केपी शर्मा ओली, प्रधानमन्त्री
पार्टीका अध्यक्ष कमरेड पुष्पकमल दाहाल‘प्रचण्ड’
अरु नेतागण र यहाँ उपस्थित हुनुभएका सम्पूर्ण साथीहरु !
सबैभन्दा पहिले त म यहाँहरु सबैलाई हार्दिक स्वागत तथा अभिवादन गर्न चाहन्छु ।
प्रेस संगठन नेपालको महत्वपूर्ण कार्यक्रम, सपथ ग्रहण लगायत आफ्नो संगठनको एकता, एकीकरण सम्पन्न गरेर तपाईंहरु काठमाडौंँमा आएको बेला मैले यहाँ आमन्त्रण गरेँ । यहाँहरु आउनु भयो । सबैलाई हार्दिक स्वागत गर्दछु ।
तपाईंहरुले महत्वपूर्ण काम गर्नुभएको छ । ठूलो सफलता हासिल गर्नुभएको छ । एकीकरणको काम टुङ्ग्याउनु भएको छ । यस्तो बेलामा म तपाईंहरुलाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु । र, तपाईँहरुको संगठन र व्यक्तिगत तवरमा पनि सबैको उत्तरोत्तर प्रगतिको निम्ति हार्दिक शुभकामना भन्न चाहन्छु । तपाईँहरुको संगठनको सफलता धेरै महत्वपूर्ण प्रश्न हो । यसको सफलताले देशका अरु विविध क्षेत्रको सफलतालाई प्रतिबिम्वित गर्छ र एक ढंगले बाटो पनि देखाउँछ ।
प्रेसलाई, संचार माध्यमलाई यसै पनि राज्यको चौथो अंग भनिन्छ अनौपचारिक रुपमा । तपाईँहरु सम्पूर्ण प्रगतिशील शक्तिहरु, व्यक्तिहरु एक ठाउँ जम्मा हुनुभएको छ र यो संगठन निर्माण गर्नुभएको छ । यो एउटा विचारमा केन्द्रित, विचारमा आधारित संगठनमा केन्द्रित एक गतिशील, अनुशासित र निर्दिष्ट गन्तव्यतर्फ उन्मूख संगठनको रुपमा परिचालित र क्रियाशील हुनुपर्छ । यस खालको क्रियाशीलताले संगठनलाई सफल बनाउँछ । तपाईंहरुले यसै हिसाबमा काम गरिरहनुभएको छ ।
विचारबिनाको संगठन खासमा संगठन हुँदैन, बजारजस्तो हुन्छ । बजारमा जम्मा भएका मान्छेहरु, मेलामा जम्मा भएका मान्छेहरु, विभिन्न उद्देश्यका, विभिन्न ठाउँबाट आएका, विभिन्न गन्तव्य भएका हुन्छन्, जसको एउटा उद्देश्य नै हुँदैन । विचार भनेको संगठनलाई बाँध्ने, माला बनाउँदा प्रयोग गरिने धागोजस्तो हो, जसले सबैलाई एउटा सूत्रमा बाँधेको हुन्छ ।
हामी आज एउटा विशेष संक्रमणको स्थितिमा छौं । हामीले संक्रमणकाल मूलतः टुङ्ग्यायौं, तैपनि संक्रमणकाल अझै छँदैछ । हामीले हाम्रो रिभोल्यूशन, हाम्रो क्रान्ति, हाम्रो सामाजिक परिवर्तनको यो बाटो समातेका छौँ । जनतालाई सचेत बनाउने, संगठित गर्ने र जनताको दबाबमूलक शक्तिबाट सामाजिक अग्रगमन र परिवर्तन ल्याउने, यो बाटो समातेका छौँ । यस बाटोबाट आज हामीले लगभग दुई तिहाइको अवस्थामा हाम्रो शक्तिलाई पु¥याएका छौँ ।
हामीले पार्टीलाई एकजुट बनाएका छौँ । छिटफुट केही साथीहरु आफ्नै कारणले कुनै केही वैचारिक कारणहरु छैनन्, केवल आफ्नै कारणले वैयक्तिक रुपमा बाहिर बस्नुभएको होला ! त्यस्ता केही ससाना समूहहरु होलान् । नत्रभने आम रुपमा वामपन्थी धार, कम्युनिष्ट आन्दोलन, प्रगतिशील शक्तिहरु, अग्रगामी शक्तिहरु आज यस आन्दोलनमा, यस अभियानमा र यस पार्टीमा संगठित र एकताबद्ध भएका छन् ।
मैले यो पार्टी मात्रै भनिनँ, यो आन्दोलन, यो अभियान र यो पार्टी भनेँ । यो पार्टी एउटा पार्टी मात्रै होइन, यो एउटा अभियान हो । यो पार्टी केवल पार्टी मात्रै छैन, यो एउटा आन्दोलन हो । यो सामाजिक परिवर्तनको र अग्रगामी परिवर्तनको सम्बाहक हो । यस स्थितिमा आज हामी उपस्थित छौँ ।
हामीले राजनीतिक रुपमा थुप्रै उपलब्धिहरु हासिल ग¥यौँ । हाम्रै जीवन कालमा निरंकुश निर्दलीय पञ्चायती व्यवस्था थियो । त्यसलाई हामीले ढाल्यौँ । निरंकुश राजतन्त्रात्मक प्रणाली थियो, त्यसलाई हामीले ढाल्यौँ । हामीले जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाएका छौँ । र, अब यस अवस्थामा हाम्रा अधिकारहरु, हाम्रा सबै व्यवस्थाहरु नेपालको संविधानले सुनिश्चिता गरेको छ–संघीय लोकतान्त्रिक गणतन्त्र हाम्रो बाटो हो भनेर निश्चित भएको छ ।
