- विपत पर्दा नगरपालिकाको के छ योजना ? (भिडियो सहित)
जुम्रिकाँढा (प्यूठान) : प्यूठान नगरपालिका वडा नम्वर ५ डाँफेका आगलागी पीडितलाई नगद सहित राहत सामग्री वितरण गरिएको छ । विहिवार ढुंगेठाटी बजारमा पीडितलाई राहत वितरण गरिएको हो । पुस २६ गते स्थानीय टेक बहादुर घर्ती मगरको घर आगलागीले ध्वस्त भएको थियो । घरमा भएका लत्ताकपडा, अन्नपात, भाडाकुँडा गरी झण्डै साढे पाँच लाख रुपैयाँ बरावरको क्षती भएको छ । पीडितलाई प्यूठान नगरपालिका मार्फत नगद २५ हजार रुपैयाँ सहित, चामल, नुनतेल, कपडा, त्रिपाल लगाएत राहतका सामग्री प्रदान गरिएको छ ।
प्यूठान उद्योग वाणिज्य संघ, नेपाल रेडक्रस सोसाइटी, फूलवारी एकीकृत ग्रामीण विकास संस्था र कालिका विकास केन्द्र नेपाल विजुवारले समेत राहत सामग्री प्रदान गरेका छन् । नगद सहित राहत सामग्री पाएपछि पीडित घर्तीमगरले स्थानीय सरकार भएको अनुभूति भएको सुनाए । ‘आठ जनाको परिवार गोठमा बसीरहेका छौँ’,उनले भने,‘खाने बस्ने ठाउँ छैन् । केटाकेटील आगो चलाउँदा घरमा आगलागी भएछ ।’ नगरपालिकाले दिएको रकमले नयाँ घर बनाउने सोँच बनाएको जानकारी गराए । यसअघि जिल्ला प्रशासन कार्यालय मार्फत उनले नगद सात हजार रुपैयाँ राहत रकम बुझिसकेका छन् ।
नगरपालिकाकै दुर्गम क्षेत्रमा पर्ने वडा नम्वर ५ का विभिन्न गाउँहरुमा अझैपनि खरले छाएका घरहरु थुप्रै भएकाले जस्तापाता वितरण कार्यक्रमलाई तिव्र बनाउने योजना नगरपालिकाले बनाएको नगरप्रमुख अर्जुन कुमार कक्षपतीले बताए । नगरपालिका क्षेत्रमा हाल एक हजार तीन सय ५० वटा खरले छाएका घरहरु रहेको उनको भनाई छ । उनले आउँदो वर्षदेखि आगलागीका घटना सुन्ननपर्ने समेत आश्वासन दिए । नगरक्षेत्रमा आगलागी पीडितलाई नगरपालिकाले नगद २५ हजार रुपैयाँ दिने निर्णय गरेको समेत उनले जानकारी गराए । विपतको बेलामा सवैले हातेमालो गरेर पीडितको राहत र उद्दारमा जुट्न नगरपालिकाका प्रवक्ता एवं वडा ४ नम्वर वडा अध्यक्ष लक्ष्मीप्रकाशराज भण्डारीले सवैलाई आग्रह गरे ।
वडा नम्वर ५ भित्रै ४२६ वटा खरले छाएका घरहरु रहेको वडा अध्यक्ष लछुमन भण्डारीले जानकारी दिए । चालु आर्थिक वर्षभित्र वडाका चार वटा घरमा आगलागी भएको उनले सुनाए । बालवालिकाहरु विद्यालय नजाने र घरमा बसेर आगो चलाउने गर्दा आगलागीका घटनाहरु बढ्न थालेको उनको भनाइ छ । आगलागीका घटनाहरु हुन नदिन खरले छाएका घरहरु हटाउनुपर्ने उनको भनाई छ । गत वर्ष २५ वटा खरले छाएका घरमा जस्तापाता वितरण गरिएको भण्डारीले जानकारी गराए ।
विपत पर्दा नगरपालिकाको के छ योजना ? भिडियो : केशरराज