
प्रदेश नम्वर ५ का विभिन्न जिल्लामा रहेका धार्मिक एवं पर्यटकीय तिर्थस्थलले पर्यटकहरुको आगमनलाई बढाएको छ । घुम्न सकिने विभिन्न स्थलहरु भएपनि पर्यटकहरुका लागि धार्मिक गन्तव्यहरु नै प्रमुख रोजाइमा पर्ने गरेका छन् । धेरैजसो पुराना र केही नयाँ गन्तव्यहरु प्रदेशका विभिन्न जिल्लाहरुमा छन् । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी सरकारले धार्मिक स्थnलहरुलाई समेत नयाँ गन्तव्यका रुपमा सूचिकृत गरेको छ । यी गन्तव्यहरुको प्रवद्र्धन र विकासमा राज्यका तीन तहकै सरकारले चासो दिएमा प्रदेशको समृद्धिमा एउटा इट्टा थपिन सक्छ ।
स्वर्गद्धारी
प्यूठानको स्वर्गद्धारी नगरपालिकामा पर्ने पवित्र धार्मिक एवं पर्यटकीय तिर्थस्थल स्वर्गद्धारी धार्मिक पर्यटकहरुका लागि प्रमुख गन्तव्य बनेको छ । आन्तरिक भन्दा बाह्य (विशेषगरी भारतीय) पर्यटकहरु पुग्ने स्वर्गद्धारीमा हिन्दु धर्मालम्वीहरुले गर्ने सवै प्रकारका पूँजाआजा यहाँ गरिन्छ । पछिल्लो समय पर्यटकहरुको आगमन यहाँ धेरै हुने गरेको छ । मौसमी समयमा मात्र पुग्ने पर्यटकहरु आजभोली दिनहुँजसो जाने गर्दछन् । स्वर्गद्धारी आश्रम व्यवस्थापनका अनुसार ६० प्रतिशत भारतीय र ४० प्रतिशत आन्तरिक पर्यटक त्यहाँ पुग्ने गरेका छन् । अनुमानित वार्षिक झण्डै पाँच लाख पर्यटक स्वर्गद्धारी घुम्ने गर्छन् । बेदमन्त्रद्धारा प्रकट गरिएको अन्निद्धारा सञ्चालित यज्ञकुण्ड स्वर्गद्धारीकोे विशेष आकर्षण हो । वि.सं. १९५२ सालदेखि उक्त यज्ञकुण्ड अझैसम्म अनवरत रुपमा बलिरहेको छ । समुन्द्रीसतबाट २ हजार ३ सय मिटर उचाइमा स्वर्गद्धारी अवस्थित छ । धौलागिरी, माछापुच्छ्रे र अन्नपूर्ण हिमश्रृखलाहरु यहाँबाट नजिकबाट देख्न सकिन्छ । लुम्विनी–स्वर्गद्धारी–गौमुखी–ढोरपाटन–मुक्तिनाथलाई पर्यटन ‘रुट’ को रुपमा विकास गर्न सकिने प्रशस्त संभावना छ । तर यसतर्फ सम्वन्धित निकायले चासो देखाएका छैनन् ।
पूर्वपश्चिम महेन्द्रराजमार्ग अन्तर्गत दाङको भालुवाङबाट प्यूठानको भिंगृहुँदै र दाङको घोराही–होलेरी सडकबाट यहाँ पुग्न सकिन्छ । भालुवाङबाट करिव ५५ किलोमिटर पक्की सडकहुँदै स्वर्गद्धारीको आधारशिविर भिंगृमा पुग्नुपर्छ । भिंगृबाट साढे १३ किलोमिटर उकालो कच्चीसडक पारगरेपछि धरमपानी बजार पुगिन्छ । धरमपानीबाट १ किलोमिटर ३० मिटर पैदल हिड्नुपर्छ । घोराही–होलेरीबाट स्वर्गद्धारी पुग्नका लागि ५६ किलोमिटर कच्चीसडक भएर जानुपर्छ । प्रायःजसो यो सडक अवरुद्ध हुनेभएकाले अधिकांश तिर्थयात्रीले भालुवाङ–भिंगृ सडकलाई नै रोजाइमा पार्ने गरेका छन् । सडक कालोपत्रे गर्ने काम अघि बढेपछि त्यसले मूर्तरुप पाउन सकेको छैन् ।
गौमुखी

