
ऋतुराज । न गर्मी न चिसो । ठिक्कको मौसम । सफा निलो खुलेको आकाश । बोट बिरूवामा नयाँ पालुवाहरू पलाइरहेको यो क्षण । घरको छतमा गमलाभरी फूलिरहेका रङगीचङ्गि फूलको बास्ना । सिरसिर हावा चल्दै माघ फागुनको कठयाङग्रिदो मौसमलाई पार गरेका न्याना घामहरू ! न्यानो घामको स्पर्शसंगै रमाइरहेका हामी । आहा ! कति रमाइलो यो मौसम । विडम्वना २०१९ डिसेम्बर ३१ मा चीनको वुहान प्रान्तबाट फैलिएको नोबेल कोरोना भाइरस कोभिड १९ ले बिर्साइदिएको छ यो वसन्त ऋतुको मनोरम सुन्दरता । दिन दुई गुणा रात चौगुणा हुँदै गुणात्मक रूपमा फैलिरहेको कोरोना भाइरस हालसम्म विश्वका २१३ वटा राष्ट्रमा फैलिसक्यो । १ लाख ६ हजार भन्दा बढि मानिसको मृत्युु भइसकेको छ । र, करिब १७ लाख मानिसहरु कोरोना भाइरसबाट संक्रमित छन ।
यतिबेला कोरोना भाइरसबाट मानव जातीले शताब्दीकै ठूलो सङकटको सामना गर्नु परेको छ । विश्वका शक्तिशाली भनिएका देशहरू अमेरिका, स्पेन, इटाली, बेलायत पनि अहिले यस महामारीको ठूलो संकटमा परेका छन । जसरी शक्तिशाली राष्ट्रहरू गुज्रिरहेका छन, त्यसैगरि नेपाल पनि स्वभाविक रूपमा प्रभावित छ । गुणात्मक रूपमा तिव्रगतिमा विश्व महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस जोखिम नियन्त्रणका लागि नेपालमा पनि नेपाल सरकारले लकडाउन गरेको आज २१ औँ दिन पुग्यो ।
कोरोना विरुद्धको लडाइँमा तपाई हामीसवै एक जुट भएर उभौँ । सरकारले गरेको निर्देशनहरु घरमै बसीबसी अनुशासित रुपमा कार्यान्वयन गरौँ, अवश्य पनि जित मानव जातीकै हुनेछ ।
कोरोना रोकथामका लागि केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकारले विभिन्न प्रयत्न गरिरहेका छन । त्यसमा पनि स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरूले एकदमै महत्वपूर्ण भूमिका खेलिरहेका छन् । जनताले स्थानीय तहमा प्रत्यक्ष रूपमा सरकार भएको महशुस गरिरहेका छन । त्यस्तै स्वास्थ्य सामाग्रीको अभाव, स्रोत साधनको अभाव, जनशक्तिको अभावका बिचमा पनि आफ्नो क्षमताले भ्याएसम्म स्थानीय सरकारले क्वारेन्टाइनको व्यवस्था मिलाउने, माइकिङ गर्ने, जनताहरूको लगत तयार गरि राहात वितरण गर्ने काम स्थानीय सरकारबाट भइरहेको छ । प्रहरी प्रशासनले पनि रातदिन भोक तिर्खा नभनी खटिइरहेका छन । लकडाउनका कारण म पनि घरभित्रै सिमित भएर बसिरहेकी छु । यस्तो अबस्थामा हरेक व्यक्तिलाई तनाव पैदा हुनु र असहज अवस्था सिर्जना हुनु स्वभाविक कुरा नै रहेछ ।
लकडाउनले यहाँका सबै अत्यावश्यक बाहेकका सम्पूर्ण काम क्रियाकलाप ठप्प भएकोले गर्दा यसको प्रत्यक्ष मारमा परेका दैनिक ज्यालादारी रूपमा काम गर्ने मजदुर, श्रमजीवी श्रमिकहरूलाई बिहान बेलुका छाक टार्नका लागि हम्मेहम्मे परिरहेको छ । यसै कुरालाई मध्यनजर गर्दै मुलुकभरका स्थानीय सरकारहरुले विपन्न वर्गलाई राहतका सामाग्री वितरण गरिसकेका छन । अत्यावश्यक काम गर्नु नै छ भने आलोपालो भौतिक दुरि कायम गर्दै कार्यालयको काम समेत भइरहेको छ ।
आज नयाँ वर्ष २०७७ सालको पहिलो दिन ! बिडम्बना ! यस वर्षको नयाँवर्ष विभिन्न रोचक क्रियाकलाप गरि मनाउन नपाएको दुःखद क्षण बन्यो । घरभित्रै सिमित रहनुपर्ने, साथिभाईसंग भेटघाट बन्द हुने, समय समयमा घुम्न जाने रमाइलो गर्ने लगायतका अनेकन कामहरू गर्न नपाई एउटा घरको वरिपरिमै सिमित बन्नुपर्ने बाध्यकारी अवस्था आइलाग्यो । मेरो भोगाइमा नयाँ वर्षको दिन जीवनको यस्तो क्षण यसवर्ष नै भयो ।
आजसम्म नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ । यस संक्रमण प्रकृतिका बारेमा पढदा, विश्वका शक्तिशाली देश गुज्रिइरहेको अवस्था सुन्दा हाम्रो देशको अबस्थाको कल्पनामा छटपटाहट शुरू हुन्छ । तर मनमा त्रास भित्र आश पनि छ विश्वमा आजसम्म करिब ३ लाख ९० हजार संक्रमित निको पनि भइसकेका छन् । यसले थोरै भएपनि हौसला बढाएको छ । भोलिका दिनमा के कस्तो हुने हो थाहाँ छैन् । तर, आशा गरौँ हामी कोरोनालाई जित्नेछौँ र फेरि लेख्ने छौ इतिहासका पानामा कोरोना भाइरसलाई जितेको कथा । कोरोना विरुद्धको लडाइँमा तपाई हामीसवै एक जुट भएर उभौँ । सरकारले गरेको निर्देशनहरु घरमै बसीबसी अनुशासित रुपमा कार्यान्वयन गरौँ, अवश्य पनि जित मानव जातीकै हुनेछ ।