- स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ५ को उपदफा (३) र उक्त ऐनको दफा ६ उपदफा (७) बमोजिम सम्वन्धित वडाको सिफारिसमा केन्द्र तोकिएको नपाइएको पत्रमा उल्लेख गरिएको छ ।
प्यूठान : झिमरुक गाउँपालिका प्यूठानले वडा नम्वर ८ को केन्द्र तोक्न गत वर्षको पुस २९ गते गरेको निर्णय बदर गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पत्र पठाएको छ । सम्वन्धित वडा कार्यालयको सिफारिस अनुसार केन्द्र नतोकिएको देखिएपछि उक्त निर्णय बदर गर्न मन्त्रालयले गाउँपालिकालाई विहिवार पत्र पठाएको हो । माघ १ गते बसेको मन्त्रीस्तरीय वैठकले वडाको सिफारिस बमोजिम केन्द्र नतोकिएकाले निर्णय बदर गर्न निर्देशन दिने निर्णय गरेको छ ।
स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ५ को उपदफा (३) र उक्त ऐनको दफा ६ उपदफा (७) बमोजिम सम्वन्धित वडाको सिफारिसमा केन्द्र तोकिएको नपाइएको पत्रमा उल्लेख गरिएको छ । गाउँसभाले तुषारा गोव्दीस्थित रातामाटा फूलवारीमा केन्द्र तोकेको छ । मन्त्रालयले पूनः वडा कार्यालयको सिफारिसमा केन्द्र तोक्ने गरी व्यवस्था मिलाउन गाउँपालिकालाई भनेको छ ।
वडा कार्यालयले गाउँपालिकामा शुरुमा लिवाङ टिमुरचौरस्थित जनता माध्यमिक विद्यालय नजिक केन्द्र तोक्नका लागि सिफारिस गरेको थियो । तर उक्त सिफारिस गाउँपालिका अध्यक्ष तिलक जिसीले ‘ठाडै’ अस्वीकार गरेको वडा अध्यक्ष तुलस बस्नेतले आरोप लगाए । कार्यपालिकाले उक्त सिफारिस बदर गरेपछि वैठकमै आफूले ‘नोट अफ डिसेन्ट’ लेखेर बाहिरिएको बस्नेतले बताए । वडाले सर्वदलिय र सर्वपक्षिय भेला बोलाएर पूनः टिमुरचौरकै काभ्राबुटा झालापोखरीमा केन्द्र राख्ने निर्णय ग¥यो । वडाको अर्को सिफारिस पनि स्वीकार नगरी मतदान प्रक्रियामा गाउँपालिका गएको बस्नेतको भनाइ छ ।
मतदानमा वडाका पाँचै जना जनप्रतिनिधीहरुले सहभागीता जनाएनन् । गाउँसभामा भएको मतदानमा फूलवारीका लागि २८ र झालापोखरीका लागि ६ मत परेको थियो । गाउँपालिका अध्यक्षले केन्द्र तोक्ने विषयमा बहुमतको दम्भ देखाएको समेत बस्नेतले आरोप लगाएका छन् । गाउँपालिका अध्यक्ष जिसीले ‘रातामाटा फूलवारीभन्दा माथी केन्द्र लैजान सक्दैनौँ । गाउँसभामा हाम्रो बहुमत छ । वडाको सिफारिसको काम छैन् । हामीले भनेको ठाउँमा तपाइले मान्नुर्छ’ भनेर आफूलाई जवाफ दिएको बस्नेतले सुनाए ।
तर गाउँपालिका अध्यक्ष जिसीले यस्तो जवाफ नदिएको प्रतिक्रिया दिएका छन् । ‘यो सवै आरोप हो’,उनले भने,‘तीन वटा स्थानको विकल्प दिएका थियौँ । फूलवारीमा बहुमत आयो ।’ भौगोलिक हिसावले उक्त स्थानलाई तोकिएको उनले बताए । उनले स्थानीय सरकारले गरेको निर्णय संघीय सरकारले खारेज गर्नु कानुनसम्मत नभएको समेत आरोप लगाएका छन् । उनले यसबारेमा मन्त्रालयलाई प्रश्न गर्ने समेत बताए । ‘अदालतले पत्र पठाएको भए सम्मान गर्ने कुरा हुन्थ्यो’,जिसीले प्रश्न गर्दै भने,‘मन्त्रालयलाई के अधिकार छ पत्र पठाउने ?’
साविक लिवाङ टिमुरचौर ७, ८, ९ र तुषारा १ गोव्दीलाई मिसाएर वडा नम्वर ८ बनेको हो । जनसंख्या हेर्दा साविकका तीन वटा वडामा २ हजार ४ सय र गोव्दीमा १ हजार १ सय ५० रहेको वडा अध्यक्ष बस्नेतले बताए । भौगोलिक दृष्टिकोण अनुसार हाल तोकिएको फूलवारीको केन्द्र समेत पायकमा नरहेको स्थानीयले गुनासो गरेका छन् ।
के भन्छ स्थानीय सरकार संचालन ऐन ?
स्थानीय सरकार संचालन ऐनको दफा ५ को उपदफा ३ बमोजिम सम्वन्धित वडाको सिफारिसमा गाउँ सभाले तत्काल कायम रहेको सदस्य संख्याको दुई तिहाइ बहुमतबाट प्रस्ताव पारित गरी वडाको केन्द्र तोक्न सक्ने छ ।
यी हुन् वडा केन्द्र तोक्ने आधारहरु
क) जनसंख्या तथा जनसंख्या वितरणको अवस्था ।
ख) भौगोलिक निरन्तरता, अनुकुलता तथा विशिष्टता ।
ग) भाषिक, सांस्कृतिक तथा सामाजिक विशिष्टता ।
घ) सेवा सुविधा वितरणको अवस्था र सुगमता ।
ङ) विद्यमान भौतिक पूर्वाधार ।