प्राणघातक कोरोना भाइरसको संक्रमण ६७ देशमा फैलिसकेको छ । चीनको वुहानबाट सुरु भएको यसबाट ३ हजार भन्दा धेरैको मृत्यु भयो भने ९० हजार भन्दा धेरै संक्रमित छन् ।
गत वर्षको डिसेम्बरदेखि नै सुरु भएको यो संक्रमणको उपचार भने अझै भेटिएको छैन । यद्यपि ४२ हजार संक्रमित उपचार गरी घर फर्कन सफल भएका छन् । विश्वभरका स्वास्थ्यविज्ञहरु उपचार विधिको खोजीमा त लागेका छन्, यसबाट बच्ने उपाय पनि सुझाउँदैछन् ।
हात धुँधैमा कोरोना भाइरसबाट बच्न सकिन्छ ?
हालैको नयाँ अध्ययनका अनुसार सफा पानीले हात धुँदा कोरोना भाइरसको आक्रमणको सम्भावनाबाट बच्न सकिन्छ । सामान्यतः ज्वरो तथा रुघाखोकी जस्ता विमार ५४ प्रतिशतको दरले कम हुने अध्ययनले देखाउँछन् । यसैले बेला बेलामा राम्ररी मिचेर हात धुनूस् ।
सार्वजनिक यातायात प्रयोग गर्दा के फरक पर्छ ?
सार्वजनिक यातायात सकेसम्म प्रयोग नगर्नु नै उचित हुन्छ । अत्यावस्यक अवस्थामा मात्रै सार्वजनिक यातायात प्रयोग गर्नु उचित हुने चिकित्सकहरु बताउँछन् । यदी तपाईँ घरबाटै काम गर्न सम्भव छ भने, सकेसम्म बाहिर पनि ननिस्किनु होला । जस्तै बजारको भीडमा किनमेलका लागि जान पनि उपयुक्त हुँदैन । भीडमा संक्रमित मानिस पनि हुन सक्ने हुँदा स्वासप्रस्वासबाट कोरोना भाइरस छिट्टै सर्न सक्छ । यसैले सकेसम्म सार्वजनिक सवारी पनि प्रयोग नगर्नु उचित हुन्छ ।
नटिंघमस्थित हालै गरिएको एक पछिल्लो अध्ययनले के देखाउँछ भने, २०११ को फ्लू भाइरलबाट संक्रमितहरु, जसले सार्वजनिक यातायातमा यात्रा गरेका थिए, अन्य भन्दा उनीहरुलाई पाँच दिन छिट्टो लक्षण देखिएको थियो ।
संक्रमण सर्ने हिसावले जहाज, ट्रेन र बस यात्राका लागि उच्च जोखिमका यातायात साधन मानिन्छ । विश्व स्वास्थ्य संगठनले सुझाव दिए अनुसार सामान्यतः फेस मास्कको प्रयोग गर्दा संक्रमण फैलन पाउँदैन ।
तर संक्रमणबाट आफैँ जोगिनका लागि भने सकेसम्म हात खल्तीमा राख्नुपर्छ । साथै कार्यालय समय बाहेकको समयमा सार्वजनिक सवारी साधनमा यात्रा गर्नु उपयुक्त हुन्छ ।
के घरमै बसिरहँदा सुरक्षित हुन सकिन्छ त ?
घरमै बसिरहेर मात्रै सुरक्षित हुने भन्ने हैन । परिवार र साथीभाइहरुको माध्यमबाट पनि भाइरस घरभित्र छिर्नसक्छ । यस्तो खतराबाट बच्न र बचाउन नजिकका साथीभाइ वा आफन्तलाई सफा पानीले हात धुने तरिका सिकाउनुपर्छ ।
घरभित्र आउनेहरुलाई हात मिलाउनुअघि नै हात धुन लगाउनुपर्छ । तर हात धोइसकेपछि हरेक मानिसको हातमा एक एकवटा टावेल भने छुट्नु हुँदैन । यदी यस्तो अव्यवहारिक भएमा बारम्बार हात भने पुछिरहनुपर्छ ।
साथीभाइलाई कसरी अभिभादन गर्ने ?