प्यूठानकै गौमुखी गाउँपालिकाको अर्खामा रहेको झिमरुक नदीको उद्गम स्थल गौमुखी मन्दिर पनि पर्यटकहरुका लागि आकर्षणको केन्द्र बनिरहेको छ । गाईको मुखको आकृतीबाट बगीरहने पानीबाट नुहाउँदा मन पवित्र हुने जनविश्वास छ । विशेषगरी माघे संक्रान्तिका दिन यहाँ आन्तरिक एवं बाह्य पर्यटकहरुको घुइँचो लाग्ने गर्दछ । अर्खाको ठूलोगाउँसम्म पुग्ने सहज सडक र त्यसपछि झण्डै एक घण्टाको पैदल यात्रापछि गौमुखी मन्दिर पुग्न सकिन्छ । स्वर्गद्धारी पछिको दोस्रो गन्तव्य गौमुखी हो । अँध्यारो गुफा गौमुखीको सबै भन्दा आकर्षण हो । गुफा अँध्यारो भएकोले बत्तीको साहारले भित्र पस्न सकिन्छ । करिब ४५ फिट लम्बाइ, १८ फिट चौडाइ र २० फिटसम्म उचाइ यस गुफाको क्षेत्र छ । गुफाको प्रवेशद्धार साँघुरो छ । डुङ्गामा टेकेर सजिलै प्रवेश गर्न सकिन्छ ।
रेसुंगा

गुल्मीको रेसुंगा नगरपालिकामा अस्थितमा रेसुंगा मन्दिर धार्मिक पर्यटकहरुका लागि पुग्नैपर्ने गन्तव्य बनेको छ । रेसुंगा पुगेर पुँजाआजा गरेपछि मनोकांक्षा पुरा हुने जनविश्वास छ । सदरमुकाम तम्घासको शिरमा अवस्थित रेसुंगा प्राकृतिक रुपले अझ पर्यटकलाई लोभ्याउने गर्दछ । तम्घास बजारदेखि आधा घण्टा गाडीको यात्रापछि रेसुंगा मन्दिर पुग्न सकिन्छ । सजिलैसँग पुग्नका लागि सडकको स्तरोन्नती हुने क्रममा छ । रेसुंगा मन्दिर नजिकै घना जंगलको बीचमा निर्माण गरिएको भ्यू टावरले अझ बढी पर्यटकलाई तान्ने गरेको छ । माछापुच्छ्रे, धौलागिरी लगाएतका विभिन्न हिमश्रृंखलाहरु नजिकबाट देख्न सकिन्छ । रेसुंगा क्षेत्रमा जिर्णोद्धार पोखरी, यज्ञशाला, ऋषि श्रृंगेश्वर आश्रम निर्माण, सिद्धवावा मन्दिलाई संरक्षण स्थानीय सरकारले चासो दिनुपर्ने स्थानीयले आग्रह गरेका छन् । प्रचार प्रसारमा जति अगाडी भएपनि भौतिक पूर्वाधारको विकासमा काम सोँचे अनुसार काम नहुँदा रेसुंगाबाट गुल्मी क्षेत्रका स्थानीयले अपेक्षाकृत लाभ लिन सकेका छैनन् । यसका लागि स्थानीय सरकारले विशेष योजना बनाएर काम थाल्नुपर्ने देखिन्छ ।
सुपादेउराली

अर्घाखाँचीको सन्धिखर्क–गोरुसिंगे सडक अन्तर्गत सुपाखोलाको पश्चिम भागमा अवस्थित सुपादेउराली मन्दिर पनि प्रदेश ५ क्षेत्रको महत्वपूर्ण धार्मिक गन्तव्य हो । सडक छेउँमा रहेकाले यस मन्दिरमा पर्यटकहरु सजिलैसंग पुग्ने गरेका छन् । सडकको सहज सुविधाले गर्दा पनि सुपादेउरालीमा पर्यटकहरु जान धेरै रुचाउँछन् । सुपादेउराली मन्दिर समुन्द्री सतहदेखि झण्डै ४ हजार ५ सय फिटको उचाइँमा छ । अर्घाखाँची जिल्लाको मध्यभागमा अवस्थित देवीस्थल हो सुपादेउराली । यस सडक भएर आवतजावत गर्ने धर्मालम्वीहरुको इच्छा पुरा गराइदिने जनविश्वास छ । सुपादेउरालीमा धेरैजसो वली चढाउने गरिन्छ । यहाँ दिनहुँजसो पर्यटकहरुको भीड लाग्ने गर्दछ । मन्दिर नजिकै ‘लाहुरे टाँसेको ठाउँ’ पर्यटकहरुका लागि अझ बढी आकर्षण बनेको छ । कुनै समयमा एक जना यूवा ‘लाहुँर’ जाँदा मन्दिरमा आफूले वली चढाउने बाँचा गरेको तर फर्किदा नचढाएपछि भित्तामा टाँसेको भन्ने यथार्थ घटना रहेको त्यस क्षेत्रका स्थानीय सुनाउछन् । यसले पनि सुपादेउराली मन्दिरमा गरेको पुँजाआजाले मनोकांक्षा पुरा हुने विश्वास रहेको पाइन्छ ।
