विश्वव्यापी महामारीका रूपमा साम्राज्य जमाउदै गएको कोरोना भाइरस (कोभिड १९) का कारण आर्थिक, सामाजिक, राजनैतिक, साँस्कृतिक लगायत हरेक क्षेत्रमा यसले गहिरो प्रभाव पार्दै गइरहेको छ । कोरोना भाइरसको प्रभाव कहिलेसम्म रहने हो भन्ने कुराको कुनै एकिन छैन । विश्वव्यापी रूपमा जुन गतिमा यस भाइरसको संक्रमण बढ्दै गएको छ, यही गतिमा बढ्दै जाने हो र नियन्त्रण नहुने हो भने यसको प्रभावले राष्ट्रलाई हरेक हिसाबले वर्षौंसम्म तहसनहस पार्दै पछाडि धकेल्ने निश्चित छ । सरकारी निकायमा रहेका अधिकारी एवं आम नागरिकहरू यसको रोकथाम तथा नियन्त्रणका लागि गम्भीर र सचेत नबन्ने हो भने ठूलो विपत्ति खडा हुने छ ।
सम्पूर्ण मानव जातिलाई नै चुनौती दिइरहेको कोरोना भाइरसको प्रभाव शिक्षा क्षेत्रमा व्यापक रूपमा पर्दै छ र अझै निकट भविष्यमा झन् बढी पर्दै जाने सम्भावना प्रवल छ । कोरोना भाइरसका कारण देशका विद्यालयदेखि विश्वविद्यालयसम्मका सम्पूर्ण शैक्षिक कार्यक्रम बन्द भएका छन् । चैत ६ गतेदेखि सञ्चालन हुने भनिएको एस.इ.इ. परीक्षाको अघिल्लो साँझ कोरोनाको कारण भन्दै सरकाद्वारा उक्त परीक्षा स्थगित गर्दा विद्यार्थी र उनका अभिभावकहरूमा मनोवैज्ञानिक रूपमा ठूलो भय र त्रास सिर्जना भयो । कोरोना भाइरसको भयावह आउनै लागेको आम विद्यार्थी र अभिभावकहरूले महसुस गरे । पुरा तयारीका साथ एस.इ.इ. दिन तम्तयार विद्यार्थीको परीक्षा स्थगित हुनाले विद्यार्थीहरूको बीचमा परीक्षा कहिले हुने हो ? हुने हो वा होइन ? भन्ने अन्यौलता र तनाव बढेको छ । जुन गतिमा विद्यार्थीको तयारी थियो, त्यही गतिमा उनीहरूको तयारी न्यून हुँदै गएको देखिन्छ । विद्यार्थीमा कोरोनाको त्रास फैलिएको छ । अध्ययन कार्यमा विद्यार्थीहरूको शिथिलता आएको सहजै अड्कल गर्न सकिन्छ ।
चैत्र महिनाभर हुने विद्यालय तहको पठनपाठन र परीक्षालाई चैत्र ५ गतेसम्म अनिवार्य सक्नु पर्ने भनी शिक्षा मन्त्रालयले निर्देशन दियो । सोही निर्देशनानुसार देशभर कक्षा ९ सम्मका परीक्षा चैत्र ५ गतेभित्र सम्पन्न पनि भए । अहिलेको समय भनेको परीक्षा सम्पन्न भएपछि नतिजा (रिजल्ट ) तयारीको समय हो । सधैका वर्ष जस्तै चैत्र अन्तिम हप्तामा विद्यालयहरूले विद्यार्थीहरूको नतिजा प्रकाशित गर्थे । सरकारले ०७७ बैशाख ३ गतेसम्म लकडाउनको समयलाई थप गरेसँगै स्वतस् विद्यालयहरूमा नतिजा तयारी र प्रकाशित गर्ने कार्य प्रभावित भएको छ । यसले गर्दा चैत्र अन्तिम हप्तामा नतिजा प्रकाशित गर्न नसक्ने अवस्था सिर्जना भएको छ । नतिजाको प्रतीक्षामा रहेका विद्यालय तहका लाखौं बालबालिकाको रिजल्ट नआउँदा अवश्य ती बालबालिकाहरूको मनोविज्ञानमा असर पर्न थालेको छ ।
हरेक वर्ष जस्तै बैशाख २ गते देखि हुने बिद्यार्थी भर्ना अभियान पनि यस वर्ष सोही समयमा नहुने पक्का भैसकेको छ । किनकि सरकारले बैशाख ३ गतेसम्म त लकडाउन कायमै गरेको छ । स्थितिमा थप जटिलता आए लकडाउन अझै लम्बिने करिबकरिब निश्चित नै बनेको छ । यसकारण पनि विद्यालय तहका बालबालिकाको नतिजा र भर्ना कार्यक्रम अन्यौलमा परेको छ । लगातार विद्यालय गई रमाइरहेका सानासाना बालबालिकालाई लामो समयसम्म विद्यालय बन्द हुँदा छट्पटी र तनाव उत्पन्न हुँदै छ । उता कक्षा ११ र १२ मा अध्ययनरत देशभरका बिद्यार्थीहरूको बैशाख दोस्रो र तेस्रो हप्तादेखि तोकिएको परीक्षा पनि स्थगित भैसकेको छ ।
