- झिमरुक क्षेत्रका सर्वसाधरण उत्साहित
- खोला तर्ने क्रममा ८ जनाले अकालमै ज्यान गुमाइसके
झिमरुक (प्यूठान) : चार वर्षदेखि अलपत्र अवस्थामा रहेको झिमरुक गाउँपालिका ५ स्थित ढाँड–स्यालीघारी पक्कीपुल निर्माण पूनः शुचारु भएको छ । पुल निर्माण कार्य शुचारु भएपछि यस क्षेत्रका स्थानीय हर्षित भएका छन् । निर्माण स्थलमा खोला वारीपारी दुईवटा पिलर उठाएर पुल अलपत्र परेको थियो । बीचका तीन वटा पिलर निर्माण गर्दा पिलरको जगमा दलदल सहितको माटो भेटिएपछि निर्माण व्यवसायीले काम रोकेका थिए । ६ मिटर गहिराइको पिलर निर्माण गर्ने क्रममा ४ देखि ५ मिटरकै बीचमा दलदल सहितको माटो भेटिएपछि काम रोक्नु परेको निर्माण व्यवसायी बालाजु श्रेष्ठले जानकारी गराए । निलगिरी÷आँशु जेभी निर्माण सेवा काठमाण्डौँले निर्माणको जिम्मा लिएको छ । ‘यसै सातादेखि काम थालिएको छ’,श्रेष्ठले भने,‘पुरानै डिजाईन स्टिमेटमा सामान्य फेरवदल भएपछि काम थालेका हौँ ।’
२०७२ असोज २७ गते पुल निर्माणको सम्झौता भएको थियो । यसबीचमा चार जना कार्यालय प्रमुख फेरिएपनि कामले निरन्तरता पाउन सकेको थिएन् । अलपत्र पुललाई शुचारु गर्नका लागि धेरै पहल गर्नुपरेको पूर्वाधