बुटवल : कोरोना रोकथाम तथा नियन्त्रणमा भइरहेका प्रयासको बारेमा बुझ्न मुख्यमन्त्री शंकर पोखरेलले ६ वटा पालिका प्रमुखसंग एकीकृत भिडियो संवाद गरेका छन् । कोरोना रोकथाम तथा नियन्त्रणमा स्थानीय तहका प्रमुखसंग मुख्यमन्त्री गरेको यो चौथो भिडियो संवाद हो । सोमवार गरिएको भिडियो संवादमा गण्डकी प्रदेश, सुदुरपश्चिम प्रदेश र भारतसंग सीमा जोडिएका स्थानीय तहका प्रमुख सहभागी थिए ।
ठाकुरबाबा नगरपालिकाका प्रमुख घननारायण श्रेष्ठ, बर्दघाट नगरपालिकाका प्रमुख धिरज शर्मा बश्यालब, राजापुर नगरपालिकाका प्रमुख शिवप्रसाद चौधरी, मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटो, लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरी र वगनासकाली गाउँपालिकाका प्रमुख कृष्णप्रसाद वश्याल भिडियो संवादमा सहभागी भए ।
कोरोना रोकथाम र नियन्त्रणका लागि अहिले गरिरहेका काम र आगामी योजनाका बारेमा छलफल भयो । पालिका प्रमुखहरुबाट अहिलेसम्म गरेका कामबारे जानकारी लिएपछि मुख्यमन्त्रीले आगामी दिनमा गर्नुपर्ने कामबारे मार्गनिर्देश समेत गरे । पालिका प्रमुखले भारत लगायत विदेशबाट आएका नागरिकको तथ्याङ्क संकलन, क्वारेन्टाइन निर्माण र दैनिक ज्यालादारी गरी खाने नागरिकको तथ्याङक संकलन गरी राहत वितरण भइरहेको जानकारी मुख्यमन्त्रीलाई गराएका छन् । उनीहरुले स्वास्थ्य सामग्रीको व्यवस्थापन छिटो गर्न समेत मुख्यमन्त्रीलाई आग्रह गरे । स्थानीयस्तरमा राहत कोष बनाएर अघि बढ्न र दैनिक ज्यालादारी गरेर खाने विपन्न नागरिकलाई राहत प्रदान गर्न मुख्यमन्त्रीले सुझाएका छन् ।
प्रदेश सरकारले बुटवल, भैरहवा, बाँकेको खजुरा र दाङको बेलझुण्डीमा कोरोना आइसोलेसन अस्पताल निमार्ण गरेको र त्यहा आइसियु सहितको उपचारको व्यवस्था रहेको मुख्मयन्त्रीले पोखरेलले जानकारी गराए । भैरहवामा प्रयोगशाला सञ्चालनमा आएको केही समयमै नेपालगञ्ज र दाङमा पनि प्रयोगशाला सञ्चालनमा आउने भएकोले उच्च मनोबलका साथ कोरोना विरुद्धको अभियानमा लाग्न आग्रह गरे ।
सबै जिल्ला अस्पताल र चार वटा आइसोलेसन अस्पतालमा काठमाडौबाट प्राप्त स्वास्थ्य सामग्री पठाइएको बताउँदै पोखरेलले अब आउने स्वास्थ्य सामग्री क्रमशः अरु स्वास्थ्यकेन्द्रलाई पनि पठाउन सकिने बताएका छन् । कोरोना विरुद्धको अभियानलाई सफल बनाउन सबैको समन्वय र सहकार्यबाट संभव भएको बताउदै उनले केही समस्या परे तत्काल सम्पर्क गरी समाधानको पहल गर्न आग्रह समेत गरे । अरु प्रदेशबाट आउने नाकामा कडाई गरी अघि बढ्नुपर्ने उनको भनाई छ । अरु प्रदेशबाट आउने नाकालाई पूर्णतः बन्द गर्न ध्यान दिदा जोखिमबाट जोगिन सकिने भएकोले पालिका प्रमुखहरुलाई मुख्यमन्त्रीले ध्यानाकर्षण गराए ।