काठमाडौ : प्रधानमन्त्री हुने सर्तमा मात्रै राष्ट्रियसभामा जाने वामदेव गौतमको प्रस्तावलाई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अस्वीकार गरेका छन्। राष्ट्रियसभा सदस्य चयनका लागि बालुवाटारमा बसेको सचिवालय बैठकमा गौतमले राखेको सर्त ओली र प्रचण्ड दुवैले अस्वीकार गरेका छन्।
उपाध्यक्षका लागि प्रस्तावित गौतमले राखेको सर्त अस्वीकार गरेलगत्तै उनको संघीय संसद्मा जाने बाटो स्वतः बन्द भएको छ। पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार प्रधानमन्त्री हुने सर्तमा मात्रै राष्ट्रियसभामा जाने गौतमको सर्त थियो। ‘वामदेवजीले प्रधानमन्त्री हुनसक्ने सम्भावना भएमात्रै म राष्ट्रियसभामा जान्छु, नत्र जान्नँ भन्नुभयो,’ श्रेष्ठले भने, ‘वामदेवजीको सर्तलाई दुवै अध्यक्षले अस्वीकार गर्नुभयो।’ ओली र प्रचण्ड दुवैले अस्वीकार गरेपछि गौतमको राष्ट्रियसभा सदस्य हुने बाटो बन्द भएको छ। बैठकमा गौतमलाई राष्ट्रियसभामा जानका लागि आग्रह गरिएको थियो, तर संविधान संशोधन गरेर राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुनसक्ने व्यवस्था गर्नुपर्ने गौतमको सर्त थियो।
‘संविधान संशोधन गरी राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुनसक्ने व्यवस्था बनाऊ,’ बैठकमा गौतमको प्रस्ताव थियो, ‘यदि संविधान संशोधन नगर्ने हो भने राष्ट्रियसभामा जान उचित हुन्नँ।’ गौतमले संविधान संशोधनको प्रस्तावअगाडि सर्त राखेपछि ‘व्यक्तिका लागि संविधान संशोधन हुन सक्दैन’ भन्ने जवाफ प्रधानमन्त्री ओलीले दिएका थिए। अध्यक्ष ओलीले जवाफ दिनेबित्तिक्कै अर्का अध्यक्ष प्रचण्डले पनि संविधान संशोधन गर्न नसकिने भन्दै गौतमको प्रस्तावलाई ठाडै अस्वीकार गरिदिए।
गत २०७४ साल मङ्सिर मा भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका गौतमलाई व्यवस्थापन गर्न उपाध्यक्ष बनाउनेदेखि राष्ट्रियसभा सदस्य बनाउनेसम्मका प्रस्ताव अध्यक्षद्वय ओली र दाहालले गर्दै आएका छन्। गौतमलाई उपाध्यक्ष बनाउनका लागि सचिवालय बैठकको निर्णयअनुसार विधान संशोधन गर्ने तयारी हुँदैछ। आगामी पुस २३ गते बस्ने नेकपा केन्द्रीय समिति बैठकले स्थायी समिति बैठकबाट निर्णय भइसकेको विधान संशोधन प्रस्तावलाई अनुमोदन गर्नेछ।
उक्त अनुमोदनलगत्तै गौतम पार्टी उपाध्यक्षको जिम्मेवारीमा रहनेछन्। उता, गोरखा-२ बाट पराजित भएका सचिवालय सदस्यसमेत रहेका प्रवक्ता श्रेष्ठ भने गण्डकी प्रदेशबाट राष्ट्रियसभा सदस्य चयन हुँदैछन्। नेकपा सचिवालयमा आगामी माघ ९ को निर्वाचनपछि गौतम मात्रै संघीय संसदमा नरहने एक्ला सदस्य हुनेछन्। श्रेष्ठ र गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा बादल राष्ट्रियसभाबाट संघीय संसदमा प्रतिनिधित्व गर्नेछन् भने अन्यले प्रतिनिधिसभाबाट प्रतिनिधित्व गर्दै आएका छन्।
शुक्रबार बसेको सचिवालय बैठकले राष्ट्रियसभा उम्मेदवार चयन गरेका १६ मध्ये ९ जना पूर्वएमालेबाट रहेका छन् भने बाँकी ७ जना पूर्वमाओवादी केन्द्रबाट रहेका छन्। मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवादमा हालै विद्यावारिधी गरेका वेदुराम भुसाल पनि राष्ट्रियसभा सदस्य हुने भएका छन्।-नेपाल न्युजबाट