- ‘विपत्तीको घडीमा समेत मन्त्रीहरु भ्रष्टाचारमा मुछिनु लज्जास्पद’
सन्दर्भ : कोरोना भाइरस
यतिबेला विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण सारा विश्व नै आक्रान्त र भयभीत बनिरहेको छ । विकसित र सम्पन्न भनिएका देशहरूलाई यस भाइरससँग लड्न निकै हम्मेहम्मे परेको छ । विश्वभर कोरोना भाइरसबाट ११ लाखभन्दा बढी संक्रमित भएका छन् भने ६० हजारभन्दा बढीको ज्यान गइसकेको छ । सम्पूर्ण मानव जातिलाई नै चुनौती दिने गरी फैलिएको कोरोना भाइरसका विरुद्ध पुरै विश्व युद्ध मैदानमा होमिएको छ । कोरोना भाइरसको उच्च जोखिममा नेपाल पनि रहेको कुरा यस अघि नै विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरी सकेको छ ।
कोरोना भाइरसको जोखिम बढ्दै जाँदा यसको रोकथाम तथा नियन्त्रणका लागि भन्दै नेपाल सरकारले सारा देश नै लकडाउन गरेको छ । लकडाउन गरेको पनि १३ दिन पार भैसकेको छ । दैनिक रूपमा मजदुरी गरी जीविकोपार्जन गर्ने व्यक्तिहरूलाई निकै समस्या हुन थालेको छ । कोरोनाका कारण आम नागरिकहरूमा मनोवैज्ञानिक रूपमा भय र त्रास पैदा भएको छ । अत्यावश्यक सेवा बाहेक सबै सेवा प्रदायक सरकारी एवं गैरसरकारी संस्थाहरू बन्द भएका छन् । विकास निर्माणका सारा काम ठप्प भएका छन् ।
राष्ट्रमा आर्थिक मन्दीको संकट आउने निश्चित भैसकेको छ । यस्तो अवस्थाको अन्त्य कहिले हुने हो भन्ने कुरा अनिश्चित बनेको छ । झण्डै २ महिना भन्दा बढी (७७दिन) समयको अन्तरालमा जम्मा एक हजार तीन सय ५० बढी व्यक्तिहरूको कोरोना भाइरस परीक्षण भएको छ । जसमध्ये ९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूको दावी छ । केही स्वास्थ्य क्षेत्रका विज्ञहरूले देशमा कोरोना भाइरस संक्रमितको संख्या धेरै हुन सक्ने, परीक्षण सामग्री अभाव र सीमित स्थानबाट त्यसको ल्याब टेस्ट हुने भएकाले यसको संख्या न्यून देखिएको हुन सक्ने बताएका छन् । देश नै पुरै संवेदनशील अवस्थामा छ । कोरोना भाइरस परीक्षण, रोकथाम र उपचारको लागि उपयुक्त (गुणस्तरीय) र प्राप्त स्वास्थ्य सामग्रीको अभावले स्वास्थ्य सेवा नै प्रभावित हुन थालेको छ । कोरोना संक्रमणको विरुद्धमा सरकारसँगै सबै नागरिक एक ढिक्का भएर उभिनु पर्ने अवस्था आएको छ ।
सरकारले सारा देशवासीहरूलाई लकडाउनको पूर्ण पालना गर्न र कोरोना भाइरस रोकथाम तथा नियन्त्रण अभियानमा साथ दिन अनुरोध गरेको छ । अधिकांश नागरिकहरूबाट लकडाउनको पालना पनि भएको छ । तर, कोरोना भाइरस संक्रमणको भय र त्रास त एकातिर छदै छ अर्कोतिर भ्रष्टाचार र अनियमितताको भय र त्रासले पनि आम नागरिकलाई चिन्तित तुल्याएको छ । राष्ट्रमा यस्तो गम्भीर संकट उत्पन्न भइरहेको बेला सरकारका उच्च पदस्थ मन्त्री लगायत आसपासका मान्छेहरू अत्यावश्यक स्वास्थ्य सामग्री खरिद प्रकरणमा मुछिनु र विवादित बन्ने कुराले देशको अन्तराराष्ट्रिय रूपमै बेइज्जत भएको छ । विकसित देशमा पैसाले सबै सम्भव हुन्छ भन्नेहरू पनि पैसाको कामै रहेनछ भन्दै पैसा सडकमा फ्याकिरहेका बेला नेपालमा भने आफूलाई अजमरी सम्झनेहरूले यस्तो संकटको समयलाई पनि अकुत सम्पत्ति थुपार्ने पर्व र महाउत्सव सम्झेका छन् ।
