- वेवास्ता गर्दै पिकनिक कार्यक्रम, प्रहरी प्रशासन बेखवर ।
प्यूठान : कोरोना फैलिने त्रासमा लकडाउनले मुलुक ठप्प छ । सरकारले घरभित्रै बसेर सुरक्षित हुन आग्रह गरिरहेको छ । कुनै पनि सार्वजनिक सभा, भेला लगाएत भेटघाट जस्ता कार्यक्रमलाई पूर्ण रुपमै बन्देज लगाइएको छ । तर गुल्मीको मदाने गाउँपालिका १ अग्लुङका यूवाहरुले लकडाउनको देखिने गरी उल्लघंन गरेका छन् ।
नयाँ वर्ष २०७७ सालको पहिलो दिन अग्लुङस्थित झिगनपानीका यूवाहरु भेला भएर सार्वजनिक स्थलमा पिकनिक कार्यक्रम गरेका हुन् । गाउँका १६ जना यूवाहरु जुटेर पिकनिक कार्यक्रम गरी उनीहरुले सरकारले गरेको निर्देशनको ‘धज्जी’ उडाएका छन् । सामाजिक दुरीलाई समेत ख्याल नगरी यूवाहरु नजिकै टाँसिएर कार्यक्रममा सहभागी भएको देख्न सकिन्छ । सामाजिक सञ्जालमा उनीहरुको जमघट भाइरल बनेको छ । स्थानीयका अनुसार गाउँकै गोलढुंगामा गएर यूवाहरुले पिकनिक खाएका हुन् ।
सार्वजनिक रुपमै भेला भएर पिकनिक गर्दा समेत गाउँपालिका र वडाका जनप्रतिनिधि एवं कर्मचारीहरुले यसलाई नियन्त्रण नगरेको स्थानीयवासीको गुनासो छ । प्रहरी प्रशासन समेत यसबारे बेखवर छ । ‘झिगनपानीका यूवाहरु नयाँ वर्षका दिन पिकनिक खान गएको आज मात्रै थाहाँ भयो’,वडा अध्यक्ष प्रेम चन्द बोहोराले भने,‘उनीहरुलाई सम्पर्क गरिरहेको छु, तर सम्पर्क हुन सकेको छैन् ।’
साविकका ९ वटै वडामा टोल समिति गठन गरेर कोरोना नियन्त्रणका कार्यक्रमहरु भइरहेका बेला गाउँका यूवाहरुले गरेको यस्तो कार्यले आफूलाई दुखिद बनाएको उनले सुनाए । नयाँ वर्षका दिन आफू अग्लुङफेदी बजार गएकाले केही जानकारी नभएको समेत उनले सुनाए । गठित टोल समितिमै आवद्ध यूवाहरुले नियम उल्लंघन गरेको पाइएको समेत उनको भनाई छ । चन्दका अनुसार प्रत्येक टोलमा तीन÷तीन जनाको समूह बनाएर कोरोना नियन्त्रणका कार्यक्रमहरु यूवा मार्फत भइरहेका छन् ।
गाउँपालिका केन्द्र पुर्कोटदह देखि अग्लुङ टाढा पर्ने भएकाले यसबारे आफूलाई केही जानकारी नभएको इलाका प्रहरी कार्यालय पुर्कोटदहका इन्चार्ज प्रहरी निरिक्षक पंकज चुँदालीले जानकारी दिए । ‘नयाँ वर्षमा यस्तै क्रियाकलाप हुन्छन् भनेर गस्ती त गरेका थियौँ’,उनले भने,‘तर अग्लुङमा पुग्न सकेनौँ । यसबारे विस्तृत बुझ्छौँ ।’ यस्ता क्रियाकलाप भएमा प्रहरीलाई खवर गर्न समेत उनले स्थानीयबासीलाई आग्रह गरे ।