ओखलढुंगा : सुनकोसी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष कोरोना भाइरसको महामारीका बेला गाउँपालिकामा छैनन्। गाउँपालिका अध्यक्ष रुद्र अधिकारी र उपाध्यक्ष दुर्गादेवी तामाङ सरकारले लकडाउन गर्नुभन्दा अघिल्लो दिन नै गाउँपालिको केन्द्र छाडेर हिँडेका थिए। अध्यक्ष अहिले काठमाडौंस्थित घरमा रहेका छन्। उपाध्यक्ष भने सम्पर्कमा छैनन्।
गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष नै गाउँमा नभएपछि कोरोना रोकथाम तथा नियन्त्रणका लागि कुनै नीतिगत निर्णय भएका छैनन्। गाउँको अभिभावक नै गाउँमा नभएपछि महामारीको त्रास झन् बढेको स्थानीयको गुनासो छ। अध्यक्ष अधिकारी लकडाउनमा परेँ भन्ने बहानामा काठमाडौँस्थित घरमा बसेका छन्। जनप्रतिनिधीको गैरजिम्मेवारी निन्दनीय रहेको सुनकोसी-४ का नवराज खड्काले बताए। उनले भने, 'गाउँपालिका प्रमुख संकटका बेला जनताले भेट्दैनन् भने किनकिन चाहियो सरकार?' उनले प्रश्न गरे।
उपाध्यक्ष तामाङ भने लकडाउन अवधिभर गाउँपालिकामा उपस्थित छैनन्। उनी सुनकोसी गाउँपालिका-२ स्थित घरमा रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार कार्कीले बताए। 'सबै घरतिर जान थाले, म पनि घरतिर जान्छु भनेपछि जानुस् त भनेर पठायौं' कार्कीले भने। गाउँपालिकाका स्वास्थ्य संयोजक गोपालबहादुर कार्कीले भने उपाध्यक्ष काठमाडौं वा घर कहाँ गएको भन्ने थाहा नभएको बताए।
जनतालाई सुख दु:खमा साथ दिन्छु भनेर चुनाव जितेका अध्यक्ष र उपाध्यक्ष नै यसरी गैह्रजिम्मेवार बनेर विपतका बेला गायब बनेपछि स्थानीय बासिन्दा आक्रोशित बनेका छन्। 'अध्यक्ष र उपाध्यक्ष दुबै जानीजानी कोरोनाको डरले भागेका हुन्' सुनकोसी गाउँपालिका-३ का एक अगुवा स्थानीयले नाम नबताउने शर्तमा भने 'उहाँहरु नै गाउँपालिकामा नहुने हो भने हामी कसरी बस्ने?'
सुनकोसी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष गाउँपालिकामा नभएपछि गाउँ कार्यपालिकाको बैठकसमेत बस्न सकेको छैन्। कोरोना सम्बन्धी महत्वपूर्ण निर्णय गर्नुपर्ने बेलामा अध्यक्ष र उपाध्यक्ष गायब बनेको गाउँ कार्यपालिका सदस्यहरुको आरोप छ। वडा नम्बर १ का वडा सदस्य सहदेव गिरीले अध्यक्ष र उपाध्यक्ष गाउँमा सम्पर्कमा नरहेको बताए। उनले भने 'कोरोनाको संक्रमण रोक्न वडाका तर्फबाट काम भइरहेका छन्, उहाँहरु कहा हुनुहुन्छ थाहा छैन।' गिरीले गाउँपालिकाले के गरिरहेको छ भन्ने थाहा नभएको बताए। एक वडा अध्यक्षले भने 'हेर्नु न अहिलेसम्म कोरोना सम्बन्धी गाउँपालिकाको एउटै बैठक बसेको छैन, अध्यक्ष र उपाध्यक्ष दुवै छैनन्, यस्तो बेलामा कसरी बैठक बस्नु?'