अब हामीले एकताबद्ध भएर सही बाटोमा र समृद्ध राष्ट्र निर्माणको दिशामा अगाडि बढ्नु छ । आजको आवश्यकता यो हो । हामीले ठूला सफलताहरु पाएका छौँ । खाली संविधान बनाउने, चुनाव गराउनेजस्ता कुरामा मात्र होइन । पहिचानको राजनीति भनेर जातजातमा लडाइदिने, भूगोल–भूगोलमा लडाइदिने, साम्प्रदायिक विद्वेषमा जनतालाई फसाइदिने, त्यस्ता प्रयासहरु भए । बबण्डर चल्यो । हामीले झण्डैझण्डै नेपाली भनेर बिर्सने, नेपाली भनेर हामीलाई बिर्साउने प्रयासहरु भए । पहिले म फलानो जात, त्यसपछि नेपाली भन्ने अवस्थामा पु¥याउन खोजियो । जातजातका बीचमा हिंसा, तराई र मधेस, पहाड र मधेस, हिमाल र पहाड अनेक प्रकारका कुराहरु गरिए । त्यस्ता कुराहरु उछालिए । धर्मका नाममा उछालिए । धर्मका नाममा, जातका नाममा, भाषाका नाममा, भूगोलका नाममा कसरी विभाजित गर्न सकिन्छ ? कसरी फुटाउन सकिन्छ ? ती सबै प्रयासहरु भए । एउटा राष्ट्रलाई ध्वस्त पार्नु छ भने त्यसको एकता ध्वस्त पारिदिनु पर्छ । चीनलाई सयौं वर्ष शताब्दीयौंँसम्म अफिमको नशामा डुबाइदिए । कतिवटा देशलाई शताब्दीयौँसम्म जातीय द्वन्द्वमा डुबाइदिए । हामीले रुवाण्डाको बारेमा सुनेका छौं, जो आज सबैभन्दा शान्तिपूर्ण र सबैभन्दा तीब्र विकासमा गइरहेको भन्ने रुपमा बुझिन्छ । त्यसलाई शताब्दीयौँसम्म हुतु र तुत्सी भनेर त्यहाँ लडाइदिए । मारामार, सधैँ मारामार र सधैँ मारामार चल्यो । कतिपय देशमा अरु विभिन्न जातका नाममा द्वन्द्व चलाइदिएको देख्न सकिन्छ । मुस्लिम र हिन्दुको बीचमा द्वन्द्व चलाउन खोजिन्छ ।
यस्ता अत्यन्तै खतरनाक प्रयासहरुलाई हामीले पराजित ग¥यौं । र, राष्ट्रिय एकता, सामाजिक सद्भाव, विविधतामा एकता र सामाजिक सद्भावमा आधारित राष्ट्रिय एकता–यस प्रयाश र भावले जित्यो । अनि, हामीले तदनुसार नै संविधान बनायौँ । तदनुसार नै हामी अगाडि बढ्दै छौँ । हामी राष्ट्रिय एकताका साथ अगाडि बढ्न सक्छौँ । अर्को राजनीतिभन्दा परका अराजनीतिक प्रवृत्तिहरु छन् । राजनीतिलाई बिस्थापित गर्ने, राजनीतिप्रति घृणा फैलाउने र अराजनीतिक प्रवृत्तिहरुलाई बढावा दिने त्यस्ता गलत प्रवृत्तिहरु छन् । त्यसखाले अराजनीतिक प्रवृत्तिले देशलाई फेरि भूमरीमा पारिदिन्छ । त्यस्ता प्रवृत्तिहरुलाई पनि हामीले पराजित ग¥यौं र जित्यौं ।
हामीले देशमा अलिकति बुझेर, अलिकति नबुझेर यस्तो प्रणाली ल्यायौं कि जसबाट कसैको बहुमत आउँदैन ! बहुमत नआएपछि स्थायित्व र स्थिरता हुँदैन । स्थायित्व र स्थिरता हुन नदिन नेपालमा हामीले हे¥यौँ भने २००७ सालयता कुनै सरकारले पाँच वर्ष कार्यकाल पूरा गर्न सकेनन् । बरु एउटै व्यक्ति पाँच पटक प्रधानमन्त्री भए, तर, एउटा सरकार कहिल्यै पाँच वर्ष टिक्न सकेन । २०१५ सालको निर्वाचनमा बहुमत आयो, २०४८ मा बहुमत आयो, २०५६ मा बहुमत आयो, तर बहुमत आए पनि ती कुनै सरकार पाँच बर्ष टिकेनन् । त्यस्तो किन भयो भन्दा अस्थिरताका शक्तिहरु बलवान रहे । अस्थिरता बनाइरहने, अस्थिरता बढाइरहने र प्रतिगमनमा खेलिरहने काम भयो । ती र त्यस्तै अस्थिरताका खेलहरुको लागि बहुमत नआउने प्रणाली चाहिन्छ । र, नेपालमा बहुमत नआउने प्रणाली एकढंगले भन्ने हो भने हामीले पनि बोक्यौँ । तर, त्यसलाई पनि पराजित गरेर हामीले बहुमत ल्याएका छौँ । यो साधारण कुरा होइन । र, यस्तो पार्टीले बहुमत ल्याएको छ, जबकि अन्तर्राष्ट्रिय रुपमा कम्युनिष्ट आन्दोलनले गंभीर धक्का खाएको छ, यस्तो बेलामा हामी कम्युनिष्ट पार्टीले बहुमत ल्याएका छौं । बहुमत पनि असाधारण खालको बहुमत ल्याएका छौँ । केन्द्रमा मात्रै होइन, प्रदेशमा र स्थानीय तहमा पनि हामीले बहुमत ल्याएका छौँ ।
