काठमााडौं : एक साताअघि दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार भएको उनकी निजी चिकित्क प्रा.डा. दिव्या सिंह शाहले जानकारी दिएकी छन् । मिर्गौला प्रत्यारोपण भएको सातौं दिन मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै निजी चिकित्सक शाहले उपचारमा संलग्न चिकित्सक, अस्पताल र सबै सहयोगीलाई धन्यवाद दिँदै प्रधानमन्त्रीको स्वास्थ्यमा अपेक्षाकृत सुधार भएको बताएकी हुन्
प्रधानमन्त्री ओलीको फागुन २१ गते महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण भएको थियो । ‘प्रत्यारोपणको आज सातौं दिनसम्म सम्माननीय प्रधानमन्त्रीज्यूको स्वास्थ्यमा अपेक्षाकृत सुधार देखिएको छ’, डा. सिंहले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
प्रधानमन्त्रीको शल्यक्रियामा संलग्न भारतका वरिष्ठ प्रत्यारोपण शल्य चिकित्सक तथा पहिलो मिर्गौला प्रत्यारोपणमा सहभागी प्रा.डा. अनन्त कुमार, शिक्षणका विभागीय प्रमुख प्रा.डा. उत्तमकुमार शर्मा, प्रा.डा. प्रेमराज ज्ञवाली डा. पवन चालिसे, डा.भोजराज लुइटेल, डा.सुमन चापागाईं, डा. सुजित पौडेल र डा. मनिषमान प्रधानको संलग्नता रहेको बताएकी छन् ।
प्रत्यारोपण चिकित्सातर्फ विभागीय प्रमुख स्वयम् शाहको नेतृत्वमा डा. महेशराज सिग्देल, डा. मुकुन्द काफ्ले, डा. मिधन श्रेष्ठ, डा. रविन नेपाली र डा. सन्तोष क्षेत्री संलग्न रहेको बताएकी छन् । एनेस्थेसियातर्फ विभागीय प्रमुख डा. अनिल श्रेष्ठको नेतृत्वमा प्रा.डा. सुवासप्रसाद आचार्य, डा. विगेनमान शाक्य र डा. अमित शर्मा भट्टराईको टोली संलग्न रहेको सिंहले जानकारी दिइन् ।
त्यसैगरी क्रिटिकल केयरतर्फ प्रा.डा. सुवासप्रसाद आचार्यको नेतृत्वमा डा. प्रमेश सुन्दर श्रेष्ठ, डा. हेमराज पनेरु र डा. सौरभ प्रधानको टोली संलग्न थियो । मिर्गौला प्रत्यारोपणको तयारीदेखि अहिलेसम्म साथ दिने मनमोहन कार्डियोथोरासिक सेन्टरका कार्यकारी निर्देशक उत्तमकृष्ण श्रेष्ठलगायत सम्पूर्ण परिवारलाई शाहले धन्यवाद दिएकी छन् ।
त्यसैगरी शाहले प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गर्ने जस्तो गहन जिम्मेवारी वहन गर्न सहयोग गरेको भन्दै शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गा, नर्सिङ निर्देशक कविता देवकोटालगायत सबै विभागका सदस्यलाई धन्यवाद दिएकी छन् ।
‘प्रधनमन्त्रीज्यूको सुस्वास्थ्यको कामना गर्ने र हाम्रो मनोबल बढाउने त्रिविका उपकुलपति प्रा.डा. जगदीशप्रसाद अग्रवाललगायत अस्पतालका सम्पूर्ण चिकित्सक र नेपाली दाजुभाइ दिदीबहिनीलाई पनि धन्यवाद दिन चाहन्छु’, डा. शाहले विज्ञप्तिमा भनेकी छन् । उनले प्रधानमन्त्री ओलीको सुस्वास्थ्य दीर्घायु र सफलताको कामनासमेत गरेकी छन् । ‘प्रधानमन्त्रीज्यूले हामी नेपाली चिकित्सक र शिक्षण अस्पतालमाथि भरोसा गरी उहाँको उपचार गर्ने मौका दिनु भएकोमा हामी सम्पूर्ण अस्पताल परिवार गौरवान्वित छौँ’, विज्ञप्तिमा भनिएको छ, ‘हामी उहाँको सुस्वास्थ्य, दीर्घायु र सफलताको कामना गर्दछौँ । उहाँले देश र जनताको हितमा अझै ऊर्जावान भइ कार्य सम्पादन गर्नु हुनेछ भन्ने विश्वास व्यक्त गर्दछौँ ।’
फागुन २१ गते त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा ६९ वर्षीय प्रधानमन्त्री ओलीको सफलतापूर्वक दोस्रो पटक मिर्गौला प्रत्यारोपण भएको हो। यसअघि २०६४ सालमा भारतमा पहिलो पटक मिर्गौला प्रत्यारोपण भएको थियो। प्रधानमन्त्री ओली र मिर्गौला दाता भान्जी पर्ने समीक्षा संग्रौला फागुन १९ गते अस्पताल भर्ना भएका थिए । प्रत्यारोपणपछि ओलीको शरीरमा अब चारवटा मिर्गौला भएका छन्।
प्रधानमन्त्री ओलीको एउटा मिर्गौलाले काम गर्न छाडेपछि २०६४ सालमा भारतको एपोलो अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो। स्वास्थ्यमा समस्या देखिएपछि ओली उपचारका लागि गत भदौंमा सिंगापुर गएका थिए। त्यहाँ उनको'प्लाज्माफेरेसिस' गरिएको थियो। त्यहाँ १५ दिनको बसाइपछि प्रधानमन्त्री स्वदेश फर्केका थिए।त्यसपछि उनी नियमित डायलासिस गर्दै आएका थिए। मिर्गौला दाता संग्रौलाको स्वास्थ्यमासमेत उल्लेख्य सुधार भएको चिकित्सकले बताएका छन् । - अन्नपूर्णबाट