काठमाडौं : कोरोना कारण देखाउँदै कान्तिपुर पब्लिकेसन्सले आफ्ना पत्रकार र कर्मचारीलाई बेतलबीमा बस्न सूचना दिने क्रमलाई मंगलबार पनि निरन्तरता दिएको छ । र, यो क्रम बुधवार र बिहीवारसमेत जारी हुने कान्तिपुर स्रोतले जानकारी दिएको छ । मंगलबार बढी काठमाडौं बाहिरका पत्रकारलाई बेतलबी विदामा बस्न भनिएको थियो ।
त्यसरी सूचना गरिएकामा प्रदेश १ बाट डम्बरसिंह राई, रमेशचन्द्र अधिकारीसहित ४ जना, प्रदेश २ बाट शंकर आचार्य, श्याम सुन्दर शशी र शाहीमान राई, प्रदेश ३ (बाग्मती) बाट कृष्ण थापा, राजेन्द्र मानन्धर, टिका भट्टलगायत छन् ।
त्यस्तै गण्डकी प्रदेशबाट प्रकाश बराल, नारायण शर्मासहित ६ जना, प्रदेश ५ बाट विरेन्द्र केसी, काशिराम डाँगीसहित ४ जना, कर्णाली प्रदेशबाट भिमबहादुर सिंह, विप्लब महर्जनसहित ३ जना छन् । सूदुरपश्चिममा कोरोनाको बढी संक्रमण देखिएकाले त्यहाँ पहिलो चरणको सूचीमा बेतलबीमा नराखिएको दावी स्रोतको छ । काठमाडौं, थापाथलीस्थित मुख्यालयमा रहेकामा थप टेलिफोन गएकाहरुमध्ये यदु पोख्रेल, जैतुन रिखाम, चन्द्र कुँवर, दामोदर न्यौपानेसहित २४ जना छन् । पहिलो चरणकै सूचीमा रहेका अतुल मिश्र, ऋषिराम पौडेल, टिकाराम तामाड., कुलचन्द्र न्यौपानेहरुलाई भने सूचना पुगिनसकेको थाहा भएको छ ।
नेपाल पुरै बेतलबी भित्र
कान्तिपुरकै सहप्रकासन नेपाल साप्ताहिकमा कार्यरत लगभग पुरै पत्रकार कर्मचारीलाई बेतलबीमा राख्ने तयारी भइरहेको दावी स्रोतको छ । उक्त पत्रिका हाल प्रकासनमा समेत छैन । प्रशासन, लेखा, प्रेस, मार्केटिंगलगायत शाखामा एक चौथाई मात्र कर्मचारी राख्ने गरी तयारी भइरहेको छ ।
कान्तिपुरले कोरोनाका कारण आर्थिक संकट देखाउँदै पत्रकार, कर्मचारीलाई यसरी विदामा बस्न आग्रह गर्दै सहयोग मागेको हो । तर, पत्रकारहरुले भने आफूहरुमाथि पूर्वाग्रही ढंगले व्यवहार गरेको, संकटको बेला भेदभाव गरी हातमुख जोड्ने बाटो बन्द गरेको भन्दै विरोध गरेका छन् । यो विषय युनियन र सम्बद्ध संगठनहरुमा समेत पुगेको बताइन्छ । संकट नै परे अन्य विकल्पबारे सोच्दा पनि नसोची पुरै तलब नदिने रणनीति ठिक नभएको भन्दै कर्मचारी, पत्रकार आक्रोशित र भयभीत बनेका छन् । -खुलानेपाल डटकमबाट ।