अब यो कुरा, यो बहुमत, यो स्थिरता, यो स्थायित्व र यो अग्रगमन, यसलाई कायम रहन नदिने, यसलाई ध्वस्त पार्न, यसलाई बदनाम गर्न, यसप्रति भ्रम फिजाउन, यसप्रति जनतामा नकारात्मक भाव बढाउन अनेक प्रयासहरु देशभित्र र विदेशबाट भइरहेका छन् । प्रतिक्रियावादी शक्तिहरु यसमा बहुतै मेहेनतका साथ लागेका छन् । यसका निम्ति गोयबल्स पाराले भनेको भन्यै गर्ने, भनेको भन्यै गर्ने, जेमा पनि विरोध गर्ने, यस प्रकारको एउटा लहर चलाउन खोजेको पाइन्छ । यसलाई हामीले रोक्नुपर्ने छ र हामी स्थायित्वको पक्षमा दृढताका साथ उभिनुपरेको छ । स्थायित्वलाई जोगाउन सकिएन भने, स्थिरता कायम गर्न सकिएन र हामीले हासिल गरेका उपलब्धिहरु जनताको बीचमा पु¥याउन सकिएन भने फेरि तिनै शक्तिहरु र अस्थिरताका बाहक शक्तिहरु बलिया हुन्छन् ।
हामीले असाधारण उपलब्धि हासिल गरेका छौँ । इतिहासमा पहिले कहिल्यैभन्दा बढी राजनीतिक हिसाबले, सुशासनको हिसाबले, शान्ति सुव्यवस्थाको हिसाबले, आर्थिक उन्नतिको हिसाबले, आर्थिक योजनाको हिसाबले, समग्र उपलब्धिका हिसाबले अथवा सामाजिक सुप्रबन्ध, सामाजिक न्याय र समानता तर्फको हाम्रो प्रयासका हिसाबले, साँस्कृतिक जागरण र उत्थानका हिसाबले असाधारण प्रयासहरु गरिएको छ । पछाडि परेका समुदायलाई अगाडि बढाउनको लागि असाधारण प्रयासहरु गरिएको छ । यी सबै प्रयासहरुको चर्चा नगर्ने, यिनलाई ओझेलमा पार्ने र विभिन्न ढंगले भ्रम पैदा गर्ने प्रयासहरु भइरहेका छन् । यस्ता कुराहरुसँग हामी सजग हुनुपर्दछ । र, तपाईंहरु सजग हुनुहुन्छ भन्ने मैले विश्वास लिएको छु ।
हामी यो सानो लडाईं लडिरहेका छैनौँ । हामी शताब्दीयौंदेखि चलेको एउटा महान लडाईं लडिरहेका छौँ । र, अहिले नेपाली जनता यस लडाईंमा विजयी भएका छन् । यस विजयलाई सहन नसक्नेहरुले फेरि जनतालाई अलमल्याउने र भ्रमित पार्ने प्रयास भइरहेको छ । जनताको हातमा पैसा हुँदैन, जनताको हातमा धेरै चिज हुँदैन । अनि साधन स्रोत सम्पन्नहरुले त्यसको प्रयोग गरेर र खासगरी विभिन्न संचार माध्यमहरु, सामाजिक सञ्जाल प्रयोग गरेर, त्यसमा लगानी गरेर, त्यसमा मान्छेहरु खटाएर त्यसमार्फत उनीहरुले हमला गर्न खोज्छन् । सारा उपलब्धिहरुलाई ओझेल पार्ने र नभएका कुराहरुलाई उछाल्ने काम गर्न खोज्छन् । जनताले त सबै कुरा, तिनको अन्तरवस्तु र सबै पक्ष बुझ्न पाएका हँुदैनन् । त्यसकारण भ्रम फिँजाएपछि त्यसको असर जनतामा परिराखेको हुन्छ । त्यसकारण उनीहरुले भ्रम फिँजाउन्छन् । यस्ता रवैयाहरुप्रति हामीहरु सजग हुन जरुरी छ ।
अचेल म देख्छु, हरेक कुरामा यस्तो गरी हमला गरिरहेका हुन्छन्, यसै हिसाबले हमला गरिरहेका हुन्छन् । उदाहरणका लागि केही दिन अगाडि गोकर्ण रिर्सोटको लिज अवधि थपियो । यसरी थपियो, जसरी पहिले कहिल्यै थपिएको थिएन । पहिले हचुवाका भरमा मूल्य राख्ने, हचुवाका भरमा लिज दिने गरिएको थियो । कति रकममा लिज भन्दा हचुवाको भरमा तय गरिएको हुन्थ्यो । अहिले विभिन्न स्वतन्त्र संघसंस्थाहरुबाट मूल्याङ्कन गराएर, मूल्याङ्कनका विधिहरु तयार गरेर, त्यस विधिअन्तर्गत यति हुँदो रहेछ र यति मूल्यमा लिजमा दिनुपर्ने हुन्छ भनेर यथार्थमा आधारित भई मूल्य तय गरिएको छ । अर्को अवधि बाँकी रहदै किन दिइयो भन्ने प्रश्न गरेको पाइन्छ । अवधि बाँकी रहदै किन दिनुपर्छ भने सरकारले कि त्यसलाई नचलाउने भन्नुप¥यो कि अरु केही गर्नुप¥यो । जब कसैले लिज लिएको छ, उसले प्रगति गर्छु भन्छ, उसले आकर्षक ढंगले सरकारलाई कर तिर्छु भन्छ, लिज वापतको रकम राम्रो तिर्छु भन्छ, प्रतिस्पर्धामा जान्छु भन्छ भने त्यसले लिन नपाउने भन्ने कुरा हुदैंन । र, अहिले नै दिने काम भएन भने उसले निर्माण गर्न नै सक्दैन । बैंकबाट ऋण लिनुप¥यो, निर्माण गर्नुप¥यो, अनि संचालन गर्नु त प¥यो । बीस वर्षको लागि लिजमा लियो, दश वर्ष त निर्माण गर्न नै लाग्ने हुन्छ । त्यसकारण पहिलेको समय अवधि छँदै उसलाई लिज अवधि थपिदियो भने त्यो कुनै अुनचित कुरा हुदैंन । यस्ता कुरा अहिले ल्याएर अनेक विषय मिसाइएका छन्, जो गलत छन् ।
