प्यूठान : नौवहिनी गाउँपालिका प्यूठानले दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरुलाई सुरक्षित भएर काम गर्न दिने भएको छ । गाउँपालिकामा निर्माणधिन अवस्थामा रहेका विभिन्न योजना र व्यक्तिगत घर निर्माणमा आवद्ध श्रमिकहरुलाई आफू सुरक्षित हुने गरी निश्चित शर्त राखेर काममा फर्काउन अनुमति दिने भएको हो ।
सम्वन्धित योजनाका निर्माण व्यवसायी, उपभोक्ता समिति र घरधनीहरुले श्रमिकलाई सुरक्षित रुपमा काममा लगाए, नलगाएको बारेमा अनुगमन गरिने गाउँपालिका अध्यक्ष शिव रिजालले जानकारी दिए । काम गर्दा कम्तीमा साढे तीन मिटरको दुरी कायम हुनुपर्ने, मजदुरहरु स्थानीय रुपमै बसोवास गरेको हुनुपर्ने, कम्तीमा डेढ महिना गाउँदेखि बाहिरका मजदुरहरु काममा संलग्न हुन नपाउने लगाएत शर्त गाउँपालिकाले राखेको रिजालले बताए ।
अनूमती दिएपछि फाट्टफुट् केही योजनाहरु समेत शुचारु भएका छन् । रिजालका उनका अनुसार खवाङ, स्यालीवाङको विद्यालय भवन निर्माण, लुङको कुल घर निर्माण, फोप्लीको सामुदायिक भवन र केही व्यक्तिहरुले अनूमति लिएर आफ्नो नीजि घर निर्माण गरिरहेका छन् । ठण्डा आधारभूत विद्यालय नौवहिनी गाउँपालिका–३ खवाङको विद्यालय भवन निर्माण गरिरहेका उपभोक्ता समितिका अध्यक्ष विर बहादुर बुढामगरले मजदुरहरुलाई सुरक्षित बनाएर काममा लगाएको जानकारी गराए । ‘गाउँकै चार जना मजदुरले काम गरिरहेका छन्’,उनले भने,‘साढे तीन मिटरको दुरीमा मास्क लगाएर मजदुरले काम गरेका छन् । कोरोनाको बारेमा सजगभ एर काम गरेका छौँ ।’ उनले कार्यस्थलमा राखेको सिमेन्ट खेर जाने देखिएपछि काम शुचारु गरिएको बताए । पूर्वाधार विकास कार्यालय रोल्पा मार्फत स्रोन्नती भइरहेको बाग्दुला–बाहाने खण्डको
सडक समेत डोजर चालक र सहचालक मात्र उपस्थित भएर काम थालेका छन् । दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरुलाई दाल, चामल, नुनतेल दिएर मात्र दिगो समाधान नहुने देखिएपछि सुरक्षित भएर काम गर्नका लागि गाउँपालिकाले अनुमति दिएको हो । गाउँपालिकाले गाउँका ७६ जना घरपरिवारलाई राहत वितरण गरेको छ । सम्वन्धित स्थानीय तहले निश्चित शर्त राखेर ज्यालादारीमा काम गर्नेहरुलाई काममा फर्काउन श्रमिकहरुले माग गरेका छन् । प्रदेश वा संघीय सरकारले नै निर्णय गरेमा आफूहरुलाई सहजता हुने स्थानीय जनप्रतिनिधीहरुले आशा गरेका छन् ।