- १ लाख दर्शक
- ८ करोडको व्यवसायीक कारोवार लक्ष्य
प्यूठान : स्वर्गद्धारी प्यूठान चौथो महोत्सव विहिवारदेखि खेलकुद मैदान विजुवारमा शुरु भएको छ । महोत्सवको प्रदेश ५ का उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले उद्घाटन गरे । ११ दिनसम्म चल्ने महोत्सवमा विभिन्न प्रकृतिका २ सय ५ वटा स्टलहरु राखिएको छ । मेलाले जिल्लाका उद्योगी व्यवसायी र किसानहरु उत्साहित भएका छन् । आफ्नो उत्पादनको बजारीकरणमा मेलाले साथ दिने उनीहरुको आशा छ ।
महोत्सव उद्घाटन गर्दै मन्त्री गिरीले मेला, महोत्सव संचालन गर्नुपूर्व त्यसले जिल्लाबासीको आर्थिक हितमा पार्ने सकरात्मक प्रभावको बारेमा विश्लेषण गर्न आयोजकलाई सुझाव दिएका छन् । महोत्सवले स्थानीयको जीवनशैलीमा परिवर्तन गर्न टेवा पुग्नुपर्ने उनको भनाई छ । तर, सरकारले लिएको समृद्धिको नारालाई सार्थक बनाउन देशभर संचालन हुने मेला महोत्सवको भूमिका महत्वपूर्ण हुने उनको बुझाई छ ।
पर्यटन र कृषि क्षेत्रमा प्यूठानमा प्रशस्त संभावना देखेको सुनाउँदै उनले स्वर्गद्धारीकै माध्यमबाट आर्थिक विकास गर्न सकिने उनले सुनाए । लुम्विनी आउने पर्यटकलाई गुल्मीको रिडी, रेसुंगा, अर्घाखाँचीको सुपादेउराली हुँदै प्यूठानको स्वर्गद्धारीमा पुग्ने खालको वातावरण प्रदेश सरकारले बनाउने समेत उनको योजना छ ।
उद्घाटन कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश ५ का अध्यक्ष गुणनीधि तिवारीले नीजि क्षेत्र लगानी गर्न तयार रहेको बताउँदै यसका लागि राज्यले लगानीमैत्री वातावरण बनाइदिन आग्रह गरे । उद्योग, व्यवसाय दर्ता, नवीकरण र अनुगमन एकद्धार प्रणालीबाट हुनुपर्ने उनले माग गरेका छन् । व्यवसायीलाई उत्साहित बनाउनु सके मात्र मुलुकले आर्थिक क्षेत्रमा फड्नको मार्न सक्ने उनले बताए ।
प्यूठानका प्रदेशसभा सदस्य कृष्णध्वज खड्काले जिल्लाले विकास निर्माणमा फड्को मार्दै गएको उल्लेख गरे । सडक सञ्जालमा गौरवका आयोजनाले समग्र प्यूठानको आर्थिक विकासमा टेवा पु¥याएको उनले सुनाए । नीजि क्षेत्रले देखाएको जिल्लाका संभावनाका क्षेत्रमा सरकारको ध्यानाकर्षण हुनेगरी विकासमा आफूले पहल गर्ने समेत उनले सुनाए ।
फागुन ८ गतेसम्म चल्ने महोत्सवमा करिव ८ करोडको व्यवसायीक कारोवार हुने लक्ष्य लिइएको छ । महोत्सवबाट संकलित रकमले जिल्लाको पायक क्षेत्रमा सुविधायूक्त वाणिज्य सभाहल निर्माण गर्ने लक्ष्य लिइएको कक्षपतीले बताए । एक लाख दर्शकले महोत्सव अवलोकन गर्ने लक्ष्य लिइएको छ ।