प्यूठान : प्यूठानका नौ वटै स्थानीय तहले कोरोनाको संक्रमण हुन नदिनका लागि क्वारेन्टाइन निर्माण गरेका छन् । अघिल्लो साता जिल्ला विपद् व्यवस्थापन समितिको वैठकले प्यूठानका सवै तहमा क्वारेनटाईन निर्माण गर्ने निर्णय अनुसार काम अघि बढेको हो । सोमबारदेखि थालिएको क्वारेन्टाईन विहिवारसम्म सवैले तयार पारेका छन् । कोरोना संक्रमण अन्य मानिसमा नफैलियोस् भन्नका लागि संक्रमणको सुनिश्चित हुने अवधिभर (१४) दिन छुट्टै स्थानमा सुरक्षित राख्नका लागि क्वारेन्टाईन सञ्चालमा ल्याइएको जनप्रतिनिधीहरुले बताएका छन् ।
प्यूठान नगरपालिकाले कालिका विकास केन्द्रको सभाहलमा १० बेडको सञ्चालनमा ल्याएको छ । नगरपालिकाले नगरका १० वटै वडामा क्वारेन्टाईन सञ्चालन गर्ने तयारीमा रहेको नगरप्रमुख अर्जुनकुमार कक्षपतिले बताए । त्यस्तै स्वर्गद्धारी नगरपालिका भिंगृले प्राथमिक स्वास्थ्य केन्द्र भिंगृमा ३ बेडको क्वारेन्टाईन सञ्चालन गरेको छ । नगरपालिकाले नगरका सबै वडाका विद्यालयमा पनि क्वारेन्टाईन तयार गर्ने नगरप्रमुख नेत्रबहादुर रोका क्षेत्रीले बताए ।
ऐरावती गाउँपालिका बरौलाले मोति माध्यामिक विद्यालयमा चार बेडको मंगलबारदेखी सञ्चालनमा ल्याएको गाउँपालिका उपाध्यक्ष बुद्धबहादुर बस्नेतले जानकारी गराए । माण्डवी गाउँपालिकाले जस्पुर विद्यालयमा १० बेडको क्वारेन्टाइन मंगलबारदेखी नै सञ्चालन गरेको स्वास्थ्य शाखा प्रमुख धुव्रकुमार पोख्रेलले बताए ।
झिमरुक गाउँपालिकाले बाल शिक्षा माध्यामिक विद्यालयमा पाँच बेडको क्वारेन्टाईन सञ्चालनमा ल्याएको गाउँपालिकाको स्वास्थ्य संयोजक बिकास केसीले बताए । मल्लरानी गाउँपालिकाले मंगलबार साविक महिला तथा बालबालिका कार्यालयमा सात बेडको क्वारेन्टाईन सञ्चालनमा ल्याएको छ ।
सरुमारानी गाउँपालिकाले रानीकुवामा १० बेडको क्वारेन्टाईन निर्माणका लागि तयारी भएको स्वास्थ्य संयोजक टेकेन्द्र रायमाझीले बताएका छन् । गौमुखी गाउँपालिकाले पनि लोकतान्त्रिक प्रावि रातामाटामा क्वारेन्टाईन निर्माणको तयारी गरेको गाउँपालिका अध्यक्ष विष्णु कुमार गिरीले बताए ।
प्युठान नगरपालिका वडा नं ७ ले स्वर्गद्धारी क्याम्पस पुण्यखोलामा १० बेडको क्वारेन्टाईन सञ्चालन गरेको छ । यससंगै प्युठानका नौ वटै स्थानिय तहले वडास्तरमा पनि क्वारेन्टाईन सञ्चालनमा ल्याउने तयारी भईरहेको छ ।
गृह मन्त्रालयबाट प्राप्त भएको टेन्टहरु प्रयोग गरी प्युठान नगरपालिकाको गणतान्त्रिक खेलकुद मैदान बिजुवारमा क्वारेन्टाइन स्थल तयार गरिएको छ । कोभिड १९ का सम्भावित बिरामीलाई लक्षित गरी ५० बेडको क्वारेन्टाइन निर्माण गरिएको हो । बिहिवार ईन्द्रध्वज गण खलंगा र प्यूठान नगरपालिकाले प्युठान नगरपालिका ४ खेलकुद मैदानमा क्वारेन्टाइन स्थल निर्माण गरिएको प्यूठान नगरपालिकाका प्रमुख अर्जुनकुमार कक्षपतिले जानकारी दिएका छन् ।
खेलकुद मैदानमा क्वारेन्टाइनलाई आवश्यक पर्ने खानेपानी, शौचालय लगायत अन्य आवश्यक भौतिक पूर्वाधारको काम भइरहेको प्रमुख कक्षपतिले बताए । हेल्थ क्याम्प सहितको क्वारेन्टाइनस्थल निर्माण भएको ईन्द्रध्वज गण खलंगाले जनाएको छ ।
गाउँ आएकाहरुको लगत संकलन
प्यूठानका नौ वटै स्थानिय तहले देश बाहिरबाट गाउँ आएका व्यक्तिहरुको लगत संकलन गरिरहेका छन् । वडा कार्यालय मार्फत लगत संकलनको कार्य गरिएको छ । प्यूठान नगरपालिका वडा नं ९ र १० ले विदेशबाट आएका मानिसहरूको खोजीकार्य थालेको छ । विदेशबाट मानिसहरू दैनिकरुपमा आउन थालेपछि लगत संकलन गर्न लागिएको वडा नम्बर ९ का अध्यक्ष नेहरसिंह केसीले जानकारी दिए । विदेशबाट फर्केकाहरूमा कोरोना भाइरस संक्रमण हुन सक्ने त्राश बढेपछि उनीहरूको लगत संकलन गरी व्यवस्थापन गर्न थालिएको केसीको भनाई छ । अहिलेसम्म वैदेशिक रोजगारीबाट आएका मध्ये ३५ जनाको लगत तयार गरिएको स्वास्थ्य चौकी प्रमुख रन्जना केसीले बताईन् ।
स्थानिय तहले कतार, दुबई र भारतलगाएतका देशबाट फर्केका व्यक्तिहरुलाई घरमै क्वारेन्टाईनमा बस्न अनुरोध गरिएको छ । विदेशबाट फर्किएकाहरू १४ दिन अनिवार्य रूपमा क्वारेन्टाईनमा बस्नुपर्ने भनिएको छ । प्रत्येक वडा टोलमा स्वास्थ्यकर्मी सहितको टोलीले विदेशबाट फर्किएका ब्यक्तिहरूलाई भेटेर उनीहरूको अवस्थाबारे जानकारी दिने र आ–आफ्नो घरमा अरुसँग सम्पर्क नहुने गरी बस्न भनिएको छ ।