प्यूठान : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जनवर्गिय संगठन मुस्लिम संगठन नेपालको एकता प्रकृया टुंगिएको छ । सोमवार काठमाण्डौँमा नेकपा महासचिव विष्णु पौडेलले संगठनका २ सय ५१ सदस्यीय कमिटिका सदस्यहरुलाई सपथ खुवाए । साविक एमाले निकट नेपाल मुस्लिम इत्तेहाद संगठन र नेकपा माओवादीको मुस्लिम मुक्ति मोर्चाबीच एकता भएसंगै संगठनको संयोजकमा पूर्व एमालेका सेराज अहमद फारुकी र सह–संयोजकमा पूर्व ए–माओवादीका अत्तहर फारुकीले जिम्मेवारी पाएका छन् । संगठनको नौ सदस्यीय केन्द्रिय कार्यालय सदस्यहरुलाई यसअघि नै नेकपाका प्रस्तावित उपाध्यक्ष एंव संगठन विभाग प्रमुख वामदेव गौतमले सपथ खुवाई सकेका छन् ।
संगठनलाई विचारद्धारा निर्देशित गराउन सपथ ग्रहण कार्यक्रमका प्रमुख अतिथि महासचिव पौडेलले मुस्लिम अगुवाहरुलाई आग्रह गरे । ‘समस्त नेपाली मुस्लिम समुदायको आशा र भरोसाको केन्द्रको रुपमा यो संगठन रहनुपर्दछ’, पौडेलले भने, ‘समाज सुन्दर फूलवारी हो, हामी पहिला नेपाली हौँ, नेपालको सर्वोपरी हित हाम्रो साझा संकल्प हो ।’ लैगिंक विभेदको अन्त्य हुनुपर्ने बताउँदै महासचिव पौडेलले भने, ‘मुस्लिम समुदायका नागरिकहरुलाई स्वाभिमानी नागरिक बनाउन नेकपा प्रतिबद्ध छ ।’
नेकपाका सचेतक शान्ता चौधरीले मुस्लिम समुदाय चेतनाका दृष्टिकोणले निकै चनाखो रहेको उल्लेख गरिन् । अल्पसंख्यक समुदायको पक्षमा राज्य गम्भिर हुनुपर्ने बताउँदै चौधरीले भनिन्, ‘लोकतन्त्र त आयो तर जनताको जिवनमा खास के परिर्वतन आयो त ? यसबारे विश्लेषण हुनुपर्दछ ।’ ‘चाकडी’वाद अझैँ पनि पार्टीमा विद्यमान रहेको चौधरीले सुनाइन ।
सपथसंगै संगठनले नयाँ उचाई प्राप्त गरेको संयोजक सेराज अहमद फारुकीले बताए । ‘अब हामी छिट्टै प्रदेस र जिल्ला कमिटिहरुको एकता प्रकृयालाई सम्पन्न गर्छौ’, फारुकीले भने, ‘समस्त नेपाली मुस्लिम समुदायको सर्वाधिक लोकप्रिय संगठन बनाउने गरि कार्ययोजना बनाउँछौँ ।’ नेपालभर छरिएर बसेका मुस्लिम समुदायलाई गोेलबन्द गर्ने गरि अघि बढ्ने संयोजक फारुकीेले बताए ।
पूर्व एमालेलाई ५७ र माओवादीलाई ४३ प्रतिशतका आधारमा एकता प्रकृया सम्पन्न भएको केन्द्रिय कार्यालय सदस्य एवं नेपाल हज समितिका पूर्व अध्यक्ष ताज मोहम्मद मिँयाले बताए । २ सय ५१ सदस्य रहेको केन्द्रिय कमिटिले ८५ सदस्यीय सचिवालय कमिटि पनि टुङग्याएको मिँयाले जानकारी दिए । समुदायको बृहत्तर हितका लागि संगठनले काम गर्ने मिँयाले विश्वास लिए । सपथ ग्रहण कार्यक्रममा विशेष अतिथि संविधान सभा सदस्य नजिर मिँयाले निष्ठा र इमान्दारीका साथ संगठनमा लाग्न अपिल गरे । मुस्लिम समुदायको पक्षमा इतिहास देखि वर्तमान सम्म पैरवी गर्ने काम संगठनले गरेको भन्दै मिँयाले संगठनको साख बचाई राख्न नेतृत्वलाई आग्रह गरेका थिए ।
कार्यक्रममा केन्द्रिय कार्यालय सदस्य हारुन हल्वाईले स्वागत मन्तव्य राखे । कार्यक्रममा मुस्लिम समुदायका संविधान सभा सदस्य, संघीय सांसद, प्रदेससभा सदस्यहरुले शुभकामना मन्तव्य राखेका थिए । सेराज अहमद फारुकीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन अत्तहर फारुकीले गरेका थिए । एकता घोषणा तथा सपथ ग्रहण कार्यक्रममा देशभरबाट मुस्लिम अगुवाहरुको उपस्थिति रहेको थियो ।