धनवाङ (प्यूठान) : लोपन्मुख पैसारु नाँच संरक्षणमा स्वर्गद्धारी नगरपालिका २ धनवाङका नयाँ पुस्ता लागेका छन् । वर्षौदेखि आफ्ना पुर्खाहरुले देखाउँदै आएको पैसारु नाँच संरक्षणमा पछिल्ला यूवाहरुले चासो देखाएका हुन् । गाउँमा संचालन भएको होमस्टेमा आउने पाहुँनाहरुलाई यिनीहरुले पैसारु देखाएर स्वागत गर्ने गर्छन् । होमस्टेका पाहुँनाहरुका लागि पैसारु नाँच नै प्रमुख आकर्षण बनेको छ । नयाँ पुस्ताहरुमा यस नाँच हस्तान्तरण भएपछि यसको संरक्षण हुने भएको छ ।
.JPG)
‘पुस्तौ अघिदेखि पैसारु नाँच देखाउने गरेको सुनिन्छ’,स्थानीय १८ वर्षिय लक्ष्मी पुनले भनिन्,‘सवै यूवाहरु मिलेर नाँच्ने गर्छौ । सवैले मन पराउनुभएको छ ।’ उनी सहित गाउँका २० जनाले पैसारु देखाउने गर्छन् । यसमध्ये बहुसंख्यक यूवायूवती छन् । यस नाँचमा मादल, डमरु, बासरी, झ्याली लगाएतका बाद्यबाधनहरु प्रयोग गरिन्छ ।
स्थानीय ६० वर्षिय निम बहादुर पुनका अनुसार पैसारु नाँचले किसानहरुलाई प्रेरणा दिने गरेको छ । यो कम्तीमा २० जनाको समूह बनाएर नाँच्ने गरिन्छ । नाँच्दा देखाएको हाउभाउले खेतमा धान रोप्ने, काट्ने र धान मनेको जस्तो गरिन्छ । ‘पुर्खाहरु यसैगरी नाँचेको भन्ने जानकारी छ’,उनी भन्छन्,‘अध्ययन गर्दा धानखेतीका बारेमा पैसारु नाँचको सन्देश पाइयो ।’ विभिन्न २२ तालको नाँच भएपनि हाल चार थरीको मात्र देखाउने गरिएको उनको भनाइ छ । गाउँका छोरानातीहरुलाई नाँच जोगाउनका लागि हौसला दिने गरेको उनले बताए । स्थानीयले झण्डै एक घण्टाजति पैसारु नाँच देखाउने गर्छन् । पुनका अनुसार जिल्लामै धनवाङमा मात्र यस नाँच देखाउने गरिएको छ ।
.JPG)
मगर समुदायले लगाउने पोशाकमा उनीहरु नाँच्ने गर्दछन् । धनवाङ मगर समुदायको बाहुल्यता भएको गाउँ हो । ०७१ सालदेखि यहाँ सामुदायिक मगर होमस्टे दर्ता गरी संचालन गरिएको छ । होमस्टेमा आउने पाहुँनाहरुलाई पैसारु नाँच देखाएर प्रमुख स्रोत बनाउने गरिएको छ । २० जना बढीको समूहमा नाँच देखाएमा तीन हजार र त्यसभन्दा तलको संख्यामा नाँच देखाएमा दुई हजार रुपैयाँ शुल्क लिने गरिएको होमस्टे व्यवस्थापन समितिका उपाध्यक्ष समेत रहेका पुनले जानकारी गराए । उनका अनुसार जिल्लामा हुने मेला महोत्सवमा समेत पैसारु देखाउन लगिने गरिएको छ । होमस्टेमा आउने पाहुँनाहरुलाई पैसारु नाँचले आन्नदित बनाउने गरेको छ । स्थानीय परिकारसँगै कलासंस्कृतिले पाहुँनालाई लोभाएको छ । ०६९ सालदेखि स्थानीयले पैसारु नाँचलाई व्यवसायीक रुपमा प्रदर्शन गर्न थालेका हुन् ।
.JPG)
प्यूठानकै पहिलो होमस्टेलाई नमुना बनाउने गरी योजना अघि सारिएको स्वर्गद्धारी नगरपालिका प्रमुख नेत्र बहादुर रोका क्षेत्रीले बताएका छन् । कलासंस्कृतिको जगेर्ना र स्थानीय खाना परिकारलाई संरक्षण गर्ने स्थानीय सरकारको दायित्व अनुसार कार्ययोजना अघि सारिएको उनको भनाई छ । ०७१ सालमा धनवाङ नेपालकै पहिलो पूर्ण सरसफाईयूक्त गाउँ भएकाले पर्यटकहरुको आकर्षण अझ बढिरहेको उनको भनाई छ । स्वर्गद्धारी दर्शन गर्न पुग्ने पर्यटकहरुलाई होमस्टेमा बसाल्न लैजाने योजना बनाएको समेत उनले सुनाए । स्वर्गद्धारीको धरमपानी बजारबाट ८ किलोमिटर दुरीको यात्रापछि होमस्टेमा पुग्न सकिन्छ । होमस्टेमा कला संस्कृतिसँगै स्थानीय रुपमा लोकल कुखुराको मासु, मकैको आटो, सिस्नो, टिमुर, कोदोको ढिडो, फापरको रोटी, गुन्द्रुक, भटमास, सुन्तला लगाएतका परिकारको स्वाद लिन पाइन्छ । वडा अध्यक्ष मिनराज रानाका अनुसार १६ वटा घरमा व्यवसायीक होमस्टे संचालन भएको छ ।