बुटवल : प्रदेश नम्वर ५ मा रहेका विभिन्न पर्यटकीय क्षेत्रहरु एक आपसमा जोडिने गरी भौतिक पूर्वाधार निर्माणको विकासले गति लिएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले बताएका छन् । लुम्विनी भ्रमण वर्ष २०७६ का लागि गठित प्रचार प्रसार समितिको शुक्रवार बुटवलमा आयोजित वैठक तथा छलफल कार्यक्रममा बोल्दै गिरीले पर्यटनमा ‘कनेक्टिभीटी’ बनिसकेको उल्लेख गरे । ‘भैरहवामा निर्माणधीन अन्तराष्ट्रिय विमानस्थलले पर्यटन क्षेत्रमा थप उत्साहित बनाएको छ’,उनले भने,‘लुम्विनीको प्रचार प्रसारमा विमानस्थलले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।’
उनले विगतका वर्षहरुको तुलनामा अवको पर्यटन क्षेत्र तिव्र गतिमा भइरहेको समेत दावी गरे । प्रदेश ५ मा भइरहेको पर्यटन विकासले समग्र मुलुकको आर्थिक विकासमा महत्वपूर्ण हिस्सा ओगट्ने समेत उनले सुनाए । यसका लागि मन्त्रालयले प्रदेशस्तरमा भएका पर्यटन, उद्योग, वन तथा वातावरण क्षेत्रका संभाव्यताहरुको विकास एवं प्रवद्र्धनमा विशेष जोड दिएको गिरीले उल्लेख गरे । स्थानीय उत्पादनलाई प्रोत्साहन दिने नीति तथा कार्यक्रम मन्त्रालयले अघि सारेको गिरीको भनाई छ । ‘मधेशमा ढकियाँ, पहाडमा अल्लो स्थानीय रुपमा परिचित उत्पादन हुन्’,गिरीले भने,‘यस्तै पहिचान झल्कने उत्पादनलाई जोड दिने गरौँ ।’ कार्यक्रममा सहभागी संचारकर्मीहरुलाई मन्त्री गिरीले पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने गरी खवर सम्प्रेषण गर्न समेत आग्रह गरे ।
कार्यक्रममा सहभागी पत्रकार महासंघ रोल्पाका अध्यक्ष मानसिँह विक र दाङका संचारकर्मी नरेन्द्र केसीले प्रदेशका सवै जिल्लामा सम्वन्धित जिल्लाको पहिचान झल्किने गरी स्थायी संरचना निर्माणमा मन्त्रालयले जोड दिनुपर्ने सुझाव दिए । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी जिल्ला सम्वन्य समितिलाई कामकाजी बनाउन समेत उनीहरुको सुझाव छ । कार्यक्रममा बोल्दै प्रचार प्रसार संयोजक एवं नेपाल पत्रकार महासंघ प्रदेश नम्वर ५ का उपाध्यक्ष भरत केसीले लुम्विनी भ्रमण वर्षले नेपाल भ्रमण २०२० को प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । लुम्विनी भ्रमण वर्षले हालसम्म गरेका गतिविधिी र अवको कार्ययोजनाका बारेमा छलफल कार्यक्रम राखिएको उनले जानकारी गराए । केसीका अनुसार आउँदो चैत अन्तिमसम्म भ्रमण वर्षका कार्यक्रम जारी रहने छन् ।
लुम्विनी भ्रमण वर्षका गतिविधि संचालन गर्नका लागि कुल २ करोड रुपैयाँ बजेट विनियोजन गरेको मन्त्रालयका निमित्त सचिव विजयराज सुवेदीले जानकारी गराए । भ्रमण वर्ष अवधिभर पर्यटन मेला महोत्सव, होमस्टे तालिम पूर्वाधार निर्माण, प्यूठानको स्वर्गद्धारी, पाल्पाको रानीमहल लक्षित कार्यक्रम, जिल्ला स्तरीय समिति गठन लगाएतका गतिविधि संचालन गरिएको मन्त्रालयले जनाएको छ । प्रदेश स्तरीय पर्यटन प्रवद्र्धन समितिका सह संयोजक एवं होटल व्यवसायी माधव नेपालले लुम्विनी भ्रमण वर्षलाई लक्षित गरी संचालन गरिएको फूड फेस्टिवलले उत्साहित बनाएको सुनाए । कार्यक्रममा प्रदेश ५ का सवै जिल्लामा संचारकर्मीहरुको सहभागीता थियो ।