- टिकट काट्दा चाउचाउको सट्टा स्थानीय उत्पादन किन नदिने ?
प्यूठान : १७ वर्षदेखि हर्वल सावुन उत्पादन गर्दै आइरहेकी प्यूठान नगरपालिका मरन्ठानाकी दुर्गा केसीले सावुनको बजार खोज्दै स्वर्गद्धारी महोत्सवमा स्टल राखेकी छन् । गृह जिल्ला र स्वदेशमा सावुनको बजार सोँचे अनुसार नभएको गुनासो गर्दै केसीले जारी महोत्सवबाट उत्पादनको प्रचार प्रसारमा थप टेवा पुग्ने आशा गरेकी छन् । ‘स्वदेशमा भन्दा विदेशमा माग राम्रो छ’,उनले भनिन्,‘तर जिल्लामा सोँचे अनुसार बजार अझैपनि भएको छैन् ।’ स्थानीय स्रोत साधन (धेरैजसो च्यूरी) बाट उत्पादन हुने सावुनको प्रयोगले शरीरलाई धेरै फाइदा पुग्ने उनको भनाई छ । ५५ वर्षिय केसी महोत्सवमा आफूले उत्पादन गरेको सावुन देखाउँदा पाउँदा उत्साहित छिन् ।
जिल्लाको दुर्गम गाउँ नौवहिनी गाउँपालिका १ स्यालीवाङ क्षेत्रमा पाइने चाल्ने सिस्नोबाट निर्माण गरिएका अल्लोका विभिन्न कलात्मक सामग्री महोत्सवमा राखिएको छ । गाउँमा निर्माण गरिने अल्लोका सामग्रीहरु महोत्सवमै मेशिन राखेर सामग्री निर्माण गर्दा दर्शकहरुले नौलो मानेका छन् । स्यालीवाङकी उद्यमी चित्रकली बुढामगरले अल्लो मेशिन र सामग्री प्रदर्शनीमा राखेकी छन् । देश विदेशमा आफूले उत्पादन गरेका सामग्रीले चर्चा पाएपनि उनले जिल्लामै संचालन भएको महोत्सवले अल्लोको बजार प्रवद्र्धनमा थप इट्टा थप्ने आशा गरेकी छिन् । अल्लोबाट निर्माण गरिएका कोट, टोपी, झोला, जुत्ता, चप्पल लगाएतका सामग्री प्रदर्शनमा राखिएको छ । जिल्लाका सवै स्थानीय तहले जिल्लामै उत्पादन भइरहेका सामग्रीहरुलाई प्रोत्साहन गर्न उद्यमी बुढामगरले आग्रह गरेकी छन् ।
लोपहुँदै जान थालेको सदरमुकाम खलंगास्थित बुढाचौरमा निर्माण गरिने प्यूठानी बाघमुखे चुलेसी महोत्सवमा आकर्षण बनेको छ । बुढाचौरका बुढापाकाहरुले चुलेसी निर्माण गर्दै आएका थिए । तर नयाँ पुस्ताले यसको संरक्षणमा सोँचे अनुसार चासो देखाएका छैनन् । केही यूवाहरुले बनाएका चुलेसी महोत्सवमा ल्याएको छ । नयाँ पुस्ताले यसलाई थप आकर्षणको रुपमा हेरेका छन् । खलंगाकी व्यवसायी सरस्वती श्रेष्ठले निर्माण गरिएका चुलेसीहरुको बजार प्रवद्र्धनका लागि स्टलमा राखेकी हुन् । प्रति चुलेसी एक हजार सात सय ५० र दुई हजार पाँच सयमा विक्री गरिएको श्रेष्ठले जानकारी दिइन् ।
गौमुखी गाउँपालिका ५ खुङका ६५ वर्षिय रुमानसिँह कुँवरले गाउँमै पाइने विभिन्न जडीबुटीका सामग्री स्टलमा राखेका छन् । अलैँची, टिमुर, दालचिनी, चिराइतो, हरिताल, सतुवा लगाएतका जडीबुटीबाट तयार पारिएका सामग्री कुँवरले राखेका छन् । बुढेशकालको उमेरमा पनि गाउँमा व्यवसायीक जडीबुटी उत्पादनमा सक्रिय कुँवरले वार्षिक लाखौँ रुपैयाँ यसैका विक्रीबाट आम्दानी गर्छन् । जडीबुटीको संभावना राम्रो देखेको बताउँदै कुँवरले यसको बजारीकरणमा सवैले साथ दिन आग्रह गरेका छन् ।
