प्यूठान : विजुवारस्थित झिमरुक खेलकुद मैदानमा जारी स्वर्गद्धारी प्यूठान चौथो महोत्सवमा शनिवार दर्शकको थामिनसक्नु भीड लाग्यो । आयोजकलाई टिकट काट्नै हम्मेहम्मे प¥यो । आठ स्थानमा टिकट काउण्टर राख्दा समेत दर्शकलाई महोत्सव स्थलमा लैजान गाह्रो भयो । महोत्सव संचालनको दशौँ दिन दर्शकको अपेक्षा भन्दा बढी भीड लागेको आयोजकले जनाएको छ ।
विदाको दिन भएकाले दर्शकहरुको उत्साहजनक उपस्थिती भएको मुल आयोजक समितिका संयोजक एवं प्यूठान उद्योग वाणिज्य संघका अध्यक्ष केदारमान कक्षपतीले बताएका छन् । उनका अनुसार झण्डै १५ हजार दर्शकले महोत्सव अवलोकन गरेका छन् । १२ हजारले टिकटै काटेर प्रवेश गरेको उनले जानकारी गराए । कतिपय दर्शकहरु भीडमा टिकट बीना पनि महोत्सव स्थलमा छिरेका थिए । ‘शनिवारको उपस्थितीले थप उत्साहित बनाएको छ’,कक्षपतीले भने,‘जिल्लाबासीलाई यसैगरी साथ दिन आग्रह गर्छु ।’
शनिवार देशभक्ति गायक बद्री पंगेनी, गायिका प्रिती आले, सरिता प्रजापती र नायिका अञ्जली अधिकारीको प्रस्तुती थियो । देशभक्ति गीतबाट दर्शकलाई सन्देश बाढेका गायक पंगेनीले हजारौँ दर्शकसामु देशलाई जोगाउन सवैको चासो हुनुपर्ने सुनाए । सँधै बुवा, आमालाई रुवाउने खालका गीतले चर्चा बटुल्ने गरेका पंगेनीले यसपाली यूवालाई लक्षित गीत गाए । उनले यसपाली यूवा लक्षित गीतलाई बढी जोड दिए । २०५९ सालमा पहिलोपटक प्यूठान आएको स्मरण गर्दै त्यसपछि उनले सँधैजसो लाग्ने मेला, महोत्सवमा प्यूठान आउन पाएकोप्रति खुसी बाढेका थिए ।
दर्शककै भनाई अनुसार उत्ताउलो गीत गाएर चर्चा पाउने गरेकी गायिका प्रिती आलेले यसपाली प्यूठान आएर पनि उत्ताउलो गित प्रस्तुत गरिन् । कतिपय समाजमा सहज रुपमा पचाउन नसकिने शव्दमा रचिएका गीत उनले मंचबाट दर्शकलाई सुनाइन् । यूवा पुस्तामा उनको गीतले नाँच्नका लागि ऊर्जा थपेपनि पाका पुस्ताले त्यसलाई सहज रुपमा लिएका थिएनन् । उनी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी सदस्य समेत हुन् ।
चलेको सवैजसो गीतमा अभिनय गरेर चर्चा बटुलेकी नायिका अञ्जली अधिकारीको प्रस्तुती दर्शकका लागि हेर्न लायक थियो । मंचमा उभिएर उनी नाँच्दा टाढाटाढा बसेका दर्शकहरु नजिक ओइरिन्थे । यूट्यूव, टिभी र रेडियोमा गीत सुनेका दर्शकहरु प्रत्यक्ष रुपमा कलाकारलाई देख्न पाउँदा महोत्सवमा थप उत्साहित भएर आउने गरेका छन् ।
महोत्सवमा जिल्लाका विभिन्न क्षेत्रका यूवा, यूवती र विद्यार्थीहरु पनि प्रतिभा देखाए । बैदेशिक रोजगारको पीडा समेटिएको नाटक संचारकर्मी बोम बहादुर परियार र विमल पोखरेलको नेतृत्वमा प्रस्तुत गर्दा दर्शकहरुको आँखा रसाएका थिए ।१८ गतेसम्म चल्ने भनिएको महोत्सव चार दिन लम्वाएर २२ गतेसम्म पु¥याइएको आयोजकले जनाएको छ । महोत्सवबाट जुटेको रकमले जिल्लामा सुविधायूक्त वाणिज्य सभाहल बनाउने योजना आयोजकको छ ।