कोरोना भाइरस (कोभिड १९) ले विश्व अहिले त्रासदीपूर्ण छ । कोरोना फैलिन नदिनका लागि नेपाल सरकारले गरेको लकडाउन पनि आज २० औँ दिनमा पुगिसक्यो । लकडाउनले नेपाल ठप्पै छ । कोरोनाकै कारण यसवर्ष राज्यले लिएका लक्ष्य एवं उद्देश्यहरु अपेक्षाकृत रुपमा पुरा हुने देखिदैन् । सरकार यतिबेला सरकारका परिभाषित काम कारवाहीलाई अघि बढाउने भन्दा पनि कसरी नागरीकहरुको जीवन बचाउन सकिन्छ भन्नेमै तल्लिन रहेको छ । राज्यका हरेक संयत्रहरु नागरीकहरुकै जीवन रक्षामा खटेका छन् ।
मुलुकमा तीन तहका सरकार संचालनमा छन् । जनताका नजिकको सारथीको रुपमा अहिले गाउँगाउँमा भएका स्थानीय सरकार नै रहेको पाइएको छ । लकडाउनको यस अवधिलाई हेर्ने हो भने स्थानीय सरकारले आ–आफ्नो क्षेत्रका नागरीकहलाई राहत र उद्दारमा पहिलो भूमिका निर्वाह गरिरहेको देखिएको छ । स्थानीय तहमा कार्यरत धेरैजसो कर्मचारीहरु लकडाउनकै कारण घरमै सुरक्षित रुपमा बसीरहेको अवस्था छ । तर, अत्यावश्यक कामका लागि उनीहरु कार्यालयमा पुगेर जनताको सेवामा खटि नै रहेका छन् ।
कोरोनाको त्रास नफैलिदै म मेरो जन्मभूमि मालिका गाउँपालिका ५ छापहिले गुल्मी गएको थिए । कर्मथलो घरपझोङ गाउँपालिका जोमसोम मुस्ताङ नफर्कदै देश लकडाउनले ठप्प भयो । लकडाउनको साता दिन त जसोतसो विताइयो तर घरमै बसीरहन मनले मानेन् । कर्मथलो फर्किएर अत्यावश्यक काममा जुट्नुपर्ने अवस्था आयो ।
लकडाउनको २० औँ दिन बिहान सात बजे मुस्ताङ जोमसोम यात्रा शुरु भयो । जोमसोम यात्रा त्यति सजिलो थिएन । गुल्मीको मालिका गाउपालिकादेखि घरपझोङ गाउँपालिको दुरी १ सय ८५ किलोमिटर छ । मेरो यात्राको क्रममा शुरुमै मालिका गाउँपालिका ५ मा व्यरियल पारगर्दा स्थानीय भुवन गिरीले मेरो यात्राको बारेमा सोँधखोज गरेर मात्र अघि बढ्ने अनुमति दिनुभयो । अघि बढ्दै जाँदा फेरी गुल्मीकै ईस्मा गाउँपालिकाको पाहाकटेरीमा रहेको अर्को ब्यरियल पारगरेर अघि बढ्नुपर्ने देखियो । तर त्यस व्यारियल हेर्ने हेरालु नभएका कारण आफैँ खोलेर अघि बढे ।
मोटरसाइकलको मेरो यात्रा गुल्मीकै मुसिकोट नगरपालिकाको पौदी अमराई पुग्दै जाँदा त्यहाँ प्रहरीचौकी भएकोले सोँधखोज गर्नुभयो । उहाँलाई पनि दुई मिनेट मेरो यात्राको नालीबेली बताएर मात्र अघि बढ्ने अनूमति आयो । त्यसपघि पाँच किलोमिटर अघि बढेपछि बढीघाट नदीमा बनेको पुलले गुल्मी बाग्लुङको सिमाना छुट्टाएको थियो । गृह जिल्ला गुल्मी पार गरेर अर्को जिल्लामा पाइला टेक्न लागेपछि मेरो मनले मानेन् र, एउटा सेल्फी मोवाइलमा कैद गरे । सुनसान बाटो । कतै कच्ची, कतै पक्की बाटोको यात्रा गर्दै म अघि बढिरहे ।
दुई जिल्ला जोड्ने पुल काटेर एक किमी अगाडी बढेपछी बढीघाट गाउँपालिकाको खराबाङ बजार पुगियो । अरुबेला चहलपहल हुने यो बजार पनि अहिले शान्त थियो । मात्र एक जना ट्राफिक प्रहरी सडकमा देखिनुभयो । उहाँले मेरो मोटरसाइकल रोक्नको लागि इसारा गर्नुभयो । मेरो पास चेकजाँच गरेपछि मात्र अगाडी बढ्न उहाँले मलाई अनुमति दिनुभयो ।
