धनगढी : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले धनगढी पुगेर आफ्नै पार्टी नेकपाका नेता भिम रावलप्रति व्यंग्य गरेका छन्।
मन्त्री बाँस्कोटाले सुदूरपश्चिम प्रदेशको समृद्धिको बाधक छाउपडी प्रथा रहेको प्रसँग उल्लेख गर्दै नेता रावल प्रति कटाक्ष गर्दै भने, ‘चर्चित नेताहरु यसै प्रदेशमा छन, त्यसैमा पनि अछाममा यहि छाउपडी प्रथा छ अनि किन ठूला कुरा गर्ने ?’ ‘मानविय सूचांकको हिसाबले हेर्नुहुन्छ भने सुदूरपश्चिमका बाजुरा, बझाङ र अछाम… अछाम जिल्ला चर्चित नेताहरु भएको जिल्ला मानविय सूंचाकको हिसाबले सबभन्दा पछाडि किन ?’ उनले भने –‘मैले व्यक्तिगत लाल्छना लगाएको हैन, तर मेरो सुझाव छ हामी के गरेर बसेका छौ र के गर्नुपर्ने हो।’
सुदूरपश्चिम प्रदेशमा ८ पठक सम्म देशको नेतृत्व गरेका नेताहरु रहेको र दोस्रो तहमा बसेर मुलु्कको सत्तामा पुगेका पनि थुप्रै नेताहरु रहँदा पनि उनीहरुले सामाजिक कुप्रथा बिरुद्ध आवाज नउठाउनु दुखद भएको बताए। राजनीतिक नेतृत्वले सामाजिक मुद्धा पनि उठाउनु पर्ने मन्त्री बाँस्कोटाको भनाई छ। ‘आफ्नै घर आँगनमा बिशिष्ट खालको समस्या छ, त्यसलाई समाधान गर्न चासो दिएको देखिदैन’–मन्त्री बाँस्कोटाले भने-‘राष्ट्र र अन्तराष्ट्रिय स्तरमा खोकेर केही हुने वाला छैन।’
मन्त्री बाँस्कोटाले सुदूरपश्चिम प्रदेशले खप्तडलाई अन्तराष्ट्रिय स्तरमा पर्यटन उत्पादनका रुपमा बेच्न सक्ने अवस्था रहेको बताए। उनले प्रदेशले बेच्न सक्ने सबै बस्तु तथा सेवाहरुको बजारीकरणमा प्रदेश सरकारले ध्यान दिनुपर्ने बताए। जनताको पछौटेपनका कारण मुलुकमा लामो समय तानाशाहका सत्ताहरु चलेको बताउँदै मन्त्री बाँस्कोटाले सुदूरपश्चिममा पनि महिलाहरुको स्वतन्त्रतामा ठेस पुग्ने खालको छाउपडी प्रथा रहेकोले त्यसलाई हटाउन नसक्दा सम्म सामाजिक विकास सम्भव नहुने बताए।
छाउपडी प्रथा सुदूपश्चिमको कलंकको रुपमा रहेको भन्दै उनले चर्चित नेता भएको जिल्ला मानविय सुचांकअनुसार पछाडी परेको प्रति आश्चर्य चकित रहेको बताए। मन्त्री बाँस्कोटाले सुदूपश्चिमबाट गएका नेताहरुले अवसर पाएपनि खासै परिवर्तन नभएको बताए। ‘लोकेन्दबहादुर चन्द र शेरबहादुर देउवा पनि त ४-४ पटक प्रधानमन्त्री हुनुभयो, जम्मा ८ पल्ट’ उनले भने-‘झापाबाट अन्तिममा भएका हुन, इतिहास हेर्ने हो भने कांग्रेसबाट विराटनगर र यतैबाट प्रधानमन्त्री भएका देखिन्छन् नि।’