गाउँपालिकामा कर्मचारी मात्रै
अध्यक्ष र उपाध्यक्ष दुवै गाउँपालिकामा नभएपछि गाउँपालिकाको काम कर्मचारीहरुले धानिरहेका छन्। कोरोनाको सम्भावित संक्रमण हुन नदिन र रोकथाम तथा उपचारमा केन्द्रित हुने बेलामा गाउँपालिका अध्यक्ष र उपध्यक्ष गाउँपालिकामा नभए पनि कर्मचारीहरुले केही औषधि, माक्स, स्यानिटाइजर र स्वास्थ्यकर्मीले लगाउने पीपीई व्यवस्था गरेका छन्। गाउँपालिकाकामा भएका ५ वटा स्वास्थ्य संस्था र ७ वटा हेल्थ युनिटमा १ सय ५० वटाका दरले माक्स, ५०-६० वटाका दरले ग्लोब्स वितरण गरेका छन्।
पालिकामा स्वास्थ्यकर्मीले लगाउने पीपीआई अभाव छ। गाउँपालिकाभर ८ वटा वितरण गरेको र कम्तीमा ३२ वटा पीपीआई अभाव रहेको गाउँपालिकाका स्वास्थ्य संयोजक गोपालबहादुर कार्कीले बताए। गाउँपालिकामा ज्वरो नाप्ने थर्मल गन अभाव छ। 'हामीले गाउँकै भाइहरुलाई परिचालन गरेर केही औषधि र सामाग्री ल्याउन सफल भयौँ' प्रमुख प्रशासकीय अधिकृत कार्कीले भने। औषधिलगायतका अन्य वस्तुहरु खरिद गर्न गाउँपालिका अध्यक्ष र उपाध्यक्ष नहुँदा समस्या रहेको कार्कीको भनाइ छ।
गाउँपालिका अध्यक्ष र उपाध्यक्ष गाउँपालिकामा नभएपनि गाउँपालिकाका वडाध्यक्षहरु भने सक्रिय छन्। गाउँपालिकाको निर्णय नै नपर्खी वडाध्यक्षहरुले धमाधम क्वारेन्टाइन तयार गरिरहेका छन्। हालसम्म ५५ वटाको संख्यामा क्वारेन्टाइन निर्माण गरिएको छ। क्वारेन्टाइनमा आवश्यक उपकरण भने अभाव छ।
क्वारेन्टाइनमा मन्जन, ब्रस, साबुन, बाल्टी, डस्पिन, स्यानिटाइजर, औषधि केही पनि व्यवस्था नगरिएको स्वयं गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कार्की स्वीकार्छन्। गाउँपालिकाले अध्यक्ष र उपाध्यक्ष नहुँदा जिल्ला विपद् व्यवस्थापन समितिले निर्देशन गरेको सामाग्रीहरु समेत खरीद गर्न सकेको छैन्। गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुबै नहुँदा पनि गाउँ कार्यपालिका सञ्चालनका लागि कसैलाई जिम्मेवारी तोकिएको छैन्।
अध्यक्ष खोज्दै नेकपा
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुनकोसी गाउँपालिका कमिटीले अध्यक्ष र उपाध्यक्ष गाउँपालिकामा नरहेको विषयमा विज्ञप्तिमार्फत ध्यानाकर्षण गराएको छ। विपतका बेला गाउँपालिकाले जनताको सुरक्षामा काम गर्न नसकेको, अध्यक्ष र उपाध्यक्ष नै नहुनु आश्चर्यको विषय भएको जनाएको छ। गाउँपालिका कमिटीका सचिव नवराज खड्काले विज्ञप्ती जारी गर्दै 'गाउँपालिका अध्यक्ष र उपाध्यक्ष जहाँ जुन अवस्थामा रहेपनि जनतालाई दिन' व्यङ्ग्यत्मक शैलीमा अनुरोध गरेको छ। वडामा विना पूर्वाधार क्वारेन्टाइन निर्माण भइरहेको र खरिद गरिएका वस्तु प्रयाप्त नभएको दावी गरेको छ।
गाउँमा नबसेको विषयमा सुनकोसी गाउँपालिकाका अध्यक्ष अधिकारी काठमाडौंमै रहेको फोन सम्पर्कबाट पुष्टि गरे। उनले लकडाउन भन्दा अगाडि नै कामठाडौं गएको भए पनि बीचमा विरामी परेकाले नफर्किएको दावी गरे। उनले काठमाडौंमा रहँदा पनि आफूले गाउँपालिकाको काम गरिरहेको र औषधिलगायतका अत्यावश्यकीय वस्तुहरु वस्तुहरु व्यवस्थापन गरेको दावी गरे। उनले आफू अहिले निको भइसकेको र चाँडै ओखलढुंगा फर्कने समेत बताए। - अन्नपूर्णबाट ।