प्यूठान : राष्ट्र निर्माणको क्षेत्रमा निर्माण व्यवसायीहरु समृद्धिको संवाहक बनेको नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष रबि सिँहले बताएका छन् । निर्माण व्यवसायी संघ प्यूठानको शुक्रवार विजुवारमा सम्पन्न पाँचौ वार्षिक साधारण सभामा प्रमुख अतिथीको रुपमा सम्वोधन गर्दै उनले मुलुकलाई समृद्धिको यात्रामा लैजान निर्माण व्यवसायीहरुको विशेष भूमिका रहेको बताए ।
‘समृद्ध नेपाल, सुखी नेपाली’ मुलुकको नारालाई सार्थक बनाउन निर्माण क्षेत्रका व्यवसायीहरुलाई काम गर्ने उचित बातावरण राज्यले मिलाउनुपर्ने उनको भनाई छ । तर पछिल्लो समय राज्यले व्यवसायीहरुको हितमा गरेका पहलकदमीहरु सकरात्मक रहेको उनले उल्लेख गरे । ‘पछिल्लो पटक गरिएको नवौँ सार्वजनिक खरिद नियमावली व्यवसायीको हितमा छ’,उनले भने,‘मुलुकभरका व्यवसायीहरु उत्साहित भएका छौँ ।’ यसले मुलुकमा लगानीमैत्री बातावरण बन्दै गएको आभास हुन थालेको समेत उनले सुनाए ।
‘सार्वजनिक खरिद नियमावली संशोधन नहुँदा २ हजार बढी आयोजनाहरु अलपत्र अवस्थामा थिए’,सिँहले भने,‘अब ती सवै आयोजना संचालनमा आउने छन् ।’टेण्डर प्रक्रियामा निर्माण व्यवसायीहरुले काम गर्दा आर्थिक भारमा समेत कमी ल्याउन खरिद नियमावलीले साथ दिएको उनले सुनाए । यसका लागि आफूले लिएको निर्माणको जिम्मेवारीलाई इमान्दारीका साथ समयमै पुरा गर्न उनले प्यूठानका व्यवसायीहरुलाई आग्रह गरे । देशभरको तुलनामा प्यूठानमा संचालन भएका योजनाहरु अलपत्रै अवस्थामा भएको खवर सुन्न नपरेको उनले बताए । लगानीमैत्री वातावरण बन्दै गएमा मुलुकको विकासमा धेरै समय पर्खन नपर्ने समेत सिँहको बुझाई छ ।
कार्यक्रममा बोल्दै विशेष अतिथी महासंघका बरिष्ठ उपाध्यक्ष निक्लोस पाण्डेले मुलुकभर २० हजार बढी निर्माण व्यवसायीहरु क्रियाशिल रहेको जानकारी गराए । उनले देशभरका निर्माण व्यवसायीहरुको व्यवसायीक दक्षता बृद्धिका लागि महासंघले विशेष कार्यक्रम बनाएर जिल्ला जिल्ला पुग्ने योजना बनाएको सुनाए । सामाजिक सुरक्षा कोषका लागि सवै श्रमिकहरुको अनिवार्य हुनुपर्ने स्थायी लेखा नम्वर (प्यान) दुर्गम क्षेत्रका व्यवसायीहरुको हितमा नरहेको समेत व्यवसायीहरुले गुनासो गरेका छन् ।
सडक डिभिजन कार्यालय प्यूठानका प्रमुख सहित दुई जना इञ्जिनियर नहुँदा जिल्लाभर निर्माणधिन अवस्थामा रहेका योजनाहरु प्रभावित भएकाले यसतर्फ राज्यले चासो दिन व्यवसायीहरुले आग्रह गरेका छन् । तीन जिल्ला हेर्नेगरी सदरमुकाम खलंगा प्यूठानमा प्रदेश मातहतको पूर्वाधार विकास कार्यालयलाई रोल्पामा स्थानान्तरण नगरी प्यूठानमै राख्न पहल गर्नसमेत व्यवसायीहरुले नेतृत्वसँग आग्रह गरे । उपभोक्ता समितिबाट निर्माणको क्षेत्रमा अनियमितता हुने देखिएको बताउँदै व्यवसायीहरुले टेण्टर प्रक्रियाबाटै विकास निर्माण गर्नुपर्ने माग गरेका छन् ।
जिल्लाभर संघमा एक सय ८३ जना सदस्यहरु आवद्ध रहेको महासचिव शोभाराम न्यौपानेले जानकारी गराए । संघले आगामी चार महिनाभित्र विजुवारमा आफ्नै प्रशासनिक भवनबाट कार्यालय संचालन गर्ने योजना रहेको समेत उनको भनाई छ । संघमा आवद्ध सदस्यको मृत्यु भएमा परिवारलाई राहत स्वरुप ५० हजार रुपैयाँ प्रदान गर्दै आइरहेको संघका कोषाध्यक्ष नविन कुमार श्रेष्ठले जानकारी गराए । आगामी वर्षदेखि संघमा आवद्ध सवै सदस्यहरुको बीमा गराउने नीति अघि सारेको उनले जनाए । साधारण सभाको अवसरमा संघले विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्ति एवं संघ संस्थाहरुलाई सम्मान गरेको छ ।