका अनुसार अनुगमनका शिलशिलामा देखिएका कमजोरी सुधार्न स्थानीय तहलाई सुझाव दिएको बताए ।
नागरिक समाज गुल्मीका अध्यक्ष पदम प्रसाद पाण्डेले क्वारेन्टाईनमा आधारभुत आवश्यकताका सुविधा हुनुपर्ने बताए । उनले जिल्लाका कतीपय क्वारेन्टाईन्मा खाना,आवास लगायतका सामग्री राम्रो भएको भएपनि धेरैजसो क्वारेन्टाईनमा आधारभुत सुविधा नभएको पाईएको बताए । पाण्डेका अनुसार क्वारेन्टाईन अनुगमन र कोरोना भाईरस नियन्त्रणमा संघीय सरकार र प्रदेश सरकारको सहभागीता जिल्लामा शुन्य हुँदा लकडाउन कार्यान्वयन प्रभावकारी नभएको उल्लेख गरे । अन्य समयमा मानव अधिकारकर्मीको वाक्लो उपस्थिती हुने गरेपनि क्वारेन्टाईनको अवस्था बुझ्न र क्वारेन्टाईनमा बसेका नागरिकको बारेमा जानकारी लिन जिल्लामा कुनै पनि मानब अधिकारसम्बद्ध संघ संस्थाका प्रतिनिधी नआएको नागरिकको गुनासो छ । जिल्लामा १ हजार ५० वटा क्वारेन्टाईन वेड निर्माण गरिएको छ भने हाल ६८ जना क्वारेन्टाईनमा रहेको जिल्ला प्रसासन कार्यालयको वेभसाईटमा उल्लेख छ ।