एउटा गतिमा पढेर अगाडि बढिरहेका बिद्यार्थीहरूको पठनपाठन र परीक्षाको अन्यौलताले शैक्षिक उपलब्धिमा त असर पार्ने नै छ भने कोरोनाको भय र त्रासले उनीहरूको मनोविज्ञानमा समेत नकारात्मक प्रभाव पर्न सक्ने सम्भावनालाई नजरअन्दाज गर्न सकिदैन । विभिन्न विश्वविद्यालयहरूका पनि पठनपाठन र तोकिएका विभिन्न परीक्षा स्थगित गरिएको छ । त्यस्तै लोक सेवा आयोग र शिक्षा सेवा आयोगका परीक्षा तथा सिफारिस कार्यक्रम पनि स्थगित गरिएको छ । यसले पनि विश्वविद्यालय र आयोगका पढाइको तयारी गरिरहेका विद्यार्थीहरू पनि चिन्तामा परेका छन् भने विश्वविद्यालय तथा आयोगका पठनपाठन र परीक्षा कार्यक्रमको नियमित समय तालिका पनि बिग्रदै छ । यसको असर शिक्षा क्षेत्रमा पछिसम्म पर्न सक्ने छ ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न भन्दै देशभरका धेरै शैक्षिक संस्थाहरूलाई क्वारेन्टाइन बनाइएको छ । शैक्षिक संस्थाहरूमा क्वारेन्टाइन बनाउनु पर्ने सरकारको आफ्नै बाध्यता भए पनि क्वारेन्टाइन बनाइएका शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थीहरूमा भोलि ती कक्षा कोठामा पढ्ने बेला कोरोना भाइरसको सन्त्रास र भयले उनीहरूको मनोविज्ञानमा थप असर गर्न सक्ने छ । यसमा सरोकारवाला पक्षले ध्यान दिनु पर्ने कुरा के छ भने कुन कक्षा कोठामा के गरिएको थियो भन्ने जानकारी ती विद्यार्थीहरूलाई दिनु हुँदैन । क्वारेन्टाइन बनाइएका कक्षा कोठाहरूमा पूर्ण सरसफाइको व्यवस्था गरी कोरोना भाइरस मुक्त छन् भन्ने सन्देश प्रभाव गर्न पनि जरुरी हुने छ । हामीले पढ्ने कक्षा कोठामा कोरोना भाइरस लागेका सकांस्पद मान्छे राख्ने स्थान हो भन्ने बुझाइ ती शिक्षण संस्थामा अध्ययनरत विद्यार्थीहरूमा पर्न सक्छ । उनीहरूको मनमा त्यस्तो कुरा गडेर रह्यो भने उनीहरूको मनोविज्ञानमा दीर्घकालीन रूपमा गम्भीर असर पर्न सक्छ । सबैले यस कुरामा ध्यान दिनु अत्यावश्यक छ ।
कोरोना भाइरस (कोभिड १९) का विरुद्ध सारा विश्व नै लडिरहेको समयमा हामी नेपालीहरू पनि एकजुट भएर यसको दह्रो ढंगले सामना गर्नुको अरू विकल्प छैन । मनोबललाई उच्च राख्दै स्वास्थ्य सम्बन्धि विभिन्न निकायहरूबाट जारी भएका यसबाट बच्ने सबै उपायहरू अवलम्बन अनिवार्य गर्नुपर्ने छ । कोरोना भाइरसको कुनै औषधि अझैसम्म पत्ता नलागी सकेकोले यसको राम्रो औषधि भनेको सरकारद्वारा आह्वान गरिएको लकडाउनको पूर्ण पालना गर्दै घरमा वस्नु हो । लामो समयसम्म घरमा बस्दा आफ्ना बालबालिकाहरूले के सोचिरहेका छन् ?
भन्ने कुरामा आम अभिभावकहरूले ध्यान दिई उनीहरू समक्ष सकारात्मक सन्देश प्रवाह गर्नु पर्छ । उनीहरूलाई कोरोनाको कारण धेरै बिरामी भएको तथा मृत्यु भएको कुरा नसुनाउदा नै राम्रो हुन्छ । आफ्ना बालबालिकाहरूलाई रेडियो र टेलिभिजनबाट आउने शैक्षिक कार्यक्रम सुन्न र हेर्न प्रेरित गर्नुपर्छ । विद्यार्थीहरूका शैक्षिक समस्या भए उनीहरूका विषयगत शिक्षकलाई अभिभावकले फोनमा कुरा गराइदिए पनि केही समस्या समाधान हुन सक्छन् । यतिबेला बिद्यार्थीहरू आफ्ना अभिभावकसँग घरमा रहेको हुँदा यस्तो जटिल र संवेदनशील समयमा उनीहरूलाई उत्साह र हौसला प्रदान गर्दै कोरोना भाइरसबाट पर्न सक्ने नकारात्मक प्रभावलाई हटाएर अगाडि बढ्नु पर्दछ ।
- (लेखक : गौमुखी मावी ठूलावेसीका माध्यमिक तहका स्थायी शिक्षक हुन् ।)