प्यूठान : आफ्नै स्वामित्वमा व्यवसाय संचालन गरेर आत्मनिर्भर बन्नतर्फ पछिल्लो समय यूवा पुस्ताहरुको आकर्षण देखिन थालेको छ । कृषि तथा पशुपालनतर्फ यूवाहरुको लगानी बढ्दै जान थालेको हो । दुर्गमदेखि सुगम क्षेत्रका यूवाहरुको व्यवासयमा लगाव देखिएको छ । मल्लरानी गाउँपालिका ४ पायडाँडाका ३८ वर्षिय नारायण बस्नेतले गत असोजदेखि व्यवसायीक लोकल कुखुरापालन थालेका छन् । प्यूठान नगरपालिका वडा नम्वर ४ स्थित जुम्रिबजार नजिकै संचालन गरिएको उनको फर्ममा ग्राहकहरुको आकर्षण दिनानुदिन बढ्दो छ । लोकल कुखुरा पाल्ने यस क्षेत्रमै उनीमात्र पहिलो व्यवसायी भएकाले धेरैको नजर पुगेको हो ।
उनले ६ लाख रुपैयाँ लागतमा बस्नेत पोल्टीफर्म संचालन गरेका छन् । ‘पाँच सय वटा कुखुराका चल्ला राखेर फर्म संचालन गरेको हुँ’,उनले भने,‘कुखुरा राम्रै खपत भएको छ । उत्साहित छु ।’ चिसो मौसममा कुखुरा धेरै विक्री हुने गरेको उनले बताए । सुत्केरी महिलाहरुका लागि लोकल कुखुरा अझ बढी विक्री हुने गरेको उनको भनाई छ । यसअघि होटल संचालन गरेका उनले अवदेखि यसैलाई निरन्तरता दिएर अघि बढ्ने योजना सहित लगानी गरेका हुन् । बोइलर कुखुराको तुलनामा लोकल कुखरा धेरै राम्रो हुने उनको भनाई छ । वातावरणीय प्रभावका हिसावले पनि लोकल कुखुरापालन धेरै राम्रो हुने गरेको उनी बताउँछन् । ‘बोइलर कुखुराले समुदायमा वातावरण दुर्गन्धित बनाउँछ’,उनले भने,‘तर लोकल कुखुराले समुदायलाई कुनै असर गर्दो रहेन्छ ।’
पाल्पाबाट कुखुराका चल्ला लिएर उनले प्यूठानमा व्यवसाय थालेका हुन् । बोइलर कुखुराका चल्ला शुरुमै मरेर नोक्सानी हुने गरेपनि लोकल कुखुरा मर्ने समस्या नहुने उनले बताए । रोगले समेत यसलाई फेला नपार्ने गरेको उनको भनाई छ । श्रीमती, दुई छोरा र एक छोरी सहित पाँच जनाको परिवार यसैबाट धानिएको उनले सुनाए । उनले व्यवसायलाई अझ ठूलो संख्यामा बढाउँदै लैजाने सोँच बनाएका छन् । ‘परिश्रम गरे के हुँदैन’,उनी भन्छन्,‘शुरुमा चल्दैन् की भन्ने डर थियो तर अहिले बजारको चिन्तै छैन् ।’ उनले व्यवसायीक रुपमा लागेका यूवा किसानहरुलाई राज्यले प्रोत्साहन गर्दै जानुपर्ने सरकारलाई सुझाव दिए । राज्यले दिने सेवा सुविधा अहिलेसम्म नलिएको बताउँदै उनले व्यवसायीक क्षेत्रमा लागेकाहरुलाई थप हौसला आवश्यक हुनुपर्ने सुनाए । फर्ममा ३२ वर्षिय उनकी श्रीमती बुना बस्नेतले सघाउने गर्छिन् । रोजगारका लागि विदेश पुगेका उनी नेपाल फर्केलगत्तै व्यवसायमा लगानी गरेका हुन् ।
तन्नेरी उमेरदेखि नै व्यवसायीक क्षेत्रमा लागेका झिमरुक गाउँपालिका ४ बांगेमरोठ बौँडा प्यूठानका प्रेम पुन त्यस क्षेत्रकै पौरखी किसानको रुपमा पहिचान बनाएका छन् । उनले आफ्नै जग्गामा व्यवसायीक तरकारी र कुखुरापालन संचालन गरेर वर्षेनी लाखौ रुपैयाँ कमाउँछन् । पाँच वर्षदेखि नौ रोपनी क्षेत्रफल जग्गामा उनले तरकारी उव्जनी गर्दै आएका छन् । शिक्षा विषयमा प्रवीणता प्रमाणपत्र तह (प्लस टु) अध्ययन पुरा गरेका पुनले व्यवसायीक खेतीलाई थप विस्तार गर्दै लैजाने सोँच बनाएका छन् । आफूसितका धेरै साथीसंगीहरु घरखर्च धान्नैका लागि मुग्लान पुगेको बताउँदै उनले परिश्रम गर्नसके गाउँघरमै कमाई हुनेगरेको अनुभव सुनाउँछन् । उनले सात वर्षदेखि बजारको तरकारी किनेर खाएका छैनन् । ३३ वर्षिय पुनले बांगेफेदीस्थित नेवारेखोला नजिकै व्यवसाय संचालन गरेका छन् । उर्जाशिल समय व्यवसायीक क्षेत्रमै विताएको अनुभव सुनाउँदै उनले अवको पुरै समय समेत यसैमा खर्चिने बताए ।
जिल्लाका अधिकांश गाउँमा सडक सञ्जाल पुगेपछि यूवाहरुको व्यवसायीक क्षेत्रमा आकर्षण बढ्दै गएको पाइएको छ । गाउँ गाउँमा व्यवसायीक कुखुरापालन र तरकारीखेती गर्ने यूवा किसानहरु बढ्दै गएका छन् । तर स्थानीय सरकारले बजारीकरण लगाएत क्षेत्रमा साथ नदिएको यूवाहरुको गुनासो छ ।
हेर्नुहोस् भिडियो :