सगरमाथा आरक्षित क्षेत्रमा कसले के ग¥यो ? त्यहाँको जमिन म अध्ययन गर्दैछु । कुनै जमानामा उसले किनेर बनाएको, अहिलेको सरकारले गरेको होइन । अहिलेको सरकार बन्नुभन्दा धेरै पहिले त्यहाँ होटल खुलेका छन् । मैले आज कालिमाटी(ताहाचल)मा पनि जग्गा लिजमा लियो भन्ने समाचार पढें । कतिपय यस्ता उदाहरण छन् । चुनाव हारिसक्यो, काम चलाऊ सरकार छ । त्यस्तो बेलामा ठूलाठूला कारोबार हुने गरेका, लिजमा लगाउने, किन्ने, इजाजत र लाइसेन्स दिने तिनै तत्वहरु हुन्, जसले अनैतिक ढंगले त्यस्ता कतिपय निर्णय गरेका छन् । जब सरकार अल्पमतमा परिसक्यो, उनीहरु नै अर्को सरकार बन्न नदिएर जालझेल गरिराखेका छन्, त्यस्तो बेलामा नैतिक रुपमा त कुनै निर्णय गर्न मिल्दैनथ्यो । झन् आर्थिक लेनदेनका, कारोबारका त्यस्ता कुराहरु त गर्नै मिल्दैनथ्यो । उनीहरुले त्यस्ता कामहरु गरेका छन् । अहिले तिनै तत्वहरु यो सरकारले लिजमा दियो भन्ने होहल्ला गरिरहेका छन् ।
जनतालाई त सबै कुरा थाहा हुँदैन, कुन मितिमा दिएको हो भन्ने कुराको तिथिमिति संझना हुँदैन । कुन मितिमा दिएको कुरा अहिले ल्याएर जोड्दै कालिमाटीको पनि सस्तोमा दिइयो भनेर प्रचार गरिएको छ । त्यो दियो कसले ? तथ्यचाहिं लेख्दैनन् । अहिलेको सरकारले त्यस्तो गर्दैन । अहिलेको सरकार कमिशनखोरको सरकार होइन । अहिलेको सरकारले मौका हेरेर त्यस्ता कामहरु गर्दैन । त्यसकारण विगतमा कसले के ग¥यो ? ठीकसँग छानबिन गरौँ । कसले कसरी लिजमा दिएको छ ? छानबिन गरौंँ । अरु विभिन्न ठाउँका लिजहरु कसरी दिइएका छन् ? छानबिन गरौँ । नारायणहिटी दरबार अगाडि घर बनाएको कसले दिएर हो ? त्यो पनि छानबिन गरौँ । कसको समयमा लिजमा दिइयो ? त्यसलाई छोप्ने, अनि भ्रम छर्ने र विकास निर्माणमा कुनै काम हुन नदिने ? जुन काम हुँदा पनि त्यसमा विवाद खडा गर्ने ? वास्तवमा उनीहरु अहिले लिएको अग्रगमनको बाटोसँग र अहिले भइरहेको विकाससँग आत्तिएका छन् । अनि, यस्ता गलत क्रियाकलाप गरिरहेका छन् ।
अहिले असाधारण ढंगले नयाँनयाँ कामहरु भएका छन् । नयाँनयाँ सोचहरु कार्यान्वयन भएका छन् । आजै कान्तिपुर दैनिकले छापेको छ, ६ वर्षभित्र काठमाडौं–पोखरा–लुम्बिनी रेल बनिसक्ने र ७ खर्बको लगानी हुने भयो । त्यसको सर्भे भइसक्यो । यसले गर्दा मान्छेहरुको मन पोल्ने काम भएको छ । यो काम भयो भनेदेखि त यो सरकारले देशलाई यसरी अगाडि बढायो भन्ने जस पो पाउने भयो भनेर तिनीहरुलाई भित्रभित्रै पोलिरहेको छ र असैह्य रुपमा छटपटी भइरहेको छ ।
मैले नदीको बाटोबाट पनि हामी आवागमन गर्न सक्छौं भनेँ, तयसो भनेपछि खुबै उडाए । हामी समुन्द्रमा जहाज चलाउन सक्छौँ भनेँ, निकै उडाए । कति दयनीय अवस्था छ विरोधीहरुको ? कति दयनीय अवस्था ! पानीमा जहाज चल्छ भन्ने कुरा पनि थाहा पाएका छैनन् । नदीमा स्टिमर चल्छ, जहाज चल्छ भन्ने कुरासम्म त थाहा पाउनु पर्छ नि ! हाम्रा युवाहरुले कोशीमा आफ्नै तर्फबाट स्टिमर बनाएर चलाएका छन् । त्यसबाट प्रेरित भएर अहिले गण्डकी र नारायणीमा परीक्षण गरिरहेका छन् । एकथरी मानिसहरु कागजको डुंगा बाल्टिनमा हालेर मजाक उडाउँदै थिए, अर्कोथरी पौरखी र सिर्जनशील युवाहरुले जहाज बनाएरै चलाए । फरक त्यहाँनेर छ । यस्तो फरक व्यवहारमा देखिन्छ ।
हामी ट्रक लिएर कोलकातासम्म जानुपर्दथ्यो । त्यहाँबाट डेढसय किलोमिटरसम्म यता हामीले लिइसक्यौं । अब गंगा नदीबाट हामीले त्यो सामान ल्याउन सक्छौँ र अब हाम्रो सामान कोशीसम्मै आइपुग्न सक्छ । केही समयपछि हाम्रो सामान गण्डकीमा आइपुग्छ । यी कुराहरु देख्न सक्नेले मात्रै देख्छन्, देख्न नसक्नेहरुलाई त मजाकको विषय नै हुन्छन् । यस्ता मजाकहरु अलिक पछि यथार्थमा परिणत भएपछि तिनीहरु आश्चर्यचकित हुन्छन् ।