हराउँदै जान थालेका पुराना मौलिक सामग्रीहरुलाई खरले छाएको चारपाखे घर बनाएरै प्रदर्शन गरिएको छ । नागरिक सरोकार समाज प्यूठानको पहलमा महोत्सव स्टलदेखि नजिकै खरले छाएको घर निर्माण गरिएको छ । दर्शकहरुका लागि यस घर प्रमुख आकर्षण बनेको छ । यूवा यूवतीहरुले यसलाई अझ बढी मन पराएका छन् । सेल्फी सहितको फोटो लिनका लागि यसले यूवापुस्तालाई तानेको छ ।
घरको दायाँबायाँ प्यूठान नगरपालिकाको भित्रिकोट दरबार, झिमरुक गाउँपालिकाको ओखरकोट दरबार र गौमुखी गाउँपालिकामा पर्ने बाइसमुल झरना सहितको तस्विर राखिएको छ । ती स्थलमै पुगेजस्तै अनुभूती फोटो देख्नेहरुले गरेका छन् । खरको घरभित्र पुराना पुस्ताले प्रयोग गरेका तर नयाँ पुस्ताले देख्न समेत नपाएका मौलिक उत्पादनहरु लाल्टिन, खराउ, ढक्के, क्यासेट, मल्टिन, ओरा, रुवा, ठफ्यौरी, ठेकी, मदानी र मुगाको माला लगाएत सामग्री प्रदर्शन गरिएको छ । ‘नयाँ पुस्ताले यी सामग्री देख्नै पाएका छैनन्’,समाजका अध्यक्ष सुमन सुवेदीले भने,‘इतिहासलाई जोगाइराख्ने प्रयास मात्र गरेका हौँ ।’ करिव ४५ हजार लागतमा यी सामग्री प्रदर्शन गर्न सकिएको उनको भनाई छ । आयोजकको सहकार्यमा सामग्री ल्याएको उनले सुनाए ।
यस बाहेक जिल्लाका थुप्रै कलात्मक र स्थानीय उत्पादनहरु महोत्सवमा प्रदर्शन गरिएको छ । प्यूठान नगरपालिका क्षेत्रमा उत्पादन भएका कृषिजन्य सामग्रीहरु दर्शकका लागि अझ आकर्षण बनेको छ । किसानहरुलाई व्यवसायीक बन्न यसले थप उत्साहित बनाएको छ ।जिल्लाका विभिन्न क्षेत्रबाट महोत्सवमा जुटेका उद्यमी एवं किसानहरुले मेला महोत्सवमा स्थानीय उत्पादनलाई नै महत्व दिएर अघि बढ्न आयोजकलाई आग्रह गरेका छन् । स्थानीय स्रोत साधनबाट उत्पादन गरिएका जिल्लाकै उत्पादनलाई आयोजकले महोत्सवमा निःशुल्क प्रदर्शन गर्ने व्यवस्था समेत मिलाएको छ । यसले पनि उद्यमीहरुलाई थप उत्साहित बनाएको छ । जिल्ला चिनाउने उत्पादनहरुलाई बजार प्रवद्र्धनकै लागि उद्यमीहरुले स्टलमा ल्याएका हुन् । बाँसका मुढा, डल्सका सामग्री लगाएत वस्तुहरु स्टमा राखिएको छ ।
महोत्सवमा प्रवेश गर्ने दर्शकहरुले टिकट काट्दा निःशुल्क चाउचाउ वितरण गरिएको छ । तर यसको सट्टा प्यूठानका कुनै उत्पादन दिने व्यवस्था आयोजकले मिलाएको भए उद्यमीहरु थप उत्साहित हुने मेला भर्न आएका दर्शकहरुले सुझाव दिएका छन् । जंकफूट प्रयोगमा निरुत्साहित गर्ने भनिएपनि आयोजकले यसतर्फ ख्याल नगरेको नागरीकहरुको भनाई छ । कम मूल्यमा पनि विक्री गर्न सकिने प्यूठानकै उत्पादन हर्वल सावुन, दालमोठ लगाएत सामग्री दर्शकहरुलाई वितरण गर्न सकिने भएपनि यसतर्फ आयोजकले चासो देखाएको छैन् । प्यूठानलाई चिनाएका वसतुहरुको बजारीकरणमा प्यूठानबासीले साथ दिन उद्यमीहरुले आग्रह गरेका छन् ।
महोत्सवमा स्थानीय उत्पादन सहित विभिन्न प्रकृतिका २ सय ५ वटा स्टलहरु राखिएको छ । फागुन ८ गतेदेखि जारी महोत्सव २२ गतेसम्म चल्ने छ । करिव ८ करोडको व्यवसायीक कारोवार हुने लक्ष्य लिइएको प्यूठान उद्योग वाणिज्य संघका अध्यक्ष केदारमान कक्षपतीले जानकारी दिए । महोत्सवबाट संकलित रकमले जिल्लाको पायक क्षेत्रमा सुविधायूक्त वाणिज्य सभाहल निर्माण गर्ने लक्ष्य आयोजकको छ ।