खराबाङ बजार पारगरेपछि म गलकोट नगरपालिका प्रवेश गरे । गलकोट बजारमा रहेको हटिया बजार पनि चहलपहल हुने कुरै भएन् । गलकोट नगरपालिकामा भने कतै पनि हेल्थ डेस्क जाँचपास गरेको देखिएन् । गलकोट नगरपालिका कटेपछि बाग्लुङकै काठेखोला गाउँपालिकाको घोडाबाधेको धुरीमा रहेको आर्मी क्यापले सबारी जाँचपास र साबुन पानीले हात धुने र थर्मल गनबाट यात्रुको तापक्रम जाँच गर्ने, सम्बन्धित ब्यक्तिको नामथर ठेगाना, कँहा बाट आएको हो ? कहाँ पुग्ने हो ? मोबाइल नम्बर लगाएतका जानकारी टिपेपछि मात्र अघि बढ्ने अनुमति दिँदो रहेछ । नेपाली सेनाले सोँधको सवै कुराको मैले इमान्दारीताका साथ जवाफ दिए र अघि बढे ।
त्यहाँ बाट करिब ५ सय मिटरको दुरीमा रहेको काठेखोला गाउँपालिका अन्तर्गत बिहुमा रहेको प्रहरी चौकीले पनि गाडीहरु रोकेरै पालैपालो जाँच गरेर सम्पूर्ण विवरण दर्ता गर्दोरहेछ । म पनि त्यसको भागेदारी भए । मेरो मनमा याद आयो, कोरोनाको पाजेटिभ संक्रमण देखिएका दुई जना व्यक्ति बाग्लुङ नगरपालिकाका थिए । यसैका कारण पनि होला यहाँको सवारी चेकजाँच अन्यको तुलनामा अझ बढी कडा रहेछ ।
म बाग्लुङ बजार प्रवेश नगरी मध्यपहाडी राजमार्गबाट माथिल्लो बाटोहुँदै बेनीतर्फ लागे । बाग्लुङ बजारमा प्रवेश नगरेको कारण बाग्लुङमा चेकजाँच भएन । बाग्लुङ बजारबाट करिब ११ किलोमिटर अगाडी बढेपछी म्याग्दी जिल्ला शुरु हुने रहेछ । त्यहाँ ब्यरियल बन्द गरेर हेल्थ डेस्कसंगै एक जना प्रहरी जवान डिउटीमा खटिनु भएको थियो । दुवै जनाले पुरा विवरण र पास जाँच गरेर जिल्ला प्रहरी कार्यालयले बेनीमा खबर गर्नु भयो । बेनीका प्रहरी प्रमुखले अघि बढ्न आदेश दिएपछि मात्र मेरो यात्राले अनुमूति पायो ।
यात्रा अनवरत अघि बढ्दै गयो । पुग्नुथियो मुस्ताङको घरपझोङ गाउँपालिका । एकल यात्री भएपनि सुनसान बाटो, बीच बीचमा रोकिदै । चेकजाँच गर्दै, स्वास्थ्य परिक्षण गर्दै जानुको एउटा फरक अनूभुति थियो । मेरो मनमा लाग्यो सायद यस्तो अवसर भनौ वा चुनौती अव फेरी आउने छैन् । त्यो त म यस भन्दा अघि पनि यो रुटहुँदै गुल्मी–मुस्ताङ नगरेको होइन् । तर अरुबेलाको भन्दा यसपाली निकै सम्झनलायक यात्रा बनिरहेछ । म जति अघि बढ्दै छु यात्राका क्रममा आँखै अगाडी आएजस्तै गरी सजिएर बसेका हिमालहरु, सफा मौसम, सुनसान बाटो, मनै लोभ्याउने गाउँघर, मेलापात गर्न लागेका किसानहरुको तस्विर लिइरहेको हुन्थे ।
यात्रा गर्दै जाँदा बेनी नगरपालिका अर्थात बेनी बजार नजिक पुगे । त्यहाँ प्रतीक्षालयमा एक जना प्रहरी सहायक निरीक्षक (असइ) बिजुलीको पोल र बाँसको दाउरा बाटोमा तेर्सायर डिउटीमा खटिनुभएको रहेछ । उहाँले पनि अघिकै जस्तै प्रहरीले गर्ने आफ्नो जिम्मेवारी पुरा गर्नुभयो । बेनी बजार सुनसान थियो । २÷४ वटा किराना पसल भने खुलेका थिए । बेनी बजारमा प्रहरीहरुको बाक्लो उपस्थिति थियो ।
बजार पार गरेपछी म ऐतिहासिक धार्मिक क्षेत्र गलेश्वरधाम पुगे । तर, जलेश्वर धाम बन्द थियो । त्यहाँ रहेका सवै पुँजा सामग्री पसल बन्द थिए । अरुबेला मन्दिरमा दर्शन र भेटी चढाएर हिड्ने म यसपाली भने आँखाले हेरेर चित्त बुझाई अघि बढे । त्यो मेरो रहर, थिएन बाध्यता थियो । तर केहि फलफूलका पसल भने खुल्ला थिए । त्यसपछि रघुगंगा गाउँपालिका प्रवेस गरेसंगै रघुगंगा गाउँपालिकाले स्थापना गरेको हेल्थ डेस्कमा एक जना प्रहरी सहायक निरीक्षक र एक जना स्वास्थ्यकर्मी बसिरहनु भएको थियो । त्यहाँ साबुन पानीले हातधुने र ज्वरो जाँच गरेपछि विवरण जाँच गरी हिडे ।