त्यस्ता व्यक्तिहरूले राज्य शक्तिको चरम दुरुपयोग गरेर स्थापित विधि, मूल्य र मान्यतालाई ठाडै चुनौती दिदै गलत मार्गबाट स्वास्थ्य सामग्री खरिद गर्ने र कमिसन हात पार्ने दाउँमा तल्लीन भएको सजिलै बुझ्न सकिन्छ । विधि र पद्धति मार्फत छिटोभन्दा छिटो सामग्री खरिद गरी स्वास्थ्य सेवालाई सबैको पहुँचमा पुराइ प्रभावकारी बनाउनुको सट्टा स्वास्थ्य सामग्री खरिद गर्ने इजाजत नै प्राप्त नभएका व्यक्ति वा संस्थालाई खरिद गर्ने अनुमति दिने अनि विरोध आएपछि सम्झौता रद्द गर्ने कुराले कोरोना भाइरसको संक्रमण भन्दा भ्रष्टाचार र अनियमितताको संक्रमण बढ्ता सक्रिय भएको आशंका पैदा भएको छ । एउटा निश्चित उद्देश्यमा आधारित संगठन नेपाली सेनालाई सामग्री खरिद गर्न दिने कुराले पनि सरकारको काम गर्ने शैली र क्षमतामाथि प्रश्न चिन्ह खडा भएको छ । नेपाली सेना जस्तो सम्मानित संगठनलाई विवादमा तान्ने चेष्टा पनि यो समयमा भएको छ । यो राम्रो संकेत कदापि होइन ।
देशमा कम्युनिस्ट नामको दुई तिहाइ बहुमतको सरकार हुँदै गर्दा मानवीय स्वास्थ्यमा गम्भीर संकट पैदा भएको यो क्षणमा भ्रष्टाचार, कमिसन र अनियमितता जस्ता संक्रमण देखिनु आफैमा गतिलो संकेत होइन । हुन त यो व्यवस्था नै पुँजीवादी व्यवस्था भएकोले पुँजीवादका सुतखोरहरू संकटको समयमा सल्बलाउनु तथा मौकामा चौका हान्न खोज्नु उनीहरूका लागि स्वभाविक हुन सक्छ । समय–समयमा पात्रहरू बदलिए पनि नेपाली राजनीतिको संरचनागत ढर्रा र मूल चरीत्र सारतःएउटै प्रकारको छ ।
यही कारणले पनि यस्ता समस्या आएको तथ्यलाई नकार्न मिल्दैन । राष्ट्रको नेतृत्व गर्ने एवं अनियमितता गर्नेहरूलाई नियमन एवं कार्वाही गर्ने हैसियतमा रहेका मन्त्री लगायत उच्च पदस्त व्यक्तिहरूका करोडौं बार्गे्निङका अडियो रेकर्ड तथा समाचार आउनुले देशमा सुशासन र पारदर्शिता खोज्नु आफैमा मुर्खता हुन पनि सक्ला । प्रधानमन्त्री एवं मन्त्री परिषद आसपास रहेका व्यक्तिहरूबाट त्यस्ता अनियमितता र भ्रष्टाचारको छुद्र ढंगले गोयबल्स शैलीमा बचाउ गर्ने कार्यले पनि देशमा अझै भ्रष्टाचार भाइरसको संक्रमण तीब्र बन्ने निश्चित छ ।
कोरोना भाइरस आम नागरिकको लागि ठूलो चुनौती बन्दै छ भने भ्रष्ट र माफियाहरूको लागि एउटा महान् पर्व बन्दै छ । कोरोनाको नाममा स्थानीय तहदेखि केन्द्रसम्म प्रचार प्रसार, सामाग्री खरिद, मास्क वितरण, मिटिङ, क्वारेन्टाइन र आइसोलेसन निर्माण लगायतका कार्यमा खर्च भएको भनी ठुलो पैमानामा कमिसन सहितका बिल भरपाई पेस हुनेछन् । यसमा आम सचेत नागरिकहरूले आ–आफ्नो स्थानबाट निगरानी बढाउन र खबरदारी गर्न जरुरी छ ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि स्थापित कोषमा जम्मा भएको पैसा सही ठाउँमा सदुपयोग र बचत भएन भने कोरोनाको भयावह अवस्था आयो भने आम नागरिक तथा राज्य नै पैसाको अभावमा छट्पटाउनु पर्ने छ । विकास निर्माणका नाममा विभिन्न तरिकाले खान पल्केकाहरू अहिले छट्पटाइ रहेका छन् । अब उनीहरू कोरोनाको नाममा अकुत सम्पत्ति थुपार्ने योजना बुनिरहेका छन् । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्नको लागि सबैभन्दा पहिले सबै जना मिली भ्रष्टाचार र अनियमितता भाइरसको संक्रमण रोक्नु अपरिहार्य बनेको छ ।
(लेखक : गौमुखी मावी ठूलावेसी प्यूठानका मावी तहका स्थायी शिक्षक हुन् ।)