- उनको अभियानसँग जोडिएका थुप्रै किशोरी गंगालाई ‘गुल्मीको गौरव’ भन्ने गर्छन् ।
आज अन्तराष्ट्रिय नारी दिवस
हेन्रिक इब्सेनको नाटक ‘अ डल्स हाउस’ की पात्र नोराको सम्झना गरौँ । नोरा काल्पनिक नारी हो । तर, ऊ हजारौँ सामान्य महिलाको प्रतिनिधि हो । अप्ठ्यारो समयमा श्रीमानको सत्तालाई चुनौती दिँदै घरको ढोका ड्याम्म लगाइदिएर बाहिर निस्कन सक्नु एकसाथ परम्परा र समाज व्यवस्थालाई चुनौती दिनु हो । यथास्थिती विरुद्ध विद्रोह गर्नु हो । बदलिएको समाजको पदचाप सुनाउने जवर्दस्त प्रयत्न गर्नु हो । व्यवधान छिचोल्ने सहास भएकैले नोरा स्मरणीय छन् । नोरा जस्ता लाखौँ यूवा एकसाथ स्मरणीय छन् । म्याक्सिम गोर्की र निकोलाई अस्त्रोवस्कीका पावेल नामका पात्रहरु लाखौँ यूवाका प्रतिनिधी हुन् । तीनले समाज बदल्न लडेका एक एक पात्रका कथा भनेका हुन् ।
साहित्य एवं इतिहासमा लेखिएका राजनीतिक र सामाजिक अभियन्ताहरु मात्रले पनि समाजलाई बदलेको होइनन् । दुनियाँलाई बाँच्न योग्य बनाउन भूमिका निर्वाह गरिरहेका मानिस कोही सिलाई मेशिन घुमाएर बसेका होलान्, कोही कम्यूटरका जटिलता उधिनेर रमाएका हुन सक्छन्, भने कोही क्यानभासमा घोरिएका होलान् । कोही भने गाउँ गाउँ घुमेर स्वस्थ रहने सामान्य सिप सिकाइरहेका होलान् । ती जो यूवा भन्न लायक छन् । तिनले यथास्थितीमा बदल्न कोशिस गरिरहेका छन् । र नविनताका लागि प्रयत्न गरिरहेका छन् ।
समाजका अनेक क्षेत्रमा आफूले चुनेका जिम्मेवारी पुरा गर्दै त्यसैमा नविन खोज गर्न सक्ने सामान्य यूवाहरुको समष्टि योगदानले समाज बदलेको हो । अर्थात, समाज र सृजनामा विश्वास गरेर निरन्तर काम गरिरहेका मानिसले नै बदलेको हो समाज ।
जस्तो गुल्मीकी गंगा खड्काको कथा पढौँ । उनले महिलालाई हरेक महिना हुने रजश्वलाको वैज्ञानिकताबारे मान्छेलाई बुझाउँदै हिडिन् । विद्यालय जाने किशोरीहरुलाई महिनावारी हुँदा पर्ने अप्ठ्यारा सामना गर्न र सिंगो समाजलाई त्यसप्रति सकरात्मक बनाउन भूमिका निर्वाह गरिन् । स्वस्थ रहने र सरसफाईमा ध्यान दिनुपर्ने जरुरी ज्ञान बाढ्दै हिडिन् । गंगाले गरेको काम सुरक्षित ठाउँमा बसेर फेसबुक मार्फत देखाइने रमरम बुद्धिविलास होइन । शहरका सुविस्ताहरुबाट हेर्दा त्यो सजिलो पनि देखिन सक्छ । तर, त्यो आफैँमा यथास्थितिमा ल्याउन खोजिएको बदलाव हो । जस्तो त्योभन्दा असल बनाउने प्रयत्न हो । ज्ञान र सीपको कसीमा समयलाई नयाँ मोड दिने साहस हो । कतिपयका लागि त गंगा स्वयं एक बागी हुन् । समाजलाई बाँच्नयोग्य बनाउन एउटा सानो फरक काम गरेर देखाउने नोरा हुन् ।
गुल्मीकी गंगा खड्का २०६० सालमा कक्षा ७ मा पढ्दै थिइन् । एक दिन महिनावारी भएको बेला स्कुल गएकी थिइन् । उनी बेचेको बेञ्च रक्ताम्मे बन्यो । साथीहरुले गिज्जाए । लाजले भुतुक्क हुँदै घर पुगेकी उनी तीन दिनसम्म स्कुल गइनन् । त्यो उनको जीवनको सवैभन्दा पीडादायी घटना थियो । त्यही पीडाबाट प्रेरणा लिएर उनी एउटा अभियानमा लागिन् ।
