- पैंचोमा बढ्दै किसानको आकर्षण
- ३ सय युवालाई रोजगारी
- १२ हजार किसान लाभान्वित
गुल्मी : २०७१ साल भन्दा अगाडी छिमेकी–छिमेकीविच एैचो पैंचो चल्ने गर्दथ्यो । आवश्यकता अनुसार छिमेकीको बाट चामल लगायत खानाका सामग्री पैंचो चलाउने गरिन्थ्यो । छत्रकोट गाउँपालिका गुल्मीका रामकृष्ण कंडेलले पैंचो छिमेकीविच मात्रै गरिन्छ भन्ने बुझेका थिए । उनीमात्रै होईन प्रदेश सांसद कमलराज श्रेष्ठको बुझाई पनी त्यस्तै थियो ।
पुसको जाडो महिना । गाउँमा हल्ला चल्यो । पैंचो पसल खोल्ने । त्यो पनि तरकारी र फलफूलजन्य सामग्रीको । गाउँलले सोंचे । तरकारीको पनि पैंचो हुन्छर ? यो प्रश्न सवै मान्छेको मनमा आयो । पैंचो पसल प्राली का निर्देशक धुव्र न्यौपाने भन्छन् ‘प्रश्नको उत्तर दिएर कसैले पत्याउन सकेनन् ।’ ०७१ सालको पुस १५ मा गुल्मीको रुरुक्षेत्र गाउँपालिकास्थित बलेटक्सारमा पैंचो पसलको स्थापना गरियो । पैंचो खुलेपछि स्थानीयले घरमा उत्पादन भएको तरकारी लिएर नगद वा सामन लैजान शुरु गरे । त्यसपछि वल्ल थाहा भयो गाउँलेलाई तरकारीको पैंचो ।
शुरुवातीका दिनमा पैंचोले केही चुनौती भोग्नु परेको निर्देशक न्यौपानेले बताए । किसानको मन जितेर पैंचोलाई अगाडी बढाउन धेरै मेहनत गर्नुपरेको उनको अनुभव छ । स्थापना भएको ५ वर्षमा पैंचोको पहिचान देशभित्र मात्र नभई विदेशमा समेत राम्रै छ । गाउँमा उत्पादन भएका अर्गानिक तरकारी,अन्नपात र फलफुल किसानबाट किनेर शहरमा विक्री गर्ने काम पैंचोको पहिलो प्राथमिकता हो ।
किसानलाई तरकारी वापत नगद वा आवश्यकता अनुसारको सामन घरमै उपलब्ध गराउने गरेको न्यौपानेले जानकारी दिए । छत्रकोटका रामकृष्ण कडेलले शुरुमा पैंचोको विरोध गर्ने गथ्र्ये । तर विगत ४ वर्षदेखी उनी पैंचो प्रालीका सर्वोत्कृष्ट किसानको रुपमा पुरस्कृत भएको बताए । ‘पहिले पैंचोको विरोध गर्ने मै हो ।,’उनले भने,‘अहिले पैंचोलाई सवैभन्दा बढी तरकारी वेच्छु ।’ कंडेलले वार्षिक १० लाखको तरकारी पैंचोलाई बेच्ने गरेको बताए । पैंचोलाई तरकारी बेचेर मोटर साईकल चढ्ने किसानको नाममा उनी गाउँमा कहलिएका छन् ।
उनी जस्तै छत्रकोट–४ दिगामका ओम श्रेष्ठ पनि पैंचोका नियमित तरकारी कृषक हुन् । ५७ वर्षीय श्रेष्ठले पैंचोलाई वार्षिक १२ लाख बराबरको तरकारी बेचेर आम्दानी गरेको सुनाए । ‘यसरी घरबाटै तरकारी बेच्न पाईएला भनेर सोचेको थिएन,’उनी भन्छन्,‘तरकारी लिन पैंचो घरमै आउँछ ।’ किसानलाई सम्मान र पुरस्कृत गर्दे तरकारी किनिदिने पैंचोको कार्य उदाहरणीय रहेको प्रदेश सांसद कमलराज श्रेष्ठले बताए । पैंचोले नेपालको व्यापार घाटा घटाउन उल्लेख्य सहयोग पु¥याएको श्रेष्ठको भनाई छ ।पैंचोले गुन्दु्रक,सिस्नो र मकै कोदोको महत्व शहरमा मात्रै नभई विदेशमा समेत बढाएको सांसद श्रेष्ठले उल्लेख गरे ।
पहाडका गाउँमा के हुन्छर ? भन्ने सोंच अहिले पैंचोले चिरिदिएको छ । पहाडमा उत्पादित सामग्री सिधै नेपालका मुख्य शहरमा पुग्ने गरेको निर्देशक न्यौपाने बताउँछन् । १६ जनाको २ करोड लगानीमा स्थापना भएको पैंचो पसल हाल ३० करोडमा पुगेको छ । ४५ जना सेयर सदस्य रहेको न्यौपानेले जानकारी दिए । देशैभर पैंचोका ५७ वटा तरकारी संकलन केन्द्र रहेका छन् । यस वर्ष १० वटा नयाँ तरकारी संकलन केन्द्र थपिने पैंचो पसलले जनाएको छ ।
दुई वटा प्रशोधन केन्द्रबाट पैंचोले अचार,जुस र सस उत्पादन गरिरहेको छ । नौ वटा शाखाबाट पैंचोले विक्रि वितरणको कार्य अगाडी बढाएको जनाएको छ । हाल पैंचोमा तिन सय जना कर्मचारीले प्रत्यक्ष रोजगारी पाएका छन् भने मासिक १ करोड भन्दा बढी कर्मचारीको तलवमा खर्च हुने प्रालीले जनाएको छ । पैंचोबाट १२ हजार किसान प्रत्यक्ष लाभान्वित भएका छन् ।
नेपालमा प्रदेश नम्बर १ बाहेक अन्य सवै ठाउँमा पैंचोको सामग्री पुगेको निर्देशक न्यौपाने बताउँछन् ।‘प्रदेश नम्बर १ बाहेक अन्त पठाएका छौं’,उनले भने,‘यस वर्षबाट १ नम्बर प्रदेशमा पठाउने तयारीमा छौं ।’ उनका अनुसार विदेशमा वेलायतमा निरन्तर पैंचोको उत्पादन विक्री भैरहेको छ । पैंचोका अनुसार दिनप्रतिदन मकै र कोदोको माग बढेकोले माग धान्न नसकेको जनाएको छ ।
किसानको उत्पादनले पैंचोको मागलाई थेग्न नसकेको प्रालीका निर्देशक न्यौपानेले बताए । उनले पछिल्लो समय बसाईसराई र विदेश जाने प्रवृतीले उत्पादन माग अनुसारको नभएको उल्लेख गरे । क्यानाडा लगायतका देशमा आगामी दिनमा सामनको माग भैरहेको न्यौपानेले जानकारी दिए । हाल पैंचोले वार्षिक ५० करोडको कारोवार गर्ने गरेको प्रालीले जनाएको छ ।