कोरोना संक्रमणको त्रासकै कारण हात मिलाउन, अंकमाल गर्न र चुम्बन गर्न धेरैजसो देशका सरकारले प्रतिबन्ध लगाएका छन् । जनचेतना फैलाउने किसिमले पनि यस्ता गतिविधि गर्न रोक्नुपर्ने स्वास्थ्यकर्मीहरुको सुझाव छ । स्वास्थ्य विश्लेषकहरुले हात मिलाउने काम पूर्ण रुपमा रोक्नुपर्ने सुझाव दिएका छन् ।
यही साता जर्मनीका गृहमन्त्री हस्र्ट सिहोफरले चान्सलर एन्जेला मर्केललाई बैठकमा सहभागी हुँदा हात नमिलाएर टाढैबाट हात हल्लाएरै अभिभावद गरिन् । साथीभाइसँग भेट्दा सुरक्षित हुने एउटै तरिका ‘हेलो’ वा ‘नमस्ते’ भन्नु मात्रै हो । अबेरिस्टीथ विश्वविद्यालयको पछिल्लो परीक्षण अनुसार एक पटक हात मिलाउँदा १० वटा ब्याक्टेरिया एकअर्कामा सर्ने गर्छन् ।
कपडा धुने तरिका पनि बदल्नुपर्छ र ?
स्वास्थ्य सम्बन्धी संस्थाहरुले दिएको सुझाव अनुसार सामान्यतः हामीले शरीरमा लगाउने कपडा र घरेलु लत्ताकपडा ६० वा ४० सेन्टिग्रेड ब्लिचको सहायताले धुनुपर्छ । जसले जीवाणुहरु रोक्न मद्धत पुग्छ । यसमा डिटरजेन्ट थपिरहनु आवस्यक पर्दैन । साथै कपडा धोइसकेपछि छत वा बरन्डाको घाममै सुकाउन सकिन्छ । तर यसरी कपडा धोइसकेपछि पनि हात धुन भने बिर्सनु हुँदैन ।
खाना भण्डार गर्नु पर्छ त ?
सामान्यतः खाने कुरा भण्डार गरिराख्नु पर्दैन । तर केही दिनसम्म नबिग्रने किसिमका खानेकुरा प्रयोग गर्नु चाहिँ बुद्धिमानी हुन्छ । खाद्यविदहरुका अनुसार गेडागुडी, सिमी, मसुरी, पास्ता, सुकेका माछा, सुख्खा फल, नट्स, पाउडर दुध जस्ता खाद्यान्न भण्डार गरिराख्न पनि सकिन्छ ।
साथै सकेसम्म बजारमा पहिले झैँ सपिङ गर्न पनि नजानु बुद्धिमानी हुन्छ । यदी अनलाइन सपिङ गर्नुहुन्छ भने थप होसियार रहनुपर्छ । डेलिभरी गर्ने व्यक्ति र सामानसँगै भाइरस पनि छिर्नसक्छ ।
बजार नै बन्द भएमा के गर्ने ?
