गुल्मी : कोरोनाको संक्रमणबाट बच्नका लागि गुल्मीमा ३१ जनालाई क्वारेन्टाइनमा राखिएको छ । विभिन्न मुलुकबाट गृह जिल्ला आएका उनीहरुलाई सुरक्षित रहनका लागि क्वारेन्टाइनमा राखिएको हो । गुल्मीभर विभिन्न स्थानीय तहमा गरी कुल ३ सय ८ वटा बेड क्षमताको क्वारेन्टाइन निर्माण गरिएको छ । गुल्मीका २ नगरपालिका र १० गाउँपालिकाले क्वारेन्टाइन निर्माण गरेको सम्वन्धित स्थानीय तहले जनाएका छन् ।
रुरुक्षेत्र गाउँपालिकामा २५ बेड क्षमताको, छत्रकोट गाउँपालिकामा ५, रेसुंगा नगरपालिकामा १६, सत्यवती गाउँपालिकामा ८, कालीगण्डकी गाउँपालिकाको बिभिन्न वडाहरुमा १ सय ६ बेडको क्वारेन्टाइन निर्माण गरेको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी लक्ष्मण पाण्डेयले बताए ।
चन्द्रकोट गाउँपालिकामा १६ बेड, मुसिकोट नगरपालिकाको ७६ बेड, इस्मा गउँपालिकामा १८, धुर्कोट गाउँपालिकामा १० बेड, मालिका गाउँपालिकामा २४ र मदाने गाउँपालिकामा ११ बेडको क्वारेन्टाइन निर्माण भएको छ । आवश्यकता अनुसार बेडको क्षमता बढाउँदै जाने पालिकाले जनाएका छन् ।
यसैबीच, जिल्लामा बिभिन्न स्थानबाट आएकालाई क्यारेन्टाइनमा राखिएको छ । बैदेशिक रोजगारीका शिलसिलामा बिभिन्न देशबाट आएका ३१ जनालाई क्वारेन्टाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए । इस्मा गाउँपालिकामा ११ जना, मालिका गाउँपालिकामा १० जना धुर्कोट गाउँपालिकामा १० जनालाई क्वारेन्टाइनमा राखिएको छ । उनीहरुलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखिने छ । सबै स्थानीय तहले जिल्ला बाहिरबाट आउनेहरुको तथ्यांक समेत संकलन गर्न थालेका छन् । कोरोना संक्रमण फैलिन नदिनका लागि सवै स्थानीय तहले हेल्प डेक्स संचालन गरेका छन् ।