- प्रतिक्षालयमा बास, चिउरा र पानी खाँदै यात्रा
गुल्मी : मदाने गाउँपालिका–२ बाँझकटेरी गुल्मीका प्रेम नेपाली पढ्दापढ्दै रोजगारीका लागि भारत पुगे । १७ वर्षिय उनी गाउँकै बाँझकेटरी मावीमा कक्षा ८ मा पढ्दै थिए । घरखर्च धान्नका लागि आफू मुग्लान गएको उनी बताउँछन् । कृष्णनगरहुँदै उनी भारतको गोण्डा पुगेर उनले उद्योगमा बोरा फाल्ने काम पाए । काम गर्न थालेको १५ दिन हुन लागेको थियो । तर कोरोना भाइरसको त्रास फैलिँदै गयो । भारतमा भएका अधिकांश नेपालीहरु घर फर्किन थाले । पहुँच हुनेहरु त गाडीमा हुइकिए । तर उनी न त गाडी पाए न आफूले काम गर्ने ठाउँमा बस्न सके । काम गरेको पैसा मागौँ भने महिना दिन पुगेकै थिएन् । जसोतसो मालिकसँग आग्रह गरेर घरसम्म पुग्ने गाडीभाडा मागे । ‘बोरा फालेर दिनको ६ सय ढ्याडी बुझ्थे’,उनले भने,‘१५ दिन काम गरेको थिए । सवै छाडेर आएको छु । मालिकले पठाइदिन्छु भनेका छन् ।’
मालिकले घरसम्म पुग्ने भाडा त दिए तर उनी भाडा दिनका लागि गाडी चढ्ने मेसो पाएनन् । लकडाउनले बजार ठप्प थियो । पहुँच हुनेहरु मात्र आफ्ना नीजि गाडीमा हिड्थे । आफ्नै कम्पनीमा काम गर्ने गाउँकै कृष्ण नेपालीलाई उनले घर जान आग्रह गरे । दुवै जना हिडेरै भएपनि घरजाने निधोमा पुगे ।
कामगर्ने ठाउँ भारतको गोण्डाबाट कृष्णनगर आउनै उनीहरुलाई दुई दिन लाग्यो । रातको समयमा उनीहरु बाटोमा भेटिएका प्रतिक्षालयमा सुत्थे । तीन÷चार रात त नसुतेरै रातभर हिडेरै उज्यालो बनाउथे । झोलामा चाउचाउ, विस्कुट उतैबाट लिएका थिए । भोकलाग्दा बाटोमा बसेर खान्थे । लकडाउन लम्विदै गयो भने घर जान पाइँदैन् भन्ने उनीहरुमा त्रास थियो । जति दिन लागेपनि घरपुग्ने उनीहरुको अन्तिम धोको थियो ।
‘जसरी पनि घरपुग्नुपर्छ भन्ने मनमा थियो’,कृष्ण नेपालीले भने,‘खुट्टा सुन्निका थिए, विस्तारै कम हुँदै गएका छन् ।’ कृष्णनगरबाट चन्द्रौटा हुँदै गुल्मी पुर्कोटदह आएको उनले सुनाए । भारतमा दुई दिन र नेपाल छिरेपछि पाँच दिन घरसम्म आउन लागेको उनीहरु बताउँछन् । यसअघि पंजावमा काम गर्दै आएका उनी त्यहाँ चित्त नबुझेपछि गोण्डा पुगेका थिए । ‘काम गर्दै जाँदा गाउँकै प्रेम भाई भेटिए’,कृष्णले भने,‘एउटै गाउँका भएपछि घर आउन हौसला मिल्यो ।’ जति समस्या झेल्नुपरेपनि आफ्नै जन्मभूमीमा झेल्ने उनीहरुको सपना थियो । उनीहरुले आफ्ना कपडा र सामानहरुको झोला काम गर्ने ठाउँमै छाडेर आएका छन् । झोला बोकेर पैदल हिड्न नसक्ने भएपछि उतै छाडेर आएको नेपालीले जानकारी गराए । ‘रोग फैलिँदै जाने हो की भन्ने चिन्ता लाग्यो’,नेपालीले भने,‘पछि घरमा जान पाइँदैन की भन्ने चिन्ता भइरहन्थ्यो ।’
चैत २२ गते साँझ उनीहरु मदाने गाउँपालिकाको कार्यालय पुर्कोटदह आइपुगेका थिए । गाउँमा आएपछि घरमा नगएरै उनीहरु गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा गएका छन् । ‘भारतबाट आएपछि सिँधै घरमा जानुहुँदैन् भन्ने सुनेका थियौँ’,कृष्णले भने,‘त्यही भएर क्वारेन्टाइनमा गयौँ ।’ १४ दिन पुगेपछि मात्र घरमा जाने उनीहरुले बताए । उनीहरुलाई कोरोना भाइरस संक्रमणको कुनै लक्षण देखिएको छैन् । घरबाट आफन्तहरु क्वारेन्टाइनमा भेट्न आइरहेको उनले जानकारी गराए । उनीहरुसँगै क्वारेन्टाइनमा दश जना बसेको गाउँपालिका उपाध्यक्ष सरीता खड्काले जानकारी गराइन् । खड्का अनुसार गाउँपालिकाभरी ६६ वटा क्वारेन्टाइन निर्माण गरिएको छ । दश जना बाहेक अरु क्वारेन्टाइन रित्तै छन् ।