सारी (प्यूठान) : प्राकृतिक रुपमा आफैँ सजिएर बसेको स्वर्गद्धारी नगरपालिका ५ स्थित सारीको भू–बनोटलाई अझ आकर्षित बनाइने भएको छ । स्वर्गद्धारी नगरपालिकाले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी यसलाई व्यवस्थित बनाउने भएको हो । वर्षौदेखि माटाबाट बनेका विभिन्न आकृतिहरुलाई जोगाइ राख्नका लागि नगरपालिकाले पहल थालेको छ । नगरपालिकाले यसको संरक्षणमा चासो देखाएपछि यस क्षेत्रका स्थानीय समेत उत्साहित भएका छन् ।
संरक्षणमा ख्याल नगरे आकृतीहरु मेटिएर जानसक्ने स्थानीयको चिन्ता थियो । ‘नगरपालिकाले भूबनोटको डिपिआर गरेर काम गर्न थालेकाले खुसी छौ’,स्थानीय लिलामणी रेग्मीले भने,‘भू बनोट सिंगो नगरपालिकाकै गर्वलायक क्षेत्र हो ।’ उनले भू बनोटलाई स्थानीयको आय आर्जनसँग जोडेर क्रियाकलापहरु अघि बढ्नुपर्ने सुझाव दिए ।
नगरपालिकाले चालु आर्थिक वर्षमा ५ लाख रुपैयाँ र डिभिजन वन कार्यालय प्यूठानले २ लाख गरी कुल ७ लाख रुपैयाँमा काम भइरहेको वडा अध्यक्ष हिरामणी भण्डारीले जानकारी गराए । ६ विगाह क्षेत्रफल जग्गामा फैलिएको भू बनोटको पुरै जग्गा सार्वजनिक हो । यस क्षेत्रमा पिकनिक स्थल, शौचालय निर्माण, पार्किङ, खानेपानी, प्रतिक्षालय, पार्क निर्माण गरिने भण्डारीले बताए । डिभिजन वन कार्यालय मार्फत विनियोजित बजेटबाट काठका कूर्सीहरु निर्माण गर्ने योजना रहेको उनको भनाई छ । नगरपालिकाबाट विनियोजित बजेटले यसवर्ष घेरावार गर्ने काम भइरहेको भण्डारीको भनाई छ ।
डिपिआर अनुसार पुरै भू–बनोट क्षेत्रमा काम गर्नका लागि ३ करोड ६१ लाख रुपैयाँ बजेट स्टिमिट भएको नगर उपप्रमुख गोमा रेग्मीले जानकारी गराइन् । राष्ट्रिय योजना आयोगमा योजना माग गरेको उनले जानकारी गराइन् । प्रदेश ५ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा समेत बजेट माग गरिएको उनले बताईन् । नगरपालिकाको बजेटले मात्र सोचिएको लक्ष्य पुरा गर्न नसकिने बताउँदै उनले संघ र प्रदेश सरकारको सहयोग आवश्यक रहेको बताइन् । नगरपालिकाले हाल सजिएर बसेका आकृतिहरुको बनोट नबिग्रने गरी थप संरचना निर्माण गर्ने भएको छ । हाल बनोट क्षेत्रमा मन्दिर, मूर्ति, स्तुभ, सुरुङ, गुफा, विभिन्न भवनका आकृति, देवता, गाइका थन, गजुर लगाएतका आकृति छन् ।
भू–बनोट नजिकै निर्माणधिन अवस्थामा रहेको बहुउद्देश्यिय सभाहलले समेत यस क्षेत्रमा आउने पर्यटकलाई थप आकर्षित बनाउने स्थानीयबासीको आशा छ । सघन शहरी विकास डिभिजन कार्यालय मार्फत ४ करोड २६ लाख लागतमा बहुउद्देश्यिय सभाहल निर्माण भइरहेको छ ।
पहिलोपटक पुग्नेहरुलाइ भू–बनोटले लोभ्याउने गरेको छ । दृश्वालोकनले नै पर्यटकहरुको मन तान्ने गरेको छ । पवित्र धार्मिक एवं पर्यटकीय तिर्थस्थल स्वर्गद्धारी दर्शन गर्न पुग्ने पर्यटकलाइ यस स्थानमा लैजान सकिन्छ । नयाँ पर्यटकीय गन्तव्यको रुपमा यसलाइ विकास गर्न सकिने बोलियो संभावना छ । स्वर्गद्धारीमा दिनहुँ सयौँ भक्तजनहरु दर्शनका लागि पुग्ने गर्दछन् । ती भक्तजनहरुलाइ भू–बनोटको बारेमा जानकारी गराउनसके प्रवद्र्धनमा टेवा पुग्न सक्दछ । स्थानीयको आय आर्जनमा समेत यसले मद्दत पु¥याउन सक्ने संभावना छ । स्थानीयका अनुसार भू–बनोटदेखि माथी रहेको साउनेपानीमा स्वर्गद्धारीका प्रभुमहाराज बसेको इतिहास छ । पानीको अभाव भएपछि महाप्रभु स्वर्गद्धारीमा गएको इतिहास स्थानीय बुढापाकाहरु सुनाउछन् ।
भिंगृ बजारदेखि पाँच किलोमिटर यात्रा पारगरेपछि भिंगृकै बाटुले भन्ने स्थानमा पुगिन्छ । त्यहाँबाट अलिकती ओरालो झरेपछि झोलुंगे पुल तर्दै मोटरसाइकलमा यस ठाउँमा पुग्न सकिन्छ । गाडीमा यात्रा गर्नेहरु भिंगृबजारदेखि नजिकै रहेको माडीखोलाको बेलिव्रिजहुँदै पुग्न सक्छन् । बजारदेखि करिव तीन किलोमिटर यात्रा पारगरेपछि भू–बनोटमा पुग्न सकिन्छ । सालघारी–बेलवास–सारी–डाँडागाँउ हुँदै रोल्पा जोड्ने फराकिलो सडकले समेत यसलाइ छोएको छ ।