आफूले समस्या भोगेका कारण मालिका गाउँपालिका छापहिले गुल्मीकी गंगा विद्यालयका किशोरीको सुरक्षित महिनावारी अभियानमा लागिन् । ‘महिनावारी नियमित प्रक्रिया हो’,उनले भनिन्,‘यस्तो समयमा आराम, सरसफाई गर्नुपर्छ भन्ने चेतना सवैलाई दिनु आवश्यक थियो ।’
५ वर्ष अघि सदरमुकाम तम्घासमा अध्ययनका लागि आएकी गंगाले त्यहीबाट सुरक्षित महिनावारी राष्ट्रिय अभियान शुरु गरिन् । कतिपयले उनको अभियानको मजाक पनि उडाए । ‘तर मैले आफ्नो मिशन कहिलै छाडिन्’,उनले भनिन्,‘कुनै पनि किशोरीले महिनावारी हुँदा असुरक्षित, असहज र लज्जित हुन नपरोस् भन्ने मेरो चाहना थियो । एउटा अठोट पनि थियो त्यसैका कारण अभियानले मूर्तरुप लिँदै गयो ।’
उनको अभियानको कदर भयो उनले २०७५ सालमा नेपाल सरकार, यूवा तथा खेलकुद मन्त्रालयबाट एक लाख रुपैयाँ राशीको राष्ट्रिय यूवा प्रतिभा सम्मान प्राप्त गरिन् । १ लाख रुपैयाँ राशीको पुरस्कार पाउने उनी गुल्मीकी एक्ली चेली हुन् । गंगाले महिनावारीका पीडा झेलेर एसएलसी सम्म उत्र्तिण गरिन् । त्यसपछि उनी उच्च शिक्षाका लागि तम्घास गइन् ।
उनले महिनावारी हुँदा सेनेटरी प्याड र कपडाहरु प्रयोग गर्न सकिदो रहेछ भन्ने कुरा थाहाँ पाइन् । ‘त्यसपछि मैले सोँचे’,उनले भनिन्,‘विद्यालयमा पनि सेनेटरी प्याड र महिनावारी बारे शिक्षक र विद्यार्थीलाई जानकारी गराउन सके मैले जस्तो पीडा अरु छात्राले भोग्न पर्दैन्थ्यो की ?’ र, महिनावारीलाई सही रुपमा व्यवस्थापन गर्ने लक्ष्य सहित २०७० सालमा गंगाले ‘सुरक्षित महिनावारी राष्ट्रिय अभियान’ संचालन गरिन् ।
आफ्नो जन्मथलो छापहिलेबाट अभियान थालनी गरिन् । गाउँका महिला स्वास्थ्य स्वयमसेविका र गृहणीहरुलाई उनले सुरक्षित महिनावारीका विषयमा जानकारी गराइन् । त्यसबेला उनले आफ्नै खर्चमा सेनेटरी प्याड किनेर वितरण पनि गरिन् । पहिलो पटक सेनेटरी प्याड देख्दा गाउँका महिलाहरु चकित भएका थिए । उनीहरुलाई गंगाले प्रश्न गरिन्,‘तपाईहरुलाई महिनावारी सम्वन्धी केही समस्या छ की ?’ जवाफमा उनीहरुले भने,‘छि छि यस्तो लाज लाग्ने कुरा कसरी गर्नु ?’ त्यसपछि उनले महिलाहरुलाई खुलेर मनका कुरा राख्ने वातावरण सृजना गराइन् । उनको प्रयासले छापहिलेका महिलाले महिनावारीमा सेनेटरी प्याड प्रयोग गर्ने बानी बसाले ।
देशव्यापी बनाउने उद्देश्यका साथ उनले गुल्मीबाट यो अभियान शुरु गरेकी थिइन् । महिनावारीको शुरुवाती चरणमा विद्यालयमा पीडा हुने भएकाले उनले यस अभियानलाई विद्यालय केन्द्रित गराइन् । सदरमुकाम तम्घासस्थित आदर्श विद्याआश्रम र गण्डकी बोर्डिङ स्कुलका छात्राहरुलाई भेला गराएर महिनावारीका विषयमा छलफल गरिन् । छात्राहरुले महिनावारी भएको बेला भोगेका पीडा र कष्टका विषयमा खुलेर कुरा गर्नका लागि विद्यालयका शिक्षिकालाई सहजीकरण गर्न लगाइन् ।
विद्यालय केन्द्रित अभियानले अहिले गाउँ गाउँमा तिव्रता पाएको छ । स्कुल स्कुल पुगेर उनले छात्राहरुलाई सुरक्षित महिनावारीबारे जानकारी गराउछिन् । महिनावारी के हो ? किन हुन्छ ? यसको व्यवस्थापन कसरी गर्ने ? सरसफाई कसरी गर्ने ? विद्यालयमा कसलाई भन्ने ? विद्यालय प्रशासनले के गर्ने ? महिनावारीलाई सुरक्षित कसरी बनाउने ? लगाएत विषयमा उनले सहजीकरण गर्दै आएकी छन् । गुल्मीका इस्मा, मदाने, धुर्कोट, छत्रकोट, गुल्मीदरवार, मालिका, चन्द्रकोट, सत्यवती, रेसुंगा र मुसीकोट नगरपालिका गरी १०६ विद्यालयमा सुरक्षित महिनावारी कार्यक्रम भइसकेको छ । ‘ती विद्यालयका झण्डै १५ हजार छात्राहरु अभियानबाट लाभांवित भएका छन्’,गंगाले भनिन्,‘उनीहरु अहिले खुलेर महिनावारीका विषयमा छलफल गर्छन् ।’
