दाङ : राप्ती गाउँपालिका मसुरिया दाङले गाउँबासीलाई सुरक्षित रुपमा बस्न सार्वजनिक सूचना जारी गरेको छ । गाउँपालिकाले कोरोना फलिएको नभई फैलिन नदिन प्रयास र पूर्व तयारी राज्यले गरिरहेको स्पष्ट पारेको छ । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले सार्वजनिक सूचना जारी गरी गाउँबासीलाई इमान्दारीसाथ कार्यन्वयन गर्न आग्रह गरे ।
यस्तो छ सन्देश :
कोरोना भाइरसका कारण हुने संक्रमणबाट विश्व नै समस्यामा परेको बेला हामी पनि जोखिममा छौँ । लकडाउन, सार्बजनिक बिदा र नेपाल बन्द फरक फरक कुरा भएको र हाल लागु भएको कुरा कोरोनाको संक्रमण बाट जोगिन ‘लक डाउन’ भएकाले निम्न कुरामा साबधानी र सचेतना अपनाउनुहुन सबैमा अनुरोध गर्दछौँ ।
------------------------------
(१) भिडभाड कुनै पनि स्थान,समय र हालतमा नगर्ने, कसैले तेसो गरेको देखेमा आफै पनि भन्नुहोला, वडामा भन्नुहोला, प्रहरीलाई जानकारी गराउनुहोला वा हामीलाई जानकारी गराउनुहोला है, (खास गरि राजमार्गको भित्रि वस्तीहरुमा समुहको वैठक बस्ने, जुवा तास खेल्ने, क्यारमबोर्ड खेल्ने, चर्चमा जम्मा हुने जस्ता कार्य भएको गुनासो आएको छ ।)
(२) विदेशवाट आएका सदस्यहरुसंग नजिकै बसेर गफगाफ, मोजमस्ति र दारुपानी गर्दै नगर्ने ।
(३) विदेशवाट आएपछी पहिलो काम वडाध्यक्ष वा वडा सदस्यलाई म यो देशवाट यसरी आइपुगे भनेर जानकारि गराउने, लुकेर नबस्ने ।
(४) मदिरासेवन, धुम्रपान, राम्रोसँग नपाकेको मासु नखाने, दाल, भात, तरकारी, रोटी, दुध , मकैको आटो, फापरको रोटि, कोदोको रोटि आदि खाने ।
(५) घरमा सकेसम्म छुट्टै कोठामा बस्ने, सम्भव नभए अली अछट्टै बस्ने ।
(६) नियमित साबुन पानीले हात धुने ।
(७) घरको कुनै सदस्यलाई एक्कासी कडा ज्वरो, लगातार खोकी लागेमा नजिकैको स्वास्थ्य संस्थामा पठाउने ।
(८) कसै कसैले गाडि वन्द हो, मोटरसाइकल वा साइकल चलाउन हुन्छ भनि चलाएको देखिन्छ जुन गलत हो, आवत जावत कम गर्ने कुरा हो, साधनको विषय होइन ।
(९) लामो समयसम्म बन्द हुँदा दैनिक गुजारा गर्न गाह्रो हुन थालेको परिवारको एकिन वडा समितिले गर्ने, तत्कालको लागि के गर्न सकिन्छ ? वडा स्तरिय पहल गर्ने, नभएमा गाउँपालिकासँग समन्वय गर्ने ।
(१०) कुनै जरुरी सिफारिस, पास, आदि चाहिएमा वडाध्यक्ष वा गाउँपालिकाको अध्यक्ष वा प्रमुख प्रशासकीय अधिकृतलाई सम्पर्क गर्नुहोला, हामीले गरेर हुने सहयोगका लागि हामी जतिबेला पनि तयारी अवस्थामा छौँ ।
(११) नआत्तिनुहोस् हामी पनि तपाइको साथमा छौ । हामिले १९ दिने हड्ताल, लामा लामा वन्द, नाका वन्दिको सामना गरेका छौ । कोरोना फलिएको होइन, फैलिन नदिने प्रयास र पूर्व तयारी हो राज्यको ।
(१२) समस्या नै परेमा हामीले क्वारेन्टाइन, आइसोलेसन कक्ष पनि तयार पारेका छौँ । अहिले जति सक्दो आ–आफनो घरमा सुरक्षित बस्नु नै उत्तम उपाय हो ।
(१३) घरले हामीलाई घामपानी, हुरी वतासवाट जोगाए जस्तै कोरोना भाइरसबाट पनि जोगाउँछ, घर भित्रै बस्यौ भने..!