- ‘धेरै संख्यालाई थेग्ने छैनन् क्वारेन्टाइन’
- स्थानीय तहका आ–आफ्नै योजना
प्यूठान : नेपाली कांग्रेसकी विद्यार्थी नेतृ निमा गिरीले मंगलवार सार्वजनिक रुपमै अपिल गरी घर जान इच्छुक प्यूठानीहरुलाई नाम टिपाउन आग्रह गरिन् । हाल कायम रहेको भाडामा ५० प्रतिशत छुटमा घरसम्म पु¥याउने योजना उनले सामाजिक सञ्जालमै सार्वजनिक गरिन् । उनले आफू सहित राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्रा.डा गोविन्दराज पोखरेल लगाएत सात जनाको नाम र सम्पर्क नम्वर समेत दिइन् । ५० प्रतिशत भाडा छुटमा घर फर्किनेहरुले नाम टिपाइरहेको उनले जानकारी दिइन् ।
बुधवार प्यूठान नगरपालिकाले काठमाण्डौँमा भएका प्यूठानीहरुलाई निःशुल्क ल्याउने निर्णय ग¥यो । अध्ययन र कामको शिलशिलामा राजधानी लगाएत देशका विभिन्न शहरमा भएकाहरुलाई निःशुल्क गाडीको व्यवस्था गरेर ल्याउने तयारी भएको नगरप्रमुख अर्जुनकुमार कक्षपतीले जानकारी दिएका छन् । ‘स्वास्थ्यकर्मी सहितको टोली गाडीमा गएर ल्याउने योजना बनेको छ’,कक्षपतीले भने,‘रुघाखोकी र ज्वरो आएकाहरुलाई ल्याउदैनौँ ।’ उनले सवैको स्वास्थ्य चेकजाँच गराएर मात्र गाडीमा चढाउने उल्लेख गरे ।
नगरपालिका क्षेत्रका नागरीकहरुलाई मात्र ल्याउने तयारी भएको बताउँदै उनले जिल्लामा आइसकेपछि होम क्वारेन्टाइनमा बस्नुपर्ने उल्लेख गरेका छन् । उनले १४ दिनसम्म होम क्वारेन्टाइनमा बसेर मात्र घर बाहिर निस्किन दिने जनाए । होम क्वारेन्टाइनमा बसे नबसेको बारे समुदायमा समूह बनाएर निरिक्षण गरिने उनले सुनाए । काठमाण्डौँपछि घर आउन चाहाने अन्य शहरमा भएका नगरबासीहरुलाई ल्याउने समेत उनले बताए । नगरपालिकाले संभवतः विहिवारदेखि नै प्यूठानबाट काठमाण्डौँका लागि गाडी छुटाउने योजना बनाएको छ ।
अन्य शहरका भन्दा काठमाण्डौँमा रहेका प्यूठानीहरुलाई घर ल्याउनका लागि प्रतिस्पर्धा नै चल्न थालेको छ । कतिपयले यसलाई राजनीतिक प्रतिस्पर्धाको रुपमा संज्ञा दिएका छन् । महिना दिनसम्म कोठामा बसिरहेकाहरुलाई गाडी खोजीखोजी ल्याउँदा गाउँमा थप जोखिम हुनसक्ने जिल्लाबासीको भनाई छ ।
धेरै संख्या थेग्ने छैनन् क्वारेन्टाइन
प्रचारमा आएजस्तो काठमाण्डौँ लगाएत शहरबाट प्यूठानीहरु भित्रिए हाल जिल्लामा भएका क्वारेन्टाइनले थेग्न सक्ने क्षमता देखिदैन् । जिल्लाभरका स्थानीय तहले बनाएका ८८ वटा क्वारेन्टाइनमा कुल ५ सय ९८ वटा बेड क्षमता छ । एउटा बेडमा एक जना मात्र सुत्ने भएकाले ६ सय जना पनि अट्नसक्ने क्षमता छैन् ।
झिमरुक गाउँपालिकाले मच्छि बजारमा ५ बेड क्षमताको मात्र क्वारेन्टाइन बनाएको छ । तर, काठमाण्डौँमा रहेका झिमरुकबासी आउने खवरले गाउँपालिका त्रसित बनेको छ । यस्तो बेला बसको यात्रा गरेर आउनुभन्दा आफू बसीरहेकै ठाउँमा सुरक्षित हुन गाउँपालिकाले आग्रह गरेको छ । ‘आफू बसेकै ठाउँमा सुरक्षित भएर बस्नु राम्रो हुन्थ्यो ’,गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद भुसालले भने,‘बीना तयारी गाउँपालिकाभित्र छिर्दा व्यवस्थापन गर्न समस्या पर्ने देखिन्छ ।’ उनले व्यक्तिहरुलाई ल्याउने होडबाजी भन्दा उनीहरु बसेकै ठाउँमा व्यवस्थापन गरिदिन् सम्वन्धित पक्षसँग आग्रह गरेका छन् ।
गौमुखीले सरकारको निर्णय पर्खिने
