सन्दर्भ : कोरोना भाइरस
आफूले रोजेको पेशा वा व्यवसायमा सधैभरि एउटै (सजिलो) अवस्था हुन्छ भन्ने सोच्नु पेशाकर्मीको अदूरदर्शीता र बच्कनापन बाहेक अरू केही हुनै सक्दैन । हरेक पेशा र व्यवसायमा कुनै न कुनै प्रकारको ज्यान सम्बन्धी जोखिम कुनै पनि समयमा हुन सक्छ नै । एउटा सिपाही युद्धमा होमिएपछि मार्ने मात्रै होइन आफू मर्न पनि त सक्छ । मर्छु भनेर युद्धमा नजाने सिपाही त्यो कदापि सिपाही हुन सक्दैन ।
युद्धमा जानेवेला आफू सुरक्षित छु वा छैन, आफूसँग लडेर जित्नको लागि उपयुक्त र प्राप्त हतियार छ छैन भन्ने कुरा लड्ने वा लडाइँमा पठाउनेहरूले जान्ने कुरा हो । तर, आवश्यक र संकट परेको बेला सिपाहीले कि त आफूले रोजेको पेसा छोडेर हिंड्नुपर्छ नत्र लड्नुको विकल्प छैन र हुँदैन पनि ।
कोभिड १९ अर्थात् कोरोना भाइरसको कारण विश्व नै आक्रान्त बनेको समयमा नेपालमा भने केही डाक्टर (स्वास्थ्यकर्मीहरू) र निजी अस्पतालहरूले सामान्य ज्वरोसम्म आएका बिरामी चेक जाँच नगर्दा बिरामी मर्नु परेका दुस्खद समाचारहरू आएका छन् । डाक्टर(स्वास्थ्यकर्मी) र अस्पतालहरूको यो भन्दा न्युनतम पेसागत मर्यादा विपरीत कार्य के हुन सक्छ र ?
अरू समयमा निजी अस्पतालमा सामान्य विरामीलाई पनि हजारौंका औषधि भिराउने, भए नभएका कुराको चेक जाँचको नाममा लाखौं पैसा असुली गर्नेहरूले अहिले यस्तो गैरजिम्मेवारपूर्ण हर्कत र रवैया देखाउँदा उनीहरू केका लागि डाक्टर(स्वास्थ्यकर्मी) भएका हुन् ? ती अस्पतालहरू केका लागि खोलिएका हुन् ? भन्ने प्रश्नको जवाफ आम नागरिकले खोजी गर्नेवेला भएको छ ।
हालसम्मको परिणाम (नतिजा) लाई विश्लेषण गर्दा युरोपियन लगायत अन्य देशमा जस्तो कोरोना भाइरसको भयावह स्थिति अझै नेपालमा नभएको अवस्थामा त अस्पताल र डाक्टरहरूको जवाफदेहिता यस्तो देखिन्छ भने झन् महामारी र भयावहको अवस्था सिर्जना भयो भने ती डाक्टर(स्वास्थ्यकर्मी) र अस्पतालहरूले के गर्ने होलान् ? विषय गम्भीर छ । यस विषयमा उच्च तहबाट नै पूर्व तयारी एवं सचेतीकरणको आवश्यकता खड्किएको छ । ३यदि यो देशमा राज्य र सरकार छ भने यस्ता कार्य गर्ने जो कोही अस्पताल र डाक्टरहरू (स्वास्थ्यकर्मीहरू)लाई कार्वाहीको दायरामा ल्याउने कि नल्याउने ? सरकारले यस्ता कार्य गर्ने अस्पतालहरूको इजाजत खारेज कहिले गर्ने ? आम नागरिकको प्रश्न हो यो ।
अवश्य पनि डाक्टरहरू (स्वास्थ्यकर्मीहरू) लाई उपयुक्त र प्राप्त व्यक्तिगत सुरक्षा सामग्री(पिपिई) सरकारी भए सरकारले, निजी अस्पताल भए अस्पताल सञ्चालकले अनिवार्य उपलब्ध गराउनै पर्छ । सबै डाक्टरहरू(स्वास्थ्यकर्मीहरू) र अस्पताल गैरजिम्मेवार छन् भन्ने कदापि होइन। धेरै डाक्टरहरु जिम्मेवार पूर्वक कोरोना भाइरसका विरुद्ध आफ्नो ज्यान नै जोखिममा राखेर उच्च सेवा गर्नु भएको छ । उहाँहरूलाई उच्च सम्मान प्रकट गर्नै पर्छ । केही डाक्टर(स्वास्थ्यकर्मीहरू) र अस्पतालका कारण स्वास्थ्य क्षेत्रप्रति नकारात्मक सन्देश जान खोजेको छ । यो दुस्खद पक्ष हो । यसप्रति सरोकारवालाहरू बेलैमा सचेत र चनाखो बन्न जरुरी छ । त्यसकारण कोरोना भाइरस विरुद्धको युद्धमा डाक्टरहरू(स्वास्थ्यकर्मीहरू) यतिबेला कुशल सिपाही बनेर लड्नुको विकल्प बाहेक अरु उपाय हुनै सक्दैन ।
- (लेखक : गौमुखी माध्यमिक विद्यालय ठूलावेसीका शिक्षक हुन् ।)