- विद्यार्थीलाइ ५० प्रतिशत छुट
- नगर क्षेत्रकै गतिलो पर्यटकीय क्षेत्र
- घुम्न आउनेको घुँइचो
रोल्पा नगरपालिका ३ सातदोबाटोमा निर्माण गरिएको ढुंगे बगैचा आन्तरिक एवं बाह्य पर्यटकहरुका लागि प्रमुख गन्तव्य बनेको छ । छिमेकी जिल्लाहरुबाट घुम्न आउनेहरुको संख्या दिनानुदिन बढ्दो छ । प्राकृतिक रुपमा निर्माण गरिएको बगैचाले पर्यटकको मन तानेको हो । बगैचामा बसेर तस्विर खिच्ने, सेल्फी लिनेहरुको दिनहुँजसो भिड देखिन्छ । रोल्पा नगर क्षेत्रमा पर्यटकहरु भित्र्याउने यो नै गतिलो माध्यम बनेको छ ।

डिभिजन वन कार्यालय रोल्पा र नगरपालिकाको संयूक्त लगानीमा निर्मित उक्त गार्डेन निर्माणका लागी १३ लाख रुपैयाँ लगानी गरिएको छ । डिभिजन वन कार्यालयले नौ लाख र रोल्पा नगरपालिकाले चार लाख रुपैयाँ लगानी छ । रक गार्डेनको संरक्षण, सम्वद्र्धन र व्यवस्थापनको काम नगरपालिकाले गरेको छ । नगरपालिकाको नगर वन उद्यान कार्यक्रम अन्तरगत डिभिजन वनसँगको साझेदारीमा गार्डेन तयार पारिएको नगरपालिकाले जनाएको छ ।

चालु आर्थिक वर्षमा गार्डेनको थप सजावटका काम पुरा गरिने नगर प्रमुख पूर्ण केसीले बताए । यस क्षेत्रमा शौचालय, टिकट घर, टहरा, चौतारी र सोफाहरु निर्माण गरिने उनको भनाइ छ । गार्डेनको पूर्व सभामुख ओनसरी घर्तीले उद्घाटन गरेकी थिइन । हिजोआज दैनिक सरदर चार सय वढी पर्यटकहरुले गार्डेनको अवलोकन गर्दै आएका छन् । गार्डेनकै कारण आन्तरिक पर्यटकको चहल पहल वढेकाले स्थानीय होटल व्यवसायहरुमाा समेत चहलपहल बढदै गएको छ ।
कति लाग्छ शुल्क ?
रक गार्डेन अवलोकनका लागि निश्चित शुल्क तोकिएको छ । प्रति व्यक्ति ३० रुपैयाँ प्रवेश शुल्क तोकिएकोमा विद्यार्थीहरुलाइ पचास प्रतिशत छुट हुने नगरप्रमुख केसीले जानकारी दिए । टिकट विक्रीवाट दैनिक करिव पाँच हजार रुपैयाँ आम्दानी हुँदै आएको छ । रक गार्डेन सुरक्षा र टिकट वितरणका लागि स्थानीय दुइ जना युवाले रोजगारी समेत पाएका छन । गार्डेनमा चहल पहल वढेसंगै स्थानीय सातदोवाटा वजारका व्यापारीहरुमा व्यस्तता वढेको छ । रक गार्डेन अवलोकन गर्न आउनेहरु सातदोवाटामा चिया नास्ता तथा खाना खाने हुँदा होटलहरुमा विशेष चहल पहल वढ्न थालेको रोल्पा नगरपालिका वडा नं.३ का वडाध्यक्ष ईन्द्रवहादुर थापाले जानकारी दिए ।

ढुंगावाट निर्मित उक्त वगैचा हेर्न रोल्पाका विभिन्न स्थानीय तहका अतिरिक्त प्यूठान दाङवाट समेत आउने गरेका छन् । थोरै लगानीमा स्थानीय श्रोत साधनको प्रयोग गरेर वगैचा तयार पारिएको छ ।

नगर उद्यानको रुपमा रहेको उक्त वगैचालाई अझै व्यवस्थीत गरि आन्तरिक पर्यटनको केन्द्र वनाउने गरि काम थालनी गरिने केसीले बताए । विभिन्न संघ संस्थाले उक्त स्थानमा वैठक समेत गर्न थालेका छन । वैठकका लागी आवश्यक पूर्वाधार नभएकाले कठिनाई भएकाले छिट्टै थप संरचना तयार गरिने नगरपालिकाले जनाएको छ । नेपाल भ्रमण वर्ष २०२० को लागी छानिएका नेपालका एक सय गन्तव्य मध्यको एक जलजला भ्रमण गर्न आउने पर्यटकले रक गार्डेन समेत अवलोकन गर्ने उद्देश्यले आकर्षक संरचना बनाइएको नगरप्रमुख केसीले जनाए ।
तस्विर : महेश न्यौपाने (रोल्पा)