- राहत बाढ्दा काखापाखा गरे : पीडित
प्यूठान : मल्लरानी गाउँपालिका प्यूठानले कोरोनाको त्रासमा मजदुरी गर्न नपाएका विपन्न घरपरिवारलाई वितरण गरेको राहतमा विभेद गरेको पीडितहरुले गुनासो गरेका छन् । गाउँपालिकाको वडा नम्वर ३ स्थित चौरपानी (साविक ७,८,९) का दलित समुदायका स्थानीयले आक्रोश पोखेका छन् । जनप्रतिनिधीहरुले आफू निटकका व्यक्तिहरुलाई छानीछानी राहत वितरण गरेको उनीहरुको आरोप छ । राहत नपाएका असन्तुष्ट पीडितहरुले कार्यक्रम स्थलमै विरोध जनाएका छन् ।
‘श्रीमान विदेशमा हुनुहुन्छ । लक डाउन भएदेखि पैसा पठाउनुभएको छैन्’,स्थानीय गिता २४ वर्षिय परियारले भनिन्,‘भएको अन्नपात सकियो । किन्ने पैसा छैन्, गाउँपालिकाले पनि हेरेन् ।’ २ साना छोरा सहित खरको झुपडीमा बस्दै आएकी उनले चुहिने घर छाउन समेत सकेकी छैनन् । घर छाउन नसकेर ठूलो पानी पर्दा छिमेकीको घरमा सहारा लिन जानुपरेको उनले गुनासो गरिन् । गाउँपालिकाले खरको छानो हटाएर जस्तापाता सहयोग पाउने सूचिमा उनको नाम यसपाली राखेपनि राहत वितरणमा आफूलाई नपारेको उनको दुःखेसो छ ।
सोही गाउँकी पार्वती नेपालीको गुनासो पनि उनको जस्तै छ । नेपालीका श्रीमान पनि भारतमा मजदुरी गर्छन् । गाउँमा अरुको मेलापात गरेर उनले छोराछोरी पाल्दै आएकी छिन् । शनिवार राहत वितरणका लागि वडाका जनप्रतिनिधीहरु गाउँमा पुगे । आफूहरुले पनि गाउँपालिकाले दिने राहत पाउने आशामा गाउँका विपन्न परिवारहरु कार्यक्रममा पुगेका थिए । तर, राहत पाउनेको सूचिमा नपरेपछि उनीहरु निराश बने । केही क्षण आक्रोश त पोखे तर उनीहरुको पीडा सहितको आक्रोश कसैले सुनेनन् ।
गाउँका झण्डै २० जना विपन्न दलित घरपरिवारले राहत पाउने सूचिबाट आफूहरु बञ्चित भएको गुनासो गरेका छन् । ‘राहत पाएकाहरुको सूचि सही छ’,स्थानीय समाजसेवी झविन्द्रमणी पोखरेलले भने,‘तर त्यही वर्गका व्यक्तिहरु राहत पाउनबाट बञ्चित भएको देखियो । उनीहरुलाई पनि समेट्नुपर्दथ्यो ।’ वडा कार्यालयले चौरपानी क्षेत्रमा १२ जना घरपरिवारलाई राहत वितरण गरेको छ । ३ नम्वर वडाभरीमा ४० जनाले राहत पाएका छन् । उनीहरुलाई १ बोरा चामल, २ किलो दाल, १ किलो नुन, १ लिटर खानेतेल र एउटा सावुन दिइएको छ । राहत वितरण कार्यक्रम कोरोना भाइरस मैत्री नभएको पाइएको समेत पोखरेलले जानकारी दिए । भीडभाड गरेर राहत दिइएको उनको भनाई छ । तस्विर देखिए अनुसार राहत वितरण स्थलमा कसैले पनि मास्क लगाएका छैनन् ।
गाउँपालिकाले बनाएको मापदण्ड अनुसार अति विपन्न परिवारलाई राहत वितरण गरिएको वडा अध्यक्ष गिरिराज पौडेलले जानकारी गराए । ‘चौरपानीमा मात्र होइन, धेरै ठाउँ छुटेका छन्’,उनले भने,‘उनीहरुलाई कतैबाट सहयोग आएमा फेरी वितरण गर्छौ ।’ दैनिक ज्यालादारी गरेर जीवन गुजारेकाहरुलाई राहत दिइएको उनले बताए ।
भिडियोमा हेर्नुहोस पीडितको गुनासो :
भिडियो : कृष्णराज पाण्डे