अहिले काममा प्रगति एकदम रफ्तारले भइरहेको छ, गति बढेको छ । हामी अब छिट्टै खानीबाट फलाम निकाल्दै छौँ । तेल खानीको हामी सर्भे भइरहेको छ । म विश्वस्त छु, त्यहाँबाट तेल निकाल्न सकिन्छ । अरु खानीहरु पनि हामी निकाल्दै छौँ । हामी सिमेन्टका उद्योगहरुबाट आफूले प्रयोग गर्ने मात्रै होइन, सिमेन्ट निर्यात गर्ने स्थितिमा पुग्दैछौँ । आफ्नै खानीबाट फलाम निकालेपछि बाहिरबाट फलाम ल्याउनेभन्दा हामी निर्यात गर्नसक्ने अवस्थामा हुनेछौँ र त्यसबाट हामी अटोमोबाइल्स् आदिका फ्याक्टी«हरु, विभिन्न प्रकारका कारखानाहरु, निर्माण सामग्रीहरु आफ्नै देशमा उत्पादन गर्न सक्नेछौँ । जसले गर्दा व्यापारमा हाम्रो जुन असमानता र घाटा छ, त्यसलाई बिस्तारै पूरा गरेर सन्तुलन कायम गर्न सक्नेछौं । हामी कृषिमा आधुनिकीकरण गर्दैछौँ । हामी सामाजिक उत्तरदायित्वको क्षेत्रमा कोही बालबालिका स्कूल बाहिर नरहून्, त्यसको लागि ठोस प्रयास गर्दैछौँ । हामीले ज्येष्ठ नागरिकहरुका लागि एक लाख रकमको स्वास्थ्य बीमा कार्यक्रम संचालन गरेका छौँ । हरेक नागरिकको अनिवार्य बैंक खाता अभियान सञ्चालन गरेका छौँ ।
अहिले यस्तो जाडो छ । यस जाडोले कठ्याङ्ग्रिएर बस्नुपर्ने हुँदा हामीले कम्मल, ज्याकेटआदि वितरणको प्रबन्ध गरेका छौँ, जिल्ला जिल्लामा आवश्यकताअनुसार वितरणको प्रबन्ध मिलाइएको छ । गत वर्षबाटै मैले पहिले नै तयारी गर्न र कोही पनि जाडोले कठ्याङग्रिएर मर्न नपरोस् भनेर स्थानीय प्रशासनलाई त्यसमा ध्यान दिन, संघसंस्थाहरुलाई त्यसमा ध्यान दिन र त्यसको यथोचितप्रबन्ध गर्न भनेको छु । गत वर्ष पहिलो पटक कोही कसैले पनि जाडोबाट कठ्याङग्रिएर मर्नु परेन ।
हामीले सडक मानवमुक्त र सडकमा मान्छे रहन नदिने नीति कार्यान्वयनमा ल्यायौं । कोही पनि बेहाल र बेसहारा भएर सडकमा भौतारिनुपर्ने र जाडोमा कठ्याङ्ग्रिएर मर्ने, भोकै परेर, तड्पिएर मर्ने स्थिति हुँदैन । एउटा मान्छे, एउटा नागरिकलाई त्यस हालतमा पुग्न अहिलेको सरकारले दिदैंन । किनभने यो जनताको सरकार हो । यो गरिब, निमुखा र दीनदुःखीहरुको सरकार हो । त्यसकारण मैले भनेँ, नेपालमा कोही भोकै पर्दैन, कोही भोकले मर्दैन, यो यत्तिकै भनिएको होइन । यसका निम्ति केही बजेट खर्च गर्नुपर्ला, तर नेपालमा कोही भोकै मर्दैन, कोही भोकै पर्दैन ।
बेरोजगारीको जहाँसम्म कुरा छ, हाम्रो बेरोजगारी अलिकति सक्कली र अलिकति नक्कली हो । धेरैचाहिँ नक्कली छ । खेतबारी बाँझै छन् । त्यहाँ बाली लगायो भने निर्यात गरेर हामीले पैसा कमाउनसमेत सक्छौँ । हाम्रा युवाहरुलाई त्यो बाटो नदेखाएर खेतबारी बाँझो छाडेर उनीहरु भेडा चराउन अरब पुगेका छन् । यहाँ हामीले उनीहरुलाई सही बाटो र वातावरण दियौँ भने आकर्षक कमाई यहीँ हुन्छ, राम्रो आम्दानी यहीँ हुन्छ ।
मलाई अस्ति एकजना साथीले भन्दै थिए– उनले मेवाको खेती सुरु गरेका छन् । त्यसमा यति आकर्षक आम्दानी छ कि त्यस्तो खेती अरुले पनि गर्न सक्छन् नि ! हामीले आफ्नो भएको चिजको सदुपयोग गर्न नसक्ने ? हामीले आफ्नो स्रोत, आफ्नो साधन, प्राकृतिक स्रोत र मानवीय स्रोत मिसाउनु प¥यो नि ! त्यसलाई हामीले उत्पादन कार्यमा चलाउनु प¥यो नि ! त्यसो गर्न नसक्ने अनि विदेश पलायन हुने ? यस खालको स्थिति छ । यसमा हामीले सही ढंगले उत्प्रेरित गर्नुपर्ने खाँचो छ । यस्ता सबै कामहरुमा तपाईं संचारकर्मीहरुको, तपाईँहरु सबैको असाधारण भूमिका र योगदान हुन्छ ।
अहिले माहोल यस्तो बनेको छ, सही कुराको समर्थन ग¥यो भने अप्ठ्यारो मान्नुपर्ने ? सही कुरा भन्न गाह्रो मान्नुपर्ने ? सही कुरा पनि बोल्न हुन्छ र जस्तो गर्ने ? भ्रम फिजाउन हुने, हल्ला गर्न हुने, नचाहिने कुरा गर्न हुने, तर सही कुरा गर्न, सरकारले यो राम्रो काम ग¥यो भनेर भन्न वरिपरी हेर्नुपर्ने ? के हो, तँ त सरकारको समर्थन गरेर बोल्न पो थालिस् भनेर भन्ने ?
