जंगलको बिचमा गाउँ । जसलाइ अहिलेसम्म सडक सञ्जालले जोडेको छैन् । गाउँलेहरु पैदल हिडेरै दैनिक जिविका चलाउछन् । ऐरावती गाउँपालिका–१ सल्लीकोटका स्थानीयको गाउँमै गाडीमा ओहोरदोहोर गर्ने सपना अँधुरै रह्यो । सडक समस्याकै कारण स्थानीयको दैनिक कामकाजमा असहज भइरहेको छ । वडा कार्यालय पुग्न यस भेगका स्थानीय करिव तीन घण्टा पैदल हिड्छन् ।
‘सडक नहुँदा पछाडी प¥यौँ’,स्थानीय रामबहादुर विरकट्टाकाले भने,‘दैनिक कामकाज गर्न पनि गाह्रो छ ।’ बजार, वडा कार्यालय, स्वास्थ्य चौकी र माथिल्लो तहको पठनपाठनका लागि पैदल हिडेर जानुपर्ने बाध्यता रहेको उनले सुनाए । ‘गाउँपालिका र वडा कार्यालयसंग एउटै माग छ, गाउँमा सडक चाहियो ।’ उनले भने ।
सडककै अभावमा गर्भवती र सुत्केरी महिलालाई अझ समस्या छ । स्वास्थ्य संस्थामै सुत्केरी गराउने सरकारको नीतिगत व्यवस्था भएपनि स्थानीयले यसको उपयोग गर्न पाएका छैनन् । केहि समय अघि सुत्केरी व्यथाले चापेपछि स्थानीय अनिता पुन मगर पैदल हिडेर स्वास्थ्यचौकीसम्म पुगिन् । ‘व्यथा लागेपछि घरबाट हिडेरै गयौँ’,उनले भनिन,‘स्वास्थ्यचौकी नपुग्दै बाटोमै बच्चा जन्मियो ।’ गाउँमा सडकको सुविधा नभएपछि उनीजस्तै गाउँका थुप्रै महिलाहरुले यस्तै पीडा झेल्दै आएका छन् ।
स्वास्थ्यचौकी पुग्न २ घण्टा
गाउँपालिकाको अमिलीमा स्वास्थ्य चौकी छ । यस गाउँबाट त्यस स्थानमा पुग्न दुई घण्टा पैदल हिड्नुपर्छ । गाउँले बिरामी परेमा उपचारमा समस्या पर्ने गरेको स्थानीय अनिराम गाहाले बताए । अमिली स्वास्थ्य चौकी र सरुमारानी गाउँपालिकाको हंसपुर स्वास्थ्य चौकीमा जानुपर्ने बाध्यता रहेको उनले सुनाए । सिर्सेनीदेखी गाउँसम्म सडक जोडिएमा सहज हुने उनको भनाइ छ । सल्लीकोट र कालीघाटका करिब एक सय आठ घरधुरीका वर्षौदेखि यस्तै पीडा छन् । गाउँ पुगेका जिल्ला समन्वय समितिका उपप्रमुख पदम थापा, ऐरवाती गाउँपालिका उपाध्यक्ष बुद्धबहादुर बस्नेत, वडा अध्यक्ष केशवराज आचार्य लगाएतको टोलीलाइ स्थानीयले गाउँमा सडक ल्यादिन माग राखे ।
सल्लीकोट गाउँमा ५ कक्षा सम्म पढाई हुन्छ । त्यस भन्दा माथिको शिक्षा लिन यहाँका विद्यार्थीहरु करिब तीन घण्टा पैदल हिडेर अमिली पुग्छन् । विहान उठने वित्तिकै हिडेका विद्यार्थी रात परेपछि मात्र घर फर्कन्छन् । विद्यालय गाउँभन्दा टाढा भएपछि बालबालिका शिक्षामा खासै चासो नदिएको स्थानीय सुनाउँछन् ।
सल्लीकोट क्षेत्रमा सडक पु¥याउन पहल गर्ने जिल्ला समन्वय समितिका उपप्रमुख पदम थापाले आश्वासन दिएका छन् । यस क्षेत्रका सरोकारावाला निकायहरुसँग सम्वन्य गर्ने उनको भनाइ छ । भौगोलिक हिसावले गाउँपालिकाकै अति दुर्गम क्षेत्र सल्लीकोट रहेको उपाध्यक्ष बुद्धबहादुर बस्नेतले बताएका छन् । स्थानीय जनप्रतिनिधी भएका हैसियतले पनि गाउँबासीको माग पुरा गरेरै छाड्ने उनको प्रतिक्रिया छ । ‘विगतमा एकात्मक राज्य प्रणाली हुँदा दुरदराजका बस्तीहरु विकासको पहुँचदेखी पछि परेका हुन्थे । अहिले उही इतिहास दोहोरिनु हुदैन । हामी एकात्मक राज्य प्रणाली बदलेर संघीयात्मक राज्य प्रणालीमा आएका छौँ’,बस्नेतले भने,‘विकास निर्माणलाई समानुपातिक, समावेशी तरिकाले अगाडी वढाउने छौँ ।’
सडक नभएकै कारण यस क्षेत्रको शिक्षा, स्वास्थ्य, खानेपानी लगाएत भौतिक पूर्वाधारमा कठिनाई भोग्नुपरेको उनले उल्लेख गरे । यस क्षेत्रमा विकास निर्माणका लागि परेको थोरै बजेट समेत समयमै काम हुन नसक्दा फ्रिज हुनेगरेको उनले अनुभव सुनाए । ‘सल्लीकोट अव पछाडी परिरहन्न’,उनले भने,‘जनताको मुहारमा खुशी ल्याएरै छाड्छौँ ।’