सरकारले गरेको तेस्रो चरणको लकडाउन वैशाख १५ गते सकिदैछ । १५ गते अघि नै सरकारले गर्ने निर्णयका आधारमा गौमुखी गाउँपालिकाले योजना बनाउने तयारी थालेको छ । गौमुखी क्षेत्रका नागरीकहरुलाई ल्याउने विषयमा सरकारले गरेको निर्णयको आधारमा तय हुने गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरीले जानकारी दिए । ‘अत्यावश्यक काममा आउनेहरुलाई हाम्रै पहलमा ल्याउँछौ’,उनले भने,‘तर सवै जना आउने विषयमा अहिले नै निर्णय भइसकेको छैन् ।’ उनले सकभर अन्य स्थानीय तहका नागरीकहरु पनि अहिले नआउन आग्रह गरेका छन् ।
स्वर्गद्धारीले अनिवार्य क्वारेन्टाइनमा राख्ने
स्वर्गद्धारी नगरपालिकाले सकभर नगरवासीलाई आफू रहेकै ठाउँमा रहन सुरक्षित भएर बस्न आग्रह गरेको छ । तर नगरपालिकामा बाहिरी जिल्लाबाट भित्रिएमा अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने नियम बनाएको छ । ‘होम क्वारेन्टाइनमा बसेर मानिने छैन्’,नगरप्रमुख नेत्र बहादुर रोकायले भने,‘नगरपालिकाले बनाएको क्वारेन्टाइनमा नै बस्नुपर्छ ।’ उनले मानिसहरुको संख्या बढी आएमा स्कुल स्कुलमा क्वारेन्टाइन बनाउने समेत जानकारी गराए ।
विभिन्न जिल्लामा भएका मजदुरहरु दुःख पाएरै भएपनि घरसम्म आइपुगेका छन् । ‘मजदुर ल्याउने विषयमा प्रतिस्पर्धा भएन’,प्यूठान नगरपालिका २ दाखाक्वाडीका राजनीतिकर्मी मधुर शर्माले भने,‘मजदुरका पीडा नदेख्नेहरुले कोठामा बसीरहेकाहरुलाई ल्याउन तछाडमछाड गर्नु राम्रो लागेन् ।’ उनले काठमाण्डौँबाट विद्यार्थीहरुलाई ल्याउने होडबाजी भन्दा उनीहरुलाई बसेकै स्थानमा खर्च व्यवस्थापनमा चासो दिन आग्रह गरे । जिल्लामा थेग्न सक्ने क्वारेन्टाइन नभएकाले बाहिरी जिल्लाबाट मानिसहरुको संख्या ह्वातै बढेमा जोखिम पनि बढ्ने सुनाए । बसीरहेका व्यक्तिहरुलाई ल्याउने नै हो भने देशका सवै ठाउँमा भएकाहरुलाई ल्याउन समेत उनले सम्वन्धित निकायलाई आग्रह गरे । ‘काठमाण्डौँमा भएका मात्र प्यूठानी हुन् ?’,उनले प्रश्न गरे,‘अरु शहरमा पनि प्यूठानी छन् उनीहरु पनि आउन चाहान्छन् ।’ मजदुरहरुको बेहाल अवस्था देख्दा समेत स्थानीय तहका जनप्रतिनिधीहरु उनीहरुलाई उद्दार गर्न सरकारको निर्देशन कुरेर बसेका थिए । प्रधानमन्त्री र अदालतको निर्देशनपछि मात्र उनीहरु मजदुरको उद्दारमा जुटेका थिए ।
जिल्ला बाहिर भएका प्यूठानीहरु ल्याउने विषयमा जिल्लाका स्थानीय तहहरुबीच सम्वन्यात्मक भूमिका नहुँदा कोरोनाको त्रास थप बढ्दै जाने देखिएको छ । बाहिरी जिल्लाबाट आउनेहरु अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने सवै तहले यसअघि प्रावधान बनाएका छन् । सोही अनुसार गौमुखी गाउँपालिका उपाध्यक्ष तुलसी सुनार सहित जिल्लामा २ सय ९६ जना क्वारेन्टाइनमा बसेका छन् । ‘आफ्नै मोटरसाइकलमा काठमाण्डौँबाट घर आएको थिए’,खलंगा कसेरीका माधव केसीले भने,‘घरमै प्रहरी आएर क्वारेन्टाइनमा बस्न हिड्नुस भनेर ल्याए । अव सवै जना क्वारेन्टाइनमा बस्नुपर्छ । नियम सवैलाई बरावर हुनुपर्छ ।’
जिल्ला बाहिरबाट आउनेहरुका लागि जिल्लामै एकद्धार नियम नहुँदा थप समस्या हुने देखिएको स्वर्गद्धारी नगरपालिका मेयर नेत्र बहादुर रोकायले धारणा राखे । जिल्ला विपत् व्यवस्थापन समितिले नै जिल्ला व्यापी एकद्धार नीति बनाउनुपर्ने उनको भनाई छ । तर, प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पन्थले सम्वन्धित तहको विपत् व्यवस्थापन सम्वन्धी निर्णय गर्ने अधिकार सोही तहलाई नै दिइएको जानकारी गराए । उनले जिल्ला बाहिरबाट आउने व्यक्तिहरुलाई क्वारेन्टाइनमा बस्न आग्रह गरे । जिल्ला सम्वन्य समिति प्यूठान यसबारे भूमिका विहिन देखिएको छ ।