प्यूठान : कोरोना भाइरसले विश्व त्रसित भइरहेका बेला प्यूठानका किसानहरु भने वाली भित्र्याउन व्यस्त छन् । प्यूठान उपत्यका लागाएत आसपासका फाँटहरुमा किसानहरुलाई गहुँ भित्र्याउन भ्याइनभ्याई छ । हिउँदे बाली गहुँ,जौ, मसुरो,चना,केराउ, लगाएतका बाली पाक्नेबेला भएसंगै किसानहरू खेतबारीमा देखिएका छन् । अहिले सरकारले आफ्नो घर परिवारले धेरै भिडभाड नभएर सुरक्षित रुपमा किसानहरूलाई खेतबारीमा काम गर्न सुझाएसंगै किसानहरु खेतबारीमा बाली स्याहार्न व्यस्त देखिन्छन् ।
यस वर्ष हिउँदे वर्षात समय समय परेकोले बालि राम्रो भएको किसानहरु बताउँछन् । ‘सरकारले धेरै मानिस जम्मा नहुने भनेपछि एक्ला एक्लै भएर गहुँ काट्न व्यस्त छन्’,प्यूठान नगरपालिका ९ का स्थानीय किसान टोप बहादुर केसीले भने,‘यसवर्ष फाट्टफुट्ट सिधुरे रोग देखिए पनि उत्पादन बढ्नेछ ।’ यो बेला अन्नबाली पाक्ने समय भएकोले खेतमा लगाइएको गहुँ,जौ, मसुरो, चना, केराउ लागाएत बाली पाकेर झर्ने अवस्थामा पुगिसकेकाले बाली भित्र्याउन चटारो भएको किसान नुम बहादुर केसीले सुनाए । उनी हिउँदमा भएको धेरै वर्षाले गहुँ बालीलाई असर गरेपनी उत्पादन बढ्ने आशामा छन् । यो बेला खेती भित्राउन नपाउने हो भने देशमा झनै भोकमरी ल्याउने उनी बताउँछन् ।
जिल्लामा ८ हजार ६५० हेक्टर क्षेत्रफलमा गहुँ खेती गरिन्छ । गतवर्ष २४ हजार ५४९ मेट्रिकटन गहुँ उत्पादन भएकोमा यस वर्ष बढ्ने कृषि ज्ञान केन्द्र दाङका कृषि अर्थ विज्ञ उमेश श्रेष्ठले जानकारी दिएका छन् । जिल्लामा भृकुटी, डब्लु.के. वार्से चार, गौतम, स्वर्गद्धारी लगाएत जातका गहुँ खेती गर्ने गरिन्छ ।