- सुरक्षाका सामग्री लिनेदिनेहरु नै असुरक्षित
प्यूठान : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष एवं सचिवालय सदस्य बामदेव गौतमको पहलमा प्यूठानमा झण्डै १० लाख रुपैयाँ बरावरको स्वास्थ्य सामग्री भित्रिएको छ । जिल्लाका ९ वटै स्थानीय तहलाई वितरण गर्नेगरी उक्त सामग्री भित्रिएको नेकपा प्यूठानका प्रचार तथा प्रकाशन विभाग प्रमुख इमानसिँह भारतीले जानकारी दिए । गौतमले विभिन्न सहयोगी दाताहरुबाट जुटाएर सामग्री प्यूठान पठाएको उनले बताए ।
नेता गौतमको पहलमा १ सय सेट व्यक्तिगत सुरक्षा सामग्री (पिपिइ), दश हजार थान सर्जिकल मास्क, एक हजार बोतल सेनिटाइजर, एक हजार थान ग्लोब्स र दुई हजार थान हेडक्याप आएको छ । विहिवारदेखि स्वास्थ्य सुरक्षाका सामग्री स्थानीय तहमा वितरण गर्न थालिएको भारतीले जानकारी दिएका छन् । गौमुखी, झिमरुक र नौवहिनी गाउँपालिकामा सामग्री वितरण भइसकेको छ । अन्य पालिकाहरुमा शुक्रवार पु¥याउने नेकपा प्यूठानको तयारी छ ।
सामग्री वितरणमा कोरोनाको हेल्चक्राई
सुरक्षा सामग्री वितरण गर्दा नेकपा प्यूठानका नेता कार्यकर्ता र सम्वन्धित गाउँपालिकाका जनप्रतिनिधीहरुले सामाजिक दुरीको वेवास्ता गरेका छन् । मास्क बाढ्न पुगेका उनीहरु आफैँले मास्क लगाएका छैनन् । कार्यक्रममा सहभागी अधिकांशले यसलाई कुल्चेका छन् । कोरोना संक्रमण हुन नदिनका लागि राहत सामग्री लिन दिन जुटेकाहरुले नै उल्टै जोखिम भित्र्याउने गरी स्थानीय तहमा भेला हुँदा संक्रमणको जोखिम बढ्नसक्ने स्वास्थ्यकर्मीहरुको भनाई छ ।
गौमुखी गाउँपालिका कार्यालय प्रांगढमा गरिएको कार्यक्रममा कोरोनाको वेवास्ता गरेको देखिन्छ । भेला भएका २१ जनामध्ये १३ जनाले मास्कको प्रयोग गरेका छैनन् । उनीहरुले एक अर्कासँग न्यूनतम दुरीको समेत ख्याल गरेका छैनन् ।
तर, गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरीले यसलाई स्वभाविक रुपमा बुझ्न आग्रह गरे । ‘नेताहरु आउँदा कार्यकर्ता जुट्नु स्वभाविक हो’,उनले भने,‘धेरै समय बसेका थिएनौ, १५ मिनेट जति कार्यक्रम भएको हो ।’ कोरोनाबाट बच्ने उपाय सिकाउन गाउँ गाउँ पुग्ने अगुवाहरुले न्यूनतम मापदण्डलाई ख्याल गर्न नागरीक समाजका अगुवाहरुले उनीहरुलाई सुझाएका छन् । नौवहिनी गाउँपालिकामा आयोजित कार्यक्रममा पनि अधिकांशले मास्क, ग्लोव्स प्रयोग गरेका छैनन् । स्थानीय सरकारका जनप्रतिनिधी र राजनीतिक अगुवाहरुले नै असुरक्षित रुपमा सुरक्षाका सामग्री वितरण गर्नु राम्रो नदेखिएको नागरीकहरुले टिप्पणी गरेका छन् ।
कार्यक्रममा जुट्दा न्यूनतम सामाजिक दुरीलाई अनिवार्य ख्याल गर्नुपर्ने स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीले बताए । ‘कम्तीमा तीन फिट टाढा हुनैपर्छ’,उनले भने,‘हामी सुरक्षित छौँ नै भन्ने ग्यारेन्टी अझै छैन् ।’ सामाजिक दुरीमात्र नभई व्यक्तिगत दुरीलाई समेत ख्याल गर्न उनको सुझाव छ । उनले आफूँ बच्ने र अरुलाई बचाउने अभियानमा सवैले साथ दिन आग्रह गरे ।
तस्विर साभार : फेसबुक ।