- बजारीकरणमा नगरपालिकाको गतिलो अभ्यास ।
भिंगृ (प्यूठान) : स्वर्गद्धारी नगरपालिकाले संचालन गरेको दुई दिने कृषि तथा पशुमेला प्रदर्शनीले यस क्षेत्रका किसानहरु उत्साहित भएका छन् । आफूहरुले गाउँघरमा उत्पादन गरेको कृषिजन्य सामग्री र पशुपालनको बजारीकरणमा मद्दत पुग्ने भएपछि किसानहरु हौसिएका हुन् । मंगलवारदेखि नगरपालिकाको कार्यालय नजिकै भिंगृ प्लटिङ क्षेत्रमा प्रदर्शनी गरिएको छ । प्रदर्शनीमा नगरपालिकाका नौ वटै वडाबाट अगुवा किसानहरुले सहभागीता जनाएका छन् । मेला दुइदिन सम्म चल्ने मेलामा सयौँ किसानहरुको सहभागीता छ ।
रोजगारीका लागि मलेशिया पुगेका स्वर्गद्धारी नगरपालिका ७ सोत्रेका भुवन कार्कीले उतै साढे ६ वर्ष विताए । घर फर्केपछि व्यवसायमा जोडिनुपर्छ भन्ने उनलाई लागेको थियो । यत्तिकै खाली समय विताउन मनले नमानेपछि उनले व्यवसायीक बाख्रापालन व्यवसाय थाले । ढाई वर्ष अघिदेखि बाख्रापालन थालेका उनलाई आफ्नो व्यवसायको प्रचार प्रसार गर्ने मन लागेको थियो । त्यही अवसर उनले मेलामा पाएका छन् । स्वर्गद्धारी नगरपालिकाले भिंगृ बजार नजिक किसानहरुले उत्पादन गरेका कृषि एवं पशुजन्य कृषि उपजका सामग्रीको बजार प्रवद्र्धन गर्न कृषि तथा पशु मेलाको आयोजना गरेको छ । १३० किलोको बोका लिएर कार्की मेलामा प्रदर्शनका लागि पुगेका छन् । ‘२८ वटा बाख्रा पालेको छु’,उनले भने,‘मेलामा प्रदर्शन गर्न पाएकोमा खुसी लागेको छ ।’ उनले मेलाबाट फर्केपछि आफ्नो व्यवसायको प्रचार प्रसार हुनेमा आशा व्यक्त गरे । मेलामा आउनेहरुले आफूले पालेको बोका देखेर आश्चर्य मान्ने गरेको उनको भनाई छ । ‘सरकारी निकायबाट अनुदान नपाएपनि व्यवसायी राम्रै चलेको छ’,उनले भने,‘नगरपालिकाबाट उत्कृष्ट किसानको रुपमा सम्मानित भएको छु ।’
उनीजस्तै स्वर्गद्धारी नगरपालिका क्षेत्रभित्र पर्ने नौ वटै वडाबाट विभिन्न क्षेत्रका किसानहरुले आफूले उव्जाएको उत्पादन प्रदर्शनीका लागि मेलामा पुगेका छन् । नगरपालिकाकै वडा नम्वर ७ सातबिसेका लोकराज भण्डारीले उत्पादन गरेका काउली, टमाटर र काक्रा प्रदर्शनीमा राखेका छन् । तरकारी उत्पादन गरेरै सन्तानलाई पढाएका उनले व्यवसायीक खेतपातीमै आफ्नो भविष्य देखेका छन् । उनले बारीमा फलेको सवैभन्दा ठूलो काउली उखलेर मेलामा राखेका छन् । आइएसी एजी पढ्दै गरेका उनका छोरा प्रकाश भण्डारीले मेलामा बुवालाई सघाएका छन् । गरिखाने किसानहरुलाई यस्ता मेलाले धेरै हौसला थपिने गरेको उनको अनुभव छ । दुर्गम गाउँ कोचिवाङबाट समेत किसानहरुले सामग्री लिएर मेलामा प्रदर्शनीका लागि राखेका छन् ।
प्रदर्शनीमा राखिएका वस्तुहरुको अवलोकनका लागि दर्शकहरुको भीड लाग्ने गरेको छ । विगतका वर्षदेखि किसानहरुको उत्पादनलाई बजारीकरणमा मद्दत पुगोस् भन्ने उद्देश्यले स्वर्गद्धारी नगरपालिकाले कृषि तथा पशुमेला प्रदर्शनी संचालन गर्दै आइरहेको छ । ‘कृषिको व्यवसायीकरण बीना नगरक्षेत्रलाई समृद्ध बनाउन सकिदैन्’,नगरप्रमुख नेत्र बहादुर रोकायले भने,‘नगरपालिकाको बजेटलाई छरेर होइन् एकिकृत गरी कृषि क्षेत्रको विकासमा जुट्छौँ ।’ कृषि उत्पादनका हिसावले माडी क्षेत्र उर्वर मानिने उनको भनाई छ । माडी नदीबाट लिफ्टिङ गरी किसानहरुको खेतवारीमा सिंचाईको सहज सुविधा पु¥याउने काम नगरपालिकाले थालिसकेको उनले जानकारी गराए । ‘परम्परागत शैलीमा गहुँ र जौ खेती गरेर मात्रै जीवनशैलीमा परिवर्तन आउदैन्’,रोकायले भने,‘किसानहरु अव व्यवसायीक बन्नैपर्छ ।’ उनले व्यवसायीक किसानहरुलाई बजारीकरणमा समस्या नपर्ने समेत विश्वास दिलाए ।
उद्घाटन कार्यक्रममा बोल्दै जिल्ला सम्वन्य समितिका प्रमुख केशवराज आचार्यले किसानहरुलाई राज्यले विभिन्न क्षेत्रमा उपलव्ध गराएको अनुदानलाई सदुपयोग गरेर देखाउन सुझाव दिए । कृषि क्षेत्रमा आत्मनिर्भर नहुँदासम्म मुलुक समृद्धिका पाटोमा अघि बढ्न नसक्ने समेत उनले बताए । विभिन्न ६ विधामा किसानहरुले आफ्ना उत्पादनलाई मेलामा प्रदर्शन गरेका छन् ।
मूल्यांकनको आधारमा सवै विधामा प्रथम, द्धृतिय, तृतिय र पाँच÷पाँच जनालाई सान्तवना पुरस्कार प्रदान गरिने कार्यक्रम रहेको आयोजकले जनाएको छ । आयोजकका अनुसार पुरस्कार वितरणका लागि एक लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । किसानहरुको बजारीकरणमा नगरपालिकासँग फूलवारी एकिकृत ग्रामीण विकास संस्था, कृषि तथा जिविकोपार्जन (गोल–२) प्रवद्र्धन परियोजनाले सहकार्य गर्दै आइरहेको जिल्ला कार्यक्रम संयोजक मोहन सुवेदीले बताएका छन् ।
मेलाको सह आयोजकको रुपमा परियोजना र प्यूठान उद्योग वाणिज्य संघ स्वर्गद्धारी बजार क्षेत्र भिंगृले सहकार्य गरेका छन् । मेलामा २५० जना किसानले सहभागीता जनाएको कार्यक्रम संयोजक सुवेदीले बताए । गत वर्ष ९६ जना किसानको मात्र सहभागीता थियो । यसवर्ष किसानमा उत्साह थपिएको उनको भनाई छ ।
नगरप्रमुख नेत्र बहादुर रोका क्षेत्री