प्रदेश ५ सरकारले एक स्थानीय तह, एक खेलकुद मैदानका लागि सवै स्थानीय तहमा बजेट पठायो । प्यूठानका नौ वटै स्थानीय तहले मैदान निर्माणका लागि गत आर्थिक वर्ष २०७५÷०७६ मा बजेट खर्च गरे । कतिपय स्थानीय तहले असार सकिनै लाग्दा हतार हतारमा बजेट सिध्याए । आलटाल गरी खेलकुद मैदान बनाए । धेरैजसो स्थानीय तहले बनाएका खेल मैदानहरु मापदण्ड अनुसार छैनन् । हतार हतारमा डोजर लगाएर डाँडालाइ समतल बनाएका छन् ।
झिमरुक गाउँपालिकाले विवादकै बीच वडा नम्वर ५ स्थित ओखरकोट नेपानेस्थित बलीखोरिय सामुदायिक वनको डाँडोलाइ सम्मायो । वनमा भएका बर पिपल सहित थुप्रै चिलाउनेका रुखहरु मासिए । गाउँपालिकाकै वडा नम्वर ८ स्थित लिवाङ टिमुरचौरको दहीहाल्नामा वर्षौदेखि निर्माण गरिएको खेलकुद मैदानलाइ स्तरोन्नती गर्न स्थानीयले माग गरेका थिए । तर, गाउँपालिका अध्यक्ष सहित जनप्रतिनिधीले स्थानीयको मागलाइ वेवास्ता गरेको आरोप उनीहरुमाथी छ । विवादकै बीचमा नेपानैमा खेलकुद मैदानका लागि प्रदेशले पठाएको बजेट गाउँपालिकाले उक्त क्षेत्रमा खर्च गर्ने निर्णय ग¥यो । खेल मैदानका लागि ५० लाख रुपैयाँ खर्च भएको छ ।
खेलकुद मैदान बनाएपनि नेपानेकै स्थानीय असन्तुष्टि छन् । ‘सामुदायिक वन मासेर खेलमैदान बनाइएको छ’,ओखरकोटका स्थानीय दल बहादुर जिसीले भने,‘तर, निर्माणमा घोटाला भएको पाइएको छ । छानवीन हुनुपर्छ ।’ निर्माणको अनुगमन संयोजक आफैँ रहेको संयोजक बताउँदै उनले योजनाको अनुगमनका विषयमा आफूलाइ उपभोक्ता समितिले वेवास्ता गरेको बताए । उनका अनुसार उक्त मैदान निर्माणमा गाउँपालिका उपाध्यक्षकै डोजर प्रयोग गरिएको छ ।
एउटै गाउँपालिकामा दुइवटा खेलकुद मैदान आवश्यक नरहेको ८ नम्वर वडा अध्यक्ष तुलस बस्नेतले प्रतिक्रिया दिएका छन् । ‘दहीहाल्नालाइ लालीगुराँस रंगशालाको रुपमा अघि बढाएका छौँ’,उनले भने,‘नेपानेमा गरिएको खर्च दहीहाल्नामा गरेको भए निर्माण कार्य पुरा हुने थियो । राज्यलाइ दोहोरो भार पर्ने थिएन । राजनीतिक होडवाजीले व्यर्थ खर्च भयो ।’ ओखरकोट गाउँ नेकपा मसालका महामन्त्री मोहनविक्रम सिँहको जन्मथलो भएकाले गाउँपालिकाका धेरैजसो ठूला योजना त्यस गाउँमा लैजान जनप्रतिनिधीको धेरै चासो हुने गरेको स्थानीयले आरोप लगाएका छन् ।
ऐरावती ५ झिवाङ खोलामा गाउँपालिकाले प्रदेश सरकारको बजेटमा खेलकुद मैदानको निर्माण कार्य थालेको छ । प्रदेशको ५० लाख र गाउँपालिकाको १८ लाख रुपैयाँ खर्चेर बनाएको खेलमैदान मापदण्ड अनुसार नभएको गाउँबासी एवं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष श्याम थापाले टिप्पणी गरे । ‘पर्खाल उठाएर मैदान बनाउन खोजिएको छ’,उनले भने,‘यस्तो संरचना दिगो हुँदैन ।’ उक्त मैदानलाइ पूर्णता दिनभन्दै गाउँपालिकाले चालु आर्थिक वर्षमा समेत ४० लाख रुपैयाँ थप बजेट विनियोजन गरेको छ ।
जिल्लाका स्थानीय तहमा खेलकुदको संभावना केलाएर मात्र भौतिक संरचनामा लगानी गुर्नपर्ने थापाले धारणा राखे । जिल्लाका अधिकांश भूगोलमा भलिवल खेलको संभावना राम्रो रहेको उनको भनाइ छ । स्थानीय तहले खेलकुदसँग सम्वन्धित सरोकारवालाहरुसँग परामर्श गरेर राज्यको लगानी विस्तार गर्नुपर्ने उनले सुझाए । स्वर्गद्धारीको गोठिवाङ, माण्डवीको मार्सिवाङ, प्यूठान नगरपालिकाको विजुवार खेलकुद मैदान मापदण्ड अनुसार निर्माणधीन अवस्थामा रहेको उनले बताए । सदरमुकाम खलंगामा रहेको वर्षौ पुरानो टुडिखेलमा वर्षका चाडपर्वमा फाट्टफुट्ट क्रिकेट, भलिवल संचालन भएपनि अन्यबेला सुनसान हुने गर्छ । मल्लरानी गाउँपालिकाले रस्पुरकोटको चौरपानीमा प्रदेशको बजेट खर्च गरेको छ ।
खेलकुद क्षेत्रमा यूवापुस्ताहरुको आकर्षण दिनानुदिन खस्किदै गएकाले खेलकुद मैदानले मात्र खेलक्षेत्रको विकास असम्भव रहेको जिल्लाका खेलप्रेमी बताउँछन् । खेलक्षेत्रको विकासमा स्थानीय सरकारले देखाएको उदासिनताप्रति लामो समयदेखि खेलक्षेत्रमा क्रियाशिल झिमरुक गाउँपालिका–५ आहालखोलाका गोपाल जिसीले चिन्ता व्यक्त गरे ।
‘खेलाडीको संरक्षणमा स्थानीय सरकारले चासो देखाएका छैनन्’,उनले भने,‘पूर्वाधार बनाएर मात्र खेलकुदको विकास हुँदैन ।’ विद्यालय स्तरमा खेलिने खेलकुदले जिल्लाको खेलक्षेत्र धानिएको उनको भनाइ छ । ‘खेलकुदमा यूवाको चासो देखिएन’,उनी भन्छन्,‘तीन तहकै सरकारले यस विषयमा चासो दिनुपर्छ ।’ जिल्लाका नौ स्थानीय तहमा खेलकुद मैदान निर्माणमा प्रदेश सरकार अन्तर्गत करोडौँ बजेट खर्च भएको छ ।