सरकार देश बनाउँछु भनिराखेको छ । सरकारले असाधारण सही नीति र दृष्टिकोण लिएको छ । दुनियाँमा कम्युनिष्ट आन्दोलन सिद्धिरहेका बेला नेपालमा कम्युनिष्ट आन्दोलन यति मजबुत भएको छ, लगभग दुई तिहाइको सरकार क्रियाशील छ । अनि यस्तो बेला केही मान्छेहरु विरोधका लागि विरोध मात्र गर्छन् र गरिरहेका छन् । किन होला ?
नेपालको कम्युनिष्ट आन्दोलन दुनियाँका लागि दृष्टान्त भएको छ । हामीले सम्पन्न गरेको एकता दृष्टान्त भएको छ । एकीकरण दृष्टान्त भएको छ र सफलता दृष्टान्त भएको छ । यसले सामाजिक न्याय र समानताको क्षेत्रमा गरेका कामहरु, महिलाहरुको, पछाडि परेका समुदायको र अरु समुदायको उत्थानका लागि गरेका कामहरु, मजदुरका समस्याको समाधानका सन्दर्भमा गरेका कामहरु विश्वकै लागि दृष्टान्त भएका छन् । तर हाम्रैले, हाम्रै केही मान्छेहरुले व्यक्तिगत आग्रह, व्यक्तिगत पूर्वाग्रह, व्यक्तिगत कुण्ठा र विभिन्न कुराले यो देख्न सकिरहेका छैनन् । तिनीहरु सबै समाप्त भयो, खत्तम भयोजस्तो पो भन्छन्, बोल्छन् र कोलाहल मच्चाइरहेका देखिन्छन् । तिनीहरुका बोली र व्यवहारमा आलोचना र विरोधबाहेक केही छैन ! पार्टीमा रहेर पार्टीको समर्थनमा बोल्न नसक्ने, पार्टीको सरकार यति सफलताका साथ अगाडि बढेको छ, यसको समर्थनमा बोल्न नसक्ने, विरोधमा मात्रै बोल्ने, यस प्रकारको कुण्ठाग्रस्त त कोही हुनुहुँदैन । यस्तो कुण्ठा प्रदर्शनले कसैलाई पनि कुनै सफलतामा पु¥याउँदैन । कसैको प्रतिष्ठा माथि उठ्दैन ।
म सबैलाई आग्रह गर्न चाहन्छु, कसैले कुनै पनि खालको कुण्ठा पाल्नु हुँदैन । हामी फराकिलो मनका साथ राष्ट्र निर्माणको, विकासको र समृद्धिको अभियानमा जुटेका छौँ । समृद्ध नेपाल, सुखी नेपाली हाम्रो यस राष्ट्रिय आकांक्षालाई सिगों विश्वले प्रशंसा गरेको छ । चिनियाँ नेता होउन् वा भारतीय नेता, यूरोपेली नेता होउन् वा अन्य देशका नेता, जुनसुकै देशका नेताहरुसँग भेट हुँदा समृद्ध नेपाल, सुखी नेपालीको तपाईँहरुको लक्ष्य एकदमै सही छ, तपाईँहरुको गन्तव्य सही छ । तपाईँहरुले यसमा कति राम्रो सन्तुलन र संयोजन कायम गर्नुभएको छ भन्छन् । हामी ती लक्ष्य प्राप्त गर्न, ती उद्देश्य प्राप्त गर्न लागिपरेका छौं । यत्तिकै उद्देश्यको गीत मात्रै गाइराखेका छैनौँ । ती उद्देश्य कसरी प्राप्त हुन सक्छन् ? ती प्राप्त गर्ने बाटोहरु, ती प्राप्त गर्ने विधिहरु के हुन सक्छन् ? कस्तो विधि र कस्ता कार्यक्रमहरुका साथ अघि बढेर प्राप्त गर्न सकिन्छ ? हामी त्यसो गरिरहेकाछौँ । त्यसकारण म तपाईँहरुबाट राष्ट्रले ठूलो अपेक्षा गरेको कुरा यहाँ विशेष जोड दिएर भन्न चाहन्छु । तपाईहरुबाट राष्ट्रले गरेको यो अपेक्षा साधारण छैन । तपाईँहरु आ–आफ्नो ठाउँका योद्धाहरु हुनुहुन्छ, तपाईंहरुले देशका लागि लड्नैपर्छ । देशका लागि लड्ने भनेको सामाजिक सद्भावका साथ राष्ट्रिय एकताका लागि लड्नुपर्छ । एकताबद्ध प्रयासबाट देश बनाउनका लागि लड्नुपर्छ । एकता विरोधी विचार, व्यवहार र अनुचित क्रियाकलापका विरुद्ध लड्नुपर्छ । अनेकता र फाटोका विरुद्ध लड्नुपर्छ । अनुशासनहीनता र अराजकताका विरुद्ध लड्नु पर्छ । अनुचित तथा बेठीक कुराहरु र भ्रम फैलाउने प्रवृत्तिहरुका बिरुद्ध लड्नुपर्छ । र, सही कुराहरु स्थापित गर्न तपाईँहरुले लड्नु नै पर्छ । तपाईँहरुका विचारहरु, तपाईँहरुका कलमहरु, कम्प्युटरहरु र हातहरु यसरी चल्नुपर्छ ।