गाउँपालिका क्षेत्रमा भएका सवै विद्यालयमा कार्यक्रम गरिसकेपछि गाउँपालिकालाई ‘सुरक्षित महिनावारी गाउँपालिका’ घोषणा गर्ने गरिएको छ । घोषणाका लागि निश्चित ५ वटा सूचक हुनुपर्ने प्रावधान छ । छात्राहरुलाई सुरक्षित महिनावारी अभिमुखीकरण, सुरक्षित महिनावारी सञ्जाल गठन, फोकल शिक्षिकाको व्यवस्था, सेनेटरी प्याडको व्यवस्था र इन्सिनेटर सहितको छात्रा शौचालय अनिवार्य हुनुपर्ने प्रावधान बनाइएको छ । सञ्जालमा रहेका छात्रा सहित सवै छात्राहरुलाई सुरक्षित महिनावारीको विषयमा सफत समेत खुवाउने गरिएको छ । सवै सूचक पुरा गरिसकेपछि इस्मा, मदाने, मालिका, गुल्मीदरवार र छत्रकोट गाउँपालिका सुरक्षित महिनावारी गाउँपालिका घोषणा भइसकेका छन् ।
विद्यालयमा सुरक्षित महिनावारी अभिमुखीकरण कार्यक्रम गरेपछि छात्राको महिनावारी व्यवस्थापन सहज भएको छत्रकोट गाउँपालिका १ स्थित जनजागृती मावीकी प्रधानाध्यापक कमला भण्डारीले बताइन् । ‘हामीसित पनि किशोरीहरु बोल्न लाज मान्ने गर्थे’,सञ्जालकी फोकल शिक्षिका समेत रहेकी उनले भनिन्,‘गंगाको अभियानले छात्राहरु अहिले महिनावारी बारे खुलेर कुरा गर्ने भएका छन् ।’ आजभोली स्कुलमा नियमित निःशुल्क सेनेटरी प्याडको व्यवस्था समेत गरिएको छ । अभियनलाई गंगाले छिमेकी जिल्ला पाल्पा सहित सुर्खेत र वैतडीमा पनि पु¥याएकी छन् । उक्त जिल्लामा सञ्जाल गठन गरेर कार्यक्रम भइरहेका छन् । ‘कार्यक्रम कक्षा ५ देखि १२ सम्मका छात्रालाई लक्षित गरेर संचालन हुने गरेको छ’,उनले भनिन् ।
शुरुमा स्वयमसेविका रुपमा अभियान चलाएपनि पछिल्लो समय स्थानीय सरकारले हातेमालो गर्न थालेका छन् । ‘शुरुदेखि नै महिनावारी चक्र व्यवस्थित हुन सकेन भने जीवनभर महिलालाई अनेक समस्या आउन सक्छन्’,गंगाले भनिन्,‘पाठेघरको समेत समस्या हुनसक्छ ।’
गंगाको अभियानले गुल्मीका धेरै विद्यालयका छात्रालाई निकै सहज भएको छ । उनीहरु सेनेटरी प्याड विद्यालयबाटै प्राप्त गर्छन् । विद्यालयमा प्याड परिवर्तनका लागि शौचालय बनेका छन् । उनले थालेको अभियान र निरन्तरको आवाजले अघिल्लो आर्थिक वर्षदेखि नेपाल सरकारले देशभरका सवै सामुदायिक विद्यालयमा निःशुल्क सेनेटरी प्याडको समेत व्यवस्था गरेको छ । कतिपय छात्रा घरेलु प्याड बनाउन समेत जान्ने भएका छन् । एक जना किशोरीले शुरु गरेको अभियानले लाखौ किशोरी र महिलालाई सुरक्षा र सहजता प्रदान गरेको छ । उनको अभियानसँग जोडिएका थुप्रै किशोरी गंगालाई ‘गुल्मीको गौरव’ भन्ने गर्छन् । सुरक्षित महिनावारीको क्षेत्रमा उनको विज्ञतालाई सरकारले उपयोग गर्नसके मुलुकका नारीहरुको जीवन स्वस्थ बनाउन सकिन्छ । - अन्नपूर्ण सम्पूर्णका लागि उज्जल प्रसाई र लक्ष्मण पोखरेलले तयार पारेको स्टोरी ।