रुकुम : नेपाल पत्रकार महासंघ रुकुमको पाँचौ साधारण सभा स्थगित भएको छ । साधारणसभाको बन्द सत्रमा पेश भएको आर्थिक प्रतिवेदन चित्त बुझ्दो नभएको भन्दै साधारण सदस्यहरुले यसमा छानविन हुनुपर्ने र साधारणसभा स्थगित हुनुपर्ने माग गरेपछि सभा स्थगित भएको हो ।
कोषाध्यक्ष प्रविर ददेलले पेश गरेको चालु कार्यकालको आम्दानी तथा खर्च विवरण सहितको आर्थिक प्रतिवेदन स्पस्ट नभएको, लेखापरिक्षण प्रतिवेदन नभएको, विल भपाई नभएको, अध्यक्ष गणेश बिक चिन्तनको नाममा ठुलो रकम निकासा भएकाले अनियमितता भएको हुन सक्ने भन्दै साधारण सदस्यहरुले आवाज उठाएका थिए ।
त्यस्तै पत्रकार महासंघको भवन निर्माणका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा चलिरहेको अवस्थामा आर्थिक प्रतिवेदन पास गर्न नसकिने अडान साधारण सदस्यहरुले लिएका थिए ।
आय व्ययमा गम्भिर प्रश्न उठाउँदै सदस्यहरुले महासंघको समग्र आय व्यय छानविनका लागि आन्तरिक छानविन समिति गठन गर्न र छानविन समितिको प्रतिवेदन नआउँदासम्म साधारण सभा स्थगित गर्न माग गरेपछि साधारण सभा स्थगित गरिएको बन्दसत्र संचालनका लागि गठित अध्यक्ष मण्डलका संयोजक नारायण कुमार शाहले जानकारी दिनुभयो ।महासंघको आयव्यय उपर छानविनका लागि ३ सदस्यीय छानविन समिति गठन गरिएको छ । महासंघका संस्थापक अध्यक्ष नारायणकुमार शाहको संयोजकत्वमा प्रेस सेन्टरका अध्यक्ष मेगराज खड्का र प्रेस युनियनका अध्यक्ष दिनेश खड्का सदस्य रहेको छानविन समिति गठन गरिएको हो ।
साधारण सभाले छानविन समितिलाई छानविनमा सहयोग गर्न नेपाल पत्रकार महासंघ जिल्ला शाखालाई निर्देशन दिएको छ भने आम्दानी तथा खर्चको वास्तविक अवस्था छानविन गरी यथासक्य छिटो प्रतिवेदन तयार पारेर साधारण सभामा पेश गर्न भनेको छ । यसका साथै आवश्यक कारवाहिका लागि पत्रकार महासंघको प्रदेश समिति र केन्द्रीय समितिमा जानकारी गराउन पनि साधारण सभाले छानविन समितिलाई निर्देशन दिएको छ । आय व्यय स्पस्ट नहुँदा महासंघको भवन निर्माणका क्रममा अनिमितता भएको देखिएको साधारण सदस्यहरुको भनाई छ ।
भवनको स्टामेट देखि मुल्यांकन र भवन निर्माणको प्रक्रिया स्पस्ट नभएको, भवन निर्माणका लागि आएको रकम अन्य शिर्षकमा खर्च गरेको, भवन निर्माणका लागि प्रयाप्त बजेट आउँदा पनि महासंघका नाममा अझै ९ लाख बढी ऋण रहनुले अनिमितता भएको साधारण सदस्यहरुको दाबि छ ।
भवन निर्माणका लागि विभिन्न निकायबाट १९ लाख ५९ हजार बजेट आएको र त्यति नै बजेट खर्च हुँदा अझै ९ लाख बढी ऋण रहेको प्रतिवेदन साधारणसभामा पेश गरिएको थियो । त्यस्तै सचिव हरि गौतमले पेश गरेको सांगठनिक प्रतिवेदन भने साधारण सभाले संशोधन सहित पास गरेको छ ।