लुम्विनी

शान्तिका अग्रदुत गौतमबुद्धको जन्मथलो लुम्विनी प्रदेश ५ को सवैभन्दा महत्वपूर्ण उद्गम स्थल हो । प्रदेश ५ सरकारले समेत लुम्विनीलाई केन्द्र विन्दुमा राखेर पर्यटनका गतिविधिहरुलाई अघि बढाएको छ । प्रदेशको नामाकरण समेत लुम्विनीबाटै हुने निश्चित भइसकेको छ । तर संसद्बाट पारित हुन बाकी छ । नेपाललाई विश्वसामुख चिनाउने विश्व शान्तिका अग्रदूत भगवान गौतमबुद्ध जन्मस्थल लुम्बिनी नै हो । विश्वको कुनै पनि कुनाबाट सजिलै पुग्न सकिन्छ लुम्बिनी । शान्ति प्रति विश्वास गर्ने अर्बौ मानिसहरूको दिव्यस्थलको रुपमा समेत लुम्विनीलाई लिन सकिन्छ । भगवान गौतमबुद्धले पनि मृत्युबरण गर्न अघि जानैपर्ने स्थलमध्ये मुख्य आफ्नो जन्मस्थल लुम्बिनी पनि रहेको बौद्ध दर्शनहरूमा उल्लेख गरिएको छ । बुद्धका अनुयायीहरू आफ्नो जीवनमा एक पटक लुम्बिनी जसरी पनि पुग्नुपर्छ भन्ने ठान्दछन् । विश्व भरमा बौद्धधर्म मान्ने र बौद्धमार्गीहरूको संख्या झण्डै पौने दुई अर्ब रहेको अनुमान छ । यति धेरै संख्यामा बौद्ध धर्मावलम्बी र बौद्धमार्गी हुँदा पनि नेपालले त्यसको फाइदा लिन सकेको छैन । यसको विशेष फाइदा अझ प्रदेश ५ लाई पर्ने छ ।
यी बाहेक प्रदेश ५ क्षेत्रमा महत्वपूर्ण धार्मिक एवं पर्यटकीय स्थलहरु छन् । जो प्रचार प्रसारको अभावमा ओझेलमा परेर बसेका छन् । नेपाल सरकारले सूचिकृत गरेका सय नयाँ गन्तव्यमा समेत धेरैजसो धार्मिक स्थलहरु छन् । नवलपरासीको रामग्राम, पाल्पाको तालपोखरी रम्भादेवी मन्दिर, अर्घाखाँचीको पाणिनी तपोभूमी, गुल्मीकै रेसुंगा तपोभूमी, रुरु क्षेत्र, भगवती मन्दिर, दाङको बगरबाबा धार्मिक पर्यटकीय क्षेत्र, बाँकेको कम्मर शाह मजार धार्मिक क्षेत्र, बर्दियाको ओमकेदारेश्व्र धाम धार्मिक क्षेत्र र शिवमन्दिर धार्मिक तथा पर्यटकीय स्थल नयाँ गन्तव्यका रुपमा सूचिकृत छन् । नयाँ तथा पुराना धार्मिक क्षेत्रहरुको प्रवद्र्धनमा स्थानीय र प्रदेश सरकारले विशेष पहल गर्नसके सिंगो प्रदेशकै आर्थिक विकासमा यी गन्तव्यहरुले महत्वपूर्ण टेवा पु¥याउन सक्दछन् । पर्यटन क्षेत्रको विकासले नै आर्थिक विकास गर्न सकिने बोलियो संभावना रहेको छ । प्राकृतिक रुपमा आफँै सजिएर बसेका पर्यटकीय क्षेत्रको विकासले स्थानीयको आय आर्जन र रोजगारीका अवसरहरु खुल्न सक्दछन् । थोरै लगानीले पनि देखिने खालको उपलव्धी पर्यटन क्षेत्रबाट गर्न सकिन्छ । यसका लागि तीन तहकै सरकारले ठोस गुरुयोजना बनाएर अघि बढ्नुपर्दछ ।