तपाईँहरु आज एकताबद्ध भएर, एक ठाउँमा आएर र एउटा एकताबद्ध संगठन निर्माण गरेर अगाडि बढ्नुभएको छ । यो लामो समयदेखिको इच्छा थियो । नेपाल कम्युनिष्ट पार्टी एउटा कम्युनिष्ट पार्टी बनेको छ । जुनसुकै कुरा पनि पहिले सानोबाट सुरु हुन्छ । बिरुवा सानै हुन्छ, तर त्यो झाङ्गिँदै गएर ठूलो बृक्ष हुन्छ । झाङ्गिँदै जाँदा त्यसका हाँगा भाँचिने र त्यो फुट्दै जाने, फाट्दै जाने, विनाश हुँदै जाने हुनुहँुदैन । झाङ्गिँदै जाँदा एउटा मजबुत बृक्ष, सग्लो बृक्ष हुनुपर्छ । बीचमा टुटफुट भयो, हाँगाहरु लछारिए, चुडिए र भाँच्चिए पनि । तर अब यो एउटा विशाल बृक्ष बनेको छ ।
हामीले फेरि आन्दोलनलाई जोडेका छौँ । हाँगाहरु सबै एक ठाउँमा भएका छन् । त्यसैको प्रतिफलस्वरुप संचार क्षेत्रमा पनि एउटा एकताबद्ध बृक्ष बनेको छ । यसलाई सुदृढ गर्नु, जोगाउनु र अघि बढाउनु पर्दछ । हिजो को कुन मुहान र स्रोत कताबाट आएको हो भन्ने अब भ्रमपूर्ण कुराहरु हुन् । कम्युनिष्ट पार्टी एउटै हो । एउटा कम्युनिष्ट पार्टीबाट उद्गम भएर हामी एउटै कम्युनिष्ट पार्टीमा यहाँ आएका हौँ । बीचमा फाटेको कुरा र अलगअलग अस्तित्वलाई महत्व दिएर म त फलानो समूहबाट आएको, म त अर्को समूहबाट आएकोजस्ता कुरा गर्नु आवश्यक छैन । त्यसो भनिरहन जरुरी छैन । त्यो त बीचमा फाटेको कुरा मात्र हो । त्यसलाई अब महत्व दिनु हुँदैन । हामी एउटा पार्टीका कार्यकर्ता हौँ । सुरुमा पनि नेपाल कम्युनिष्ट पार्टी एउटा पार्टी थियो, आज पनि हाम्रो प्रयाशले एउटा पार्टी नै भएको छ ।
पुष्पलालले निर्माण गर्दा यो एउटा पार्टी नै थियो, आज हामीले संचालन गरिरहेका बेला पनि फेरि एउटै पार्टी भएको छ । यो समयको माग थियो, देशको माग थियो, देश विकासका निम्ति ज्वलन्त आवश्यकता थियो र यो एकता हामीले हासिल गरेका छौँ । यसको महत्वलाई हामीले बुझ्नु प¥यो । कसैलाई कोही मान्छे मन पर्दैन होला, के कारणले मन पर्दैन ? त्यो त मलाई थाहा छैन । मैले भन्ने गरेको छु, कुनै कमीहरु देख्नुहुन्छ भने भन्नुहोस् । आनीबानीमा कुनै कमी देख्नुहुन्छ भने भन्नुहोस् । व्यवहारमा कमी देख्नुहुन्छ भने भन्नुहोस् । क्रियाकलापमा कमी देख्नुहुन्छ भने भन्नुहोस् ।
तर नीतिहरुमा हामीले ठीक ढंगले देशलाई हाँकेका छौँ । प्रतिक्रियावादी शक्तिहरुलाई पराजित गरेका छौँ । सफल ढंगले नेतृत्व गरेका छौँ । अनि फेरि विरोध नै गर्नुपर्ने कारण के आइलाग्यो ? प्रतिक्रियावादीलाई पराजित गरिएको छ, राजतन्त्रलाई फालिएको छ । संविधान बन्न दिन्न भन्दा पनि बनाइएको छ । नाकाबन्दी हुँदा नझुकेर हटाइएको छ । एउटा देशबाट वेष्ठित अवस्थालाई अर्को देशतिर पनि अनेक बाटाहरु खोल्ने काम गरेर भूजडित बनाइएको छ, त्यसढंगले नाकाहरु खोलिएको छ, ट्रान्जिट, ट्रान्सपोर्ट एग्रिमेन्टहरु गरिएको छ, बाटाहरु बन्दैछन् । सबैतिर विकास हुँदैछ । ग्यास र पेट्रोलियमका पाइपहरु हामीले बिछ्याउन सुरु गरेर उद्घाटन पनि गरिसक्यौँ । यस्ता थुप्रै कामहरु हामी गरेका ग¥यै छौँ । पूर्व–पश्चिम रेल पनि चलाउँदै छौँ । अनि ठूलाठूला कामहरु हुँदैछन् र सुधारका ठूला कामहरु हामी गर्दैछौँ । अनि विरोध नै गर्नुपर्ने कारण के हो ? विरोधको कारण त गलत नीति हुनुपर्ने, गलत व्यवहार हुनुपर्ने, असफलता हुनुपर्ने र आन्दोलनलाई कमजोर पारेको पो हुनुपर्ने ? आन्दोलनलाई मजबूत बनाइएको छ । हामीले विरोधीहरुलाई बाहिर निस्कँदा हेर्नै नसक्नेगरी पार्टीलाई मजबुत स्थिति बनाएका छौं । हरेक क्षेत्रमा सफल भएका छौं । फेरि किन विरोध गर्नुपर्ने ? विरोधीले त गर्छन् नै, विरोधीको त काम नै त्यही हो, गर्छन् । तर आफ्नै पार्टीका नेताहरुको विरोध किन र के का लागि हो ?
