विश्व कोरोना (कोभिड १९) बाट प्रभावित भएको यो अवस्थामा नेपाल पनि अछुतो छैन । विश्वमा करिब १ लाख मानिसहरुको यस रोगबाट मृत्यु भइसक्यो । केहि दिन पहिले (चैत्र २९ गते) एउटा लेख पढेकी थिए, भारतमा बिहारको जहानाबादमा कोरोना संकटबीच तीन बर्षका एक बच्चाको एम्बुलेन्स कुर्दा कुर्दै आमाकै कोखमा मृत्यु भयो ।
ती बच्चा अरू नै रोगको सिकार थिय । यसले के संकेत गर्छ भने भोकमरि, युद्द, बिपत, महामारी जस्ताले गरिब, महिला र बालबालिका बढी प्रभावित हुन्छन भन्ने विभिन्न समाचार पढेका छौ । नेपालमा कामदारले सोलुदेखि कैलालीसम्मको यात्रा तय गरेका, प्यूठान घर भएका केहि ज्यमीहरु पर्वतदेखि हिड्दै प्यूठान पुगेका, काठमाडौंदेखि रौतहट पुगेका, घर भित्रबाट निस्किन नपाउँदा बढ्दो महिला हिँसा, काठमाडौं लगायत बाहिर जिल्लाका केहि घरबेटीले भाडावाल व्यक्ति सामान्य बिरामी हुँदा पनि कोठामा नआउनु भन्ने यी यावत समस्याले व्यक्ति रोगले होइन संकटले दुःख पाउने र मर्ने अवस्था देखिन्छ ।
प्यूठानदेखि काठमाडौं बस्ने साथीहरुको समस्या पनि उस्तै छ । जो लकडाउन (बन्दाबन्दी)ले घर जान पाउनु भएको छैन । कसैको परिवारको मृत्यु भएको छ । कसैको आफन्त गम्भिर बिरामी हुनुहुन्छ । कसैको वार्षिक पूण्यतीथि परेको छ । कसैको श्रीमती सुत्केरी हुनेवाला छिन । कसैको श्वास्प्रश्वास औषधि सकिएको छ । यी अनेकन समस्या छन साथीहरुका । तर जिल्ला प्रशासनले पास बनाउँदै प्रमाण चाहियो भन्छ । उनीहरुको भन्दिने मान्छे पनि छैनन् । पहुँच हुनेलाई सहज छ होला । तर उनीहरु झनै समस्यामा परेका छन । अर्कोतर्फ अर्थतन्त्रको संकट र खाद्य संकट त झनै के हुने हो कल्पना गर्न सक्ने अवस्था नै छैन । यसमा सरकारले कोरोनाको बिचमा बाझो रहित जमिन उब्जाउ योग्य जमिन भनि घोषणा गर्नु जरुरी छ ।
सरकारलाई मेरो अनुरोध :
अब जनता कोरोनाले होइन भोकै मर्ने खतरा देखिन्छ । यसर्थ, आन्तरिक लकडाउन खुकुलो बनाऊ । संकास्पद व्यक्ति र स्थानलाई बढ्दो निगरानीमा राखौ । नेपाल र भारतको सिमा खुला भएको हुँदा भारतको नीति अनुसार नेपालले नीति तय गर्नु पर्छ नै । यस भित्र हामी आफ्नो मौलिकता अनुसार बिकल्प खोजौ र स्वाब टेस्टको दायरा फराकिलो बनाउँदै प्रभावकारी बनाई सचेतना बृद्धि गरौँ । लकडाउन पछिको नेपालको योजना बनाऊ । सीमामा रोकिएका नेपालिलाई मातृभूमीमा लिएर क्वारेन्टाइनमा राखेर सकुसल घर पुग्ने बातावरण तय गरौँ । एक जिल्ला बाट अर्को जिल्ला जाने कामदारहरु, घर जान चाहाने बिध्यार्थीलाई राम्रोसँग चेकजाच गरि सुरक्षित रुपमा सेना तथा नेपाल प्रहरीको गाडी व्यवस्था गरि गन्तव्यमा पु¥याउ । राहतलाई व्यवस्थित र प्रभावकारी बनाउ ।
गाउँ गाउँमा स्थानीय सरकारले दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकहरुलाई राहत वितरण त गरिरहेका छन् । तर केही दिनका लागि ५ किलो चामल, दाल र नुनतेल दिँदैमा यसले दिगो समाधान गर्दैैन् । श्रमिकहरुलाई अव सुरक्षित रुपमा राखेर श्रम गर्ने बातावरण राज्यले मिलाउनुपर्छ । यसमा अझ बढी विशेष निगरानी स्थानीय सरकारले गर्नुपर्छ । दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरुलाई टाढा हिडडुल नगर्ने गरी निश्चित शर्त राखेर काम गर्ने उचित वातावरण राज्यले गरेमा मात्र श्रमिकहरुको दिगो व्यवस्थापन हुनसक्छ । यसका लागि सवैले आ–आफ्नो क्षेत्रबाट राज्यलाई सहयोग गर्नुपर्छ ।