- फेरिएन गाउँका महिलाहरुको जीवनस्तर
मदाने (गुल्मी) : चिसो मौसम । बुढेशकालको उमेर । तर चिसो मौसमले घरमै बसेर खाना पुग्दैन मदाने गाउँपालिका ७ पुर्कोटदह गुल्मीकी फूर्सी चुदार्नीलाई । ६० वर्षिय चुदार्नी विहान १० बजे नै सडकमा पुग्छिन् । पुरकोटदह–अर्खावाङ सडक खण्ड पर्ने म्यालपोखरीमा उनी सडकमै ६ घण्टा विताउछिन् । बाटोमा भएका ढुंगालाई फोरेर गिट्टी बनाउछिन् । घनले ढुंगा फोर्दा फोर्दै साँझ घर जाँदा हात दुख्छन् । शरीर दुखेर सुत्नै गाह्रो हुन्छ । तर सवैलाई वेवास्ता गरी उनी गिट्टी फोरेरै जिविकोपार्जन गर्न बाध्यछिन् ।
चार भाई छोरा मध्ये तीन भाई भारतको पंजावमा छन् । तीनै जना छोरा अलग बस्दै आएका छन् । बुढेशकालले छोएका श्रीमान र कान्छो सानो छोरालाई पाल्नका लागि उनले विगत तीन वर्षदेखि यसरी नै सडकमा गिट्टी फोर्दै आएकी छिन् । ‘गिट्टी फोरेर घरखर्च चलाएकी छुँ’,उनले भनिन्,‘वर्षभरी खर्च जुटाउन बाटाका ढुंगा साहारा बनेका छन् ।’
उनी मात्र होइन, गाउँका धेरैजसो महिलाहरु यसै गरी नै सडकमा भेटिन्छन् । यस क्षेत्रका अधिकांश महिलाहरुको जिविकोपार्जन गर्ने माध्यम बनेको छ, गिट्टी । गाउँकै ६० वर्षिय पुतली कामी पनि ७० वर्षिय श्रीमान् र आफ्नो जिविका चलाउन सडकमा गिट्टी कुट्दै आएकी छन् । ‘विहान खाना खाएर आउँछौ’,पुतलीले भनिन्,‘साँझ ४ बजे फर्किन्छौ ।’ म्यालपोखरी क्षेत्रमा गिट्टी फोर्न दिएपनि पुरकोट दहतिर स्थानीयले नदिएको उनीहरुको गुनासो छ ।
स्थानीय जनप्रतिनिधीहरुले आफूहरुले गरिएको रोजीरोटी पनि खोस्न खोजेको उनीहरुको दुःखेसो छ । ‘पुरकोटतिर गिट्टी कुद्न दिँदैनन्’,महिलाहरु भन्छन्,‘दुःख गरेर खान्छौ भन्दा पनि अवरोध हुन खोज्छ ।’ उनीहरुले गाउँपालिकाले आफूहरुलाई केही सहयोग नगरेको गुनासो गरेका छन् । स्थानीय सरकार आएपनि आफूहरुलाई केही फाईदा नभएको महिलाहरुको गुनासो छ ।
उनीहरुले संकलन गरेको गिट्टी गाउँमा पक्की घर बनाउनेहरुले लैजाने गरेका छन् । प्रति ट्याक्टर ४ हजार पाँच सय रुपैयाँका दरले विक्री गर्ने गरेको महिलाहरुले बताए । महिलाहरुले वर्षभरी हात खियाएर बढीमा दुई ट्याक्टर गिट्टी संकलन गर्छन् । यसैको विक्रीबाट वर्षभरीको खर्च जोहो गर्छन् । ग्रामीण क्षेत्रका महिलाहरुलाई स्थानीय सरकारले आय आर्जनमा लगाउने खालका नीति तथा कार्यक्रम नल्याउँदा विपन्न वर्गका महिलाहरुलाई जिविकोपार्जन गर्न पनि धौधौ पर्ने गरेको छ । गरिब गरिब नै हुने र धनी अझै धनी बन्ने अवस्थाले दुर्गम क्षेत्रका नागरीकहरुको जीवनस्तर सुध्रिन सकेको छैन् । भौतिक पूर्वाधार निर्माणमा मात्र चासो दिने स्थानीय सरकारले आय आर्जनको पाटोमा ध्यान नदिएको नागरीक समाजका अगुवाहरु बताउँछन् ।
कसरी कुट्छन् गिट्टी हेर्नुहोस् भिडियो :