फेरी म अन्नपूर्ण गाउँपालिकामा पाइला टेके । यस गाउँपलिकाले पोख्रेबगर भन्ने स्थानमा ब्यरियल निर्माण गरेर स्वास्थ्य जाँच गर्ने हेल्थ डेस्क खडा गरेको रहेछ । त्यहाँ स्यानिटाइजरले हात सफा गरेर ज्वरो परिक्षण गरी सवै विवरण टिपाए । केहीबेरमा तातोपानी पुगेपछी त्यहाँ रहेको प्रहरी इकाइले पनि ब्यरियल लगायर जाँच गरिरहेको थियो । मैले पनि सबै विवरण दिएर पास देखाएर अगाडी बढे । अगाडी बढ्दै जाँदा म्याग्दी जिल्लाको अन्तिम इलाका प्रहरी कार्यालय दानाले सम्पूर्ण विवरण जाँच गरिसकेपछी त्यहाँका प्रहरी प्रमुखले मुस्ताङमा कार्यरत कर्मचारीलाई घासामा रहेको जाँच चौकीले मुस्ताङ छिर्न नदिएको र ताहुँबाट फर्काएको कारण बुझेर मात्र पठाउने भन्नु भयो ।
म त्यहाँ केहिबेर पर्खीए पछी घासा प्रहरी इकाइमा प्रहरी प्रमुखले फोन गरेपछि मात्र पठाइदिन भन्नुभयो । र मुस्ताङको पाइला अघि बढाउन अनूमति आयो । करिब १५ किलोमिटर पार गरेपछि म घाँस आइपुगे त्यहाँ प्रहरी, नेपाली सेनासंगै स्वास्थ्य कर्मीको संयूक्त जाँच इकाइले जाँच गर्ने रहेछ । सम्पूर्ण जाँच र स्वास्थ्य परिक्षण पछी मलाइ मुस्ताङ जिल्ला प्रबेश अनुमति भयो । मुस्ताङ जिल्ला प्रबेस गरेको केही समयमा थासाङ गाउँपालिका अन्तर्गत लेतेमा रहेको प्रहरीले जाँच गरेपछी मलाई जोमसोम जाने अनूमति दियो । गुल्मीबाट विहान ७ बजे हिडेको म दिउँसो करिब २ बजे मुस्ताङ सदरमुकाम जोमसोम सकुसल आइपुगी सेल्फ क्वारेन्टाइनमा बसीरहेको छु ।
मुलुक लकडाउन हुनुपूर्व नै म गुल्मी पुगेको थिए । लकडाउनको समयावधि एक हप्ता भन्दाभन्दै चैत १० देखि बैसाख ३ सम्म तोकियो । म कार्यरत स्थानीय तह (गाउँपालिका) भएकाले यो विपत्तिको घडीमा घर बसीरहन मनले मानेन् । आर्थिक प्रशासन शाखा प्रमुखको नाताले पनि घरमै बसिरहँदा सम्पूर्ण आर्थिक क्रियाकलाप नरोकियोस र अत्यावश्यक स्वास्थ्य सामग्री समेत खरिद गर्न समस्या नहोस भन्नका खातिर रास्ट्रलाई समस्या परेको बखत राष्ट्र सेवकले जिम्मेवारीबाट पन्छिनु हँुदैन भनेर आफ्नै चाहानाको कारण १८५ किमी लामो धेरै कच्ची थोरै पक्की बाटो र यावत समस्यालाई छिचोल्दै कार्यस्थलमा आइ जिम्मेवारी निर्बाह गर्न शुरु गरेको छु ।
यात्राका क्रममा भोगेका भोगाई, कोरोना रोक्न सरकारले चालेका कदम, अझ बढी स्थानीय तहले खेलेको भूमिकालाई मनको गहिराईबाट प्रशंसा गर्न मन लाग्यो । यो एकल यात्रीले यात्राका क्रममा भोगेका भोगाइहरु जति लेखेपनि सकिदैनन् । म फेरी पनि भन्छु, अरु बेलाको भन्दा यसपालीको यो यात्रा मेरो जीवनको लागि निकै सम्झनलायक बन्यो । यात्राका क्रममा भएका सवै क्रियाकलापहरुलाई मैले जति समेटेको छु त्यसलाई मनन गर्यो भने पनि कोरोनासँग जुध्न सकिन्छ । यसर्थ, कोरोनाले त्रास बनाइरहेको यस कठिन घडीमा तपाई, हामी सवैजनाले आ–आफ्नो तर्फबाट राज्यलाई सहयोग गरौँ । अवश्य पनि कोरोना फैलिनबाट जोगिने छौँ । आफूँ बचौ, अरुलाई पनि बचाऊँ । अन्तमा नयाँ वर्ष २०७७ सालको सवैमा मंगलमय शुभकामना !