मैले भन्ने गरेको थिएँ, अब बिस्तारै विरोधीहरुका सटर बन्द हुँदै जान्छन् । प्रदेश नम्बर दुईबाट राष्ट्रिय सभामा हाम्रो एक सिट पनि थिएन । त्यहाँ हाम्रो सिटमा कुनै नोक्सान पनि भएको थिएन । तर, हामीले दुईवटा सिट आफूले लिने र दुईवटा राजपालाई दिने गरी दुईवटा सिट लाभ हुने शर्तमा सहमति ग¥यौँ ।
अनि विरोध गर्ने एकथरीको रोइकराइ उधुमसँग भयो, बालुवाटारबाट धुँवाको कालो मुस्लो निस्कियो ! दुईवटा सिट सित्तै पार्टीमा थपिने गरी सहमति पो भयो र बरबाद भयो भन्दै अचम्मको कविता लेखियो, कविहरु पनि नयाँनयाँ ...पो निस्किए (हाँसो) ! वास्तवमा यस्तो निराधार विरोध, जेमा पनि विरोध, तर्कहीन विरोध किन ? तथ्यका आधारमा र तर्कका आधारमा आलोचना र विरोध गर्नुपर्छ । यस्तो त हुनुहुँदैन ।
हामी एउटा डुङ्गामा चढेका छौँ र एउटा गन्तव्यतर्फ हिडेका छौँ । कसैले डुङ्गामा प्वाल पार्दै जाने हो भने एउटा व्यक्ति मात्रै डुब्दैन, सबै डुब्छन् । तर म भन्न चाहन्छु, जसले प्वाल पार्न खोजेपनि यो डुङ्गा प्वाल पार्न दिईंदैनँ । जसले यो डुङ्गा डुबाउन खोजे पनि यसलाई डुबाउन दिईंदैनँ । जसले यस डुङ्गालाई उल्ट्याउन खोजे पनि उल्ट्याउन दिईंदैनँ । जसले यस डुङ्गालाई बीचमै डुबाउन खोजे पनि डुबाउन दिईंदैनँ । यो डुङ्गा हाम्रो ७० वर्ष लामो अनुभवबाट बनेको छ, सात दशकका अनुभवहरु बोकेर खियाइएको र चलाइएको डुङ्गा हो । यो डुङ्गा कुनै भवितव्यले बनेको होइन । यसो पानीमा पात तैरेको हुन्छ नि, त्यस्तो पनि होइन यो । यो वास्तवमा धेरै मेहेनतका साथ, धेरै ठूलो बलिदानले, बलिदानीपूर्ण सङ्घर्षले, सङ्घर्षका अनुभवहरुले, अनेकन् उतारचढावहरुले, कथाव्यथा, आँशुपीडा सबैका समर्पण र सबैका आशिर्वादले बनाइएको डुङ्गा हो, यसलाई डुब्न दिईंदैनँ । त्यसैकारण हामीले पृथक प्रबन्ध गरेका हौँ र हाम्रो पार्टीको अठोट यो छ कि हाम्रो यो सफलता र आजको सफलता भनेको सफलताको शिखर होइन, सफलताको सुरुवात हो । हामी समाजवाद निर्माण गर्नेतर्फ अगाडि बढ्दैछौँ । समाजवादका आधारहरु तयार गर्दैछौँ । जनताको जनवाद कार्यान्वयन गर्दै हामी अगाडि बढ्छौँ र समाजवादका आधारहरु बनाउँछौँ । समृद्ध नेपाल, सामाजिक न्यायसहितको समृद्धि, त्यसैकारण हामीले भनेका हौं–सुखी नेपाली । समृद्धिले मात्र सुख हुँदैन । सुख हुनका लागि साथसाथै अरु थुप्रै कुराहरु हुनुपर्दछ । ती सबै कुराहरुको प्रबन्ध पनि हामीले गर्छौँ ।
हामी यही राष्ट्रिय आकांक्षा हासिल गर्न अघि बढिरहेका छौं । यसमा तपाईँहरु सबै साथसाथै अघि बढ्नुहोस भन्ने आग्रह गर्न चाहन्छु । सबैलाई धेरै धेरै धन्यवाद !
(प्रेस संगठन नेपालको राष्ट्रिय भेला तथा सपथग्रहण समारोह (१२ पुस २०७६, बालुवाटार, काठमाडौं)मा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको संबोधनको पूर्ण पाठ)