बुटवल : कोरोना रोकथाम तथा नियन्त्रणमा भइरहेका प्रयास बारे बुधवार (आज) प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले सीमावर्ती पाँच स्थानीय तहका प्रमुखसंग एकीकृत भिडियो संवाद गरेका छन् । कोरोना रोकथाम तथा नियन्त्रणमा स्थानीय तहका प्रमुखसंग मुख्यमन्त्रीले गरेको यो पाचौें भिडियो संवाद हो । नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डे, कपिलवस्तुको विजयनगर गाउँपालिका अध्यक्ष गोपाल थापा, कृष्णनगर नगरपालिका प्रमुख रजतप्रताप साह, रुपन्देहीको सम्मरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला, र दाङको गढवा गाउँपालिका अध्यक्ष सहजराम अहिर भिडियो संवादमा सहभागी भए ।
एकीकृत भिडियो संवादमा कोरोना रोकथाम र नियन्त्रणका लागि तीन तहका सरकारले अहिले गरिरहेका काम र आगामी योजनाका बारेमा छलफल भयो । पालिका प्रमुखहरुबाट अहिलेसम्म गरेका कामबारे जानकारी लिएपछि मुख्यमन्त्रीले कोरोना नियन्त्रणमा आगामी दिनमा गर्नुपर्ने कामबारे मार्गनिर्देश गरे ।
पालिका प्रमुखले भारत लगायत विदेशबाट आएका नागरिकको तथ्याङ्क संकलन, क्वारेन्टाइन निर्माण र क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाएको जानकारी गराएका छन् । दैनिक ज्यालादारी गरी खाने नागरिकको तथ्याङक संकलन गरी राहत वितरण गर्न थालेको जानकारी गराउँदै आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्थापन मिलाउन उनीहरुले मुख्यमन्त्रीको ध्यानाकर्षण गराए ।
स्थानीयस्तरमा राहत कोष बनाएर अघि बढ्न र दैनिक ज्यालादारी गरेर खाने विपन्न नागरिकलाई राहत प्रदान गर्न मुख्यमन्त्रीले आग्रह समेत गरे । दैनिक ज्यालादारी गरेर खाने मजदुर र विपन्न समुदायलाई खाद्यान्न लगायत सामग्रीको व्यवस्थापन गर्ने काम राज्यको दायित्व भएको र त्यसको पहिलो व्यवस्थापन स्थानीय तहले गर्नुपर्ने र आवश्यक सहयोग प्रदेशले गर्ने मुख्यमन्त्रीले बताए ।
प्रदेश सरकारले बुटवल, भैरहवा, बाँकेको खजुरा र दाङको बेलझुण्डीमा कोरोना आइसोलेसन अस्पताल निमार्ण गरेको र त्यहा आइसियु सहितको उपचारको व्यवस्था रहेकोले कोरोनाको उपचारको आवश्यक प्रवन्ध भएकोले समाजमा त्रासको वातावरणलाई चिरेर अघि बढ्न आग्रह गरे । क्वारेन्टाइनमा बसेकालाई ¥यापिड टेस्टिङ गरेपछि मात्रै पठाउने र केही दिनमै ¥यापिड टेस्ट हुने उनले बताए । त्यसैगरी ज्वरो आएका र आइसोलेसनमा रहेकालाई स्वाब परिक्षण गरिने गरी व्यवस्था मिलाइएको पनि जानकारी दिए ।
सीमावर्ती क्षेत्रबाट पूर्णतः आवतजावत बन्द गर्न आवश्यक प्रवन्ध मिलाइएको, सशस्त्र प्रहरीको संख्या बढाइएको र पालिकाहरुले पनि सुरक्षा निकायलाई आवश्यक सहयोग गर्न आग्रह गरे । भैरहवामा प्रयोगशाला सञ्चालनमा आएको, केही दिनमै नेपालगञ्ज र दाङमा पनि प्रयोगशाला सञ्चालनमा आउने भएकोले उच्च मनोबलका साथ कोरोना विरुद्धको अभियानमा लाग्न आग्रह गरेका छन् ।
अहिले खेती स्याहार्ने बेला भएकाले सामाजिक दुरी कायम गर्ने गरी खेती स्याहार्ने व्यवस्थाका लागि सहजीकरण गर्न र केही समस्या आए ध्यानाकर्षण गराउन मुख्मयन्त्रीले पालिका प्रमुखहरुलाई आग्रह गरे । कपिलवस्तुको विजयनगर गाउँपालिकामा केही दिन अघि भएको आगलागीबाट प्रभावित परिवारलाई प्रदेशबाट दिइने आवश्यक राहतका लागि प्रक्रिया छिटो टुंगोमा पु¥याउन मुख्यमन्त्रीले पालिका अध्यक्षलाई आग्रह गरेका छन् ।