चीन, कोरिया, इटली, जापान, इरानका कतिपय ठूला सहर पनि कोरोना फैलन थालेपछि बन्द गरिएका छन् । यस्तो आपतकालिन अवस्थामा सरकारले स्कुल, सार्वजनिक यातायात, जमघटस्थल र बजार पनि बन्द गर्न सक्छ । यस्तो अवस्था आउनुभन्दा पहिले नै नकुहिने प्रकृतिका खाद्यान्न र सुकेका फलफूलको जोहो गरिराख्नु बुद्धिमानी हुन्छ ।
लामो यात्रा र भ्रमण बन्द गर्नू
यस्तो अवस्थामा लामो यात्रामा निस्कँदै हुनुहुन्छ भने पनि तत्कालका लागि थाति राख्न सक्नुहुन्छ । अधिकांश कोरोना प्रभावित देशमा स्कुल, विश्वविद्यालयले यस्ता सामुहिक भ्रमण र यात्रा स्थगित गरिसकेका छन् ।
एक्लै पनि कतै घुम्ने योजनामा हुनुन्छ भने अहिलेलाई रोक्नु नै लाभदायी हुनेछ । वृद्धावस्थाका मानिस बढी जोखिममा छन् ? हालसम्मको तथ्यांक हेर्दा मृत्यु हुने अधिकांश वृद्ध–वृद्धा र शिशु छन् । कोरोना मात्रै नभएर अन्य किसिमका भाइरसको संक्रमण पनि रोग प्रतिरोधात्मक क्षमता कम हुने शरीरमा छिट्टो सर्नसक्छ ।
त्यस्ता शरीरमा यसले हानी पनि धेरै गर्नसक्छ । रोग प्रतिरोधात्मक क्षमता वृद्धावस्था र बालबालिकामा हुने भएकाले यस्ता समूहका मानिस यसबाट धेरै सचेत रहनुपर्छ । कतिपय अवस्थामा युवावस्थाका मानिस भाइरस लागिसकेपछि पनि उपचार भइ घर फर्किएका छन् ।
यो संक्रमण लागिहाले वृद्धावस्थाका उमेरका मानिसको मृत्यु हुनसक्ने सम्भावना युवावस्थाको मानिसभन्दा १० गुणा उच्च हुने स्वास्थ्यकर्मीहरु बताउँछन् । यसैले पनि वृद्धावस्थाका मानिसलाई यस्तो अवस्थामा बढी हेरचाह गर्नुपर्छ । बाहिर निस्कन दिनु हुँदैन । जमघटमा त जानै दिनु हुँदैन ।
प्रेस्क्रिप्सन के हो त ?
चीनमा कतिपय औषधि फ्याक्ट्रीहरु समेत बन्द छन् । ‘अष्ट्रा जेनेसा’, ‘फिजर’ जस्ता विशाल औषधि कम्पनीहरुले समेत आफ्नो औषधि सप्लाइमा कोरोना संक्रमणले असर पार्नसक्ने जनाएका छन् । कोरोना भाइरसको संक्रमण फैलिएको तीन महिना भइसक्दा पनि औषधि पत्ता लगाउन सकिएको छैन । विज्ञहरु यसमा प्रयत्न गरिरहेका छन् । अमेरिकी उपराष्ट्रपति माइक पेन्सले भने हालै अबको ६ महिनामा यसको औषधि तयार पार्न सकिने बताए । तर स्वास्थ्यकर्मीबाट ठोस प्रतिक्रिया आएको छैन ।
संक्रमण दुई पटकसम्म पनि लाग्छ ?
यदी तपाईँलाई संक्रमण लाग्यो भने, र त्यसबाट बच्नुभयो भने तपाइँको रोग प्रतिरक्षात्मक क्षमता कमजोर हुनेछ । यसले फेरि पनि संक्रमित हुनसक्ने सम्भावना रहन्छ ।
के घरपालुवा कुकुरबाटै भाइरस सर्ने खतरा छ ?
विश्व स्वास्थ्य संगठनका अनुसार अहिलेसम्म कुनै पनि कुकुर र बिरालो कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएको छैन । यसर्थ घरमा पालिएका कुकुर र बिरालोबाट डराइहाल्नुपर्ने अवस्था छैन । तै पनि यस्ता जनावरलाई आफ्नो निगरानी भन्दा बाहिर जान दिनु हुँदैन । अर्थात् तिनिहरुको सरसफाइमा ध्यान दिनुपर्छ । र तिनिहरुलाई समातिसकेपछि तातो पानीले हात धुन बिर्सनु हुँदैन । - अन्नपूर्णबाट ।