काठमाडौं : नेता अग्नि सापकोटालाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सभामुख उम्मेदवार बनाएको छ । नेकपा महासचिव विष्णु पौडेलका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले सभामुख उम्मेदवार सापकोटालाई बनाउने निर्णय गरेको हो ।
नेकपाले उम्मेदवार टुंगो लगाएसँगै प्रतिनिधि सभाले सभामुख पाउने बाटो खुलेको छ । नेकपाले सभामुख उम्मेदवारको नाम टुंगो लगाउन नसक्दा एक महिनादेखि संसद बन्धक जस्तै बनेको थियो । सापकोटा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन्। प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आइतबार बिहान भएको तीन घन्टा लामो छलफलपछि सभामुख चयनको विषय अनुमोदन नेकपा सचिवालय बैठक बसेको थियो ।
तत्कालीन माओवादीको भागमा सभामुख भएकोले माओवादीबाटै सभामुख चयन गर्ने सहमति दुई अध्यक्षबीच भएको थियो । त्यसलाई औपचारिकता दिन बसेको सचिवालय बैठकले सापकोटाको नाम अनुमोदन गरेको हो । बालुवाटार वार्तापछि अध्यक्ष प्रचण्डले पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठलगायतसँग परामर्श गरेका थिए ।
सभामुख चयनमा पार्टीभित्रको आन्तरिक किचलोका कारण झन्डै एक महिना संसद बन्धकजस्तै भएको छ। पार्टी सचिवालयले सभामुखको नाम टुंगो लगाएपछि संसदको भोलिको बैठकमा सभामुख निर्वाचनसम्बन्धी कार्यक्रम पेस हुनेछ । सभामुखका लागि नेकपाभित्रैबाट सुवास नेम्वाङ, उपसभामुख शिवामाया तुम्बाहाङफेको नाम पनि चर्चामा थियो । सभामुखका लागि दाबेदारी गर्दै आएकी उपसभामुख शिवामायालाई राजीनामा दिन पार्टीले औपचारिक रुपमा निर्देशन दिएको थियो । उनले पार्टीले सभामुख टुंगो लगाएपछि मात्र राजीनामा दिने अडान लिएकी थिइन् ।
संसद्को हिउँदे अधिवशेन पुस ४ गते प्रारम्भ भए पनि नेकपाले सभामुख उम्मेदवार चयन गर्न नसक्दा लगातार पुस ११, १७ र २७ गते तीन सूचना टाँसेर बैठक स्थगित भएको थियो । निवर्तमान सभामुख कृष्णबहादुर महरा बलात्कार प्रयासको आरोपमा पुर्पक्षका लागि जेल चलान भएपछि सभामुख पद खाली छ ।
काे हुन् सापकाेटा
सभामुख उम्मेदवार सापकोटा बुबा धनपति सापकोटा तथा आमा तिलमाया सापकोटाको कोखबाट २०१४ साल फागुन २४ गते जन्मिएका हुन्। समाजशास्त्रमा स्नातकोत्तर सापकोटा २०४४ सालमा नेपाल राष्ट्रिय शिक्षक संगठनको केन्द्रीय उपाध्यक्ष भएका थिए। २०४८ सालमा प्रतिनिधिसभा सदस्य उमेदवार रहेका उनी २०५१ सालमा तत्कालीन नेकपा (एकता केन्द्र) को केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए। त्यस्तै २०५१ मा संयुक्त जनमोर्चाको केन्द्रीय सदस्य भएका सापकोटा २०५२ माघ देखि भूमिगत भए। २०५७ सालमा पोलिटव्यूरो सदस्यमा निर्वाचित सापकोटा २०५८ मा पार्टीबाट गठन गरिएको तीन सदस्यीय वार्ता टोलीमा रही सरकारसँग वार्तामा सहभागी भएका थिए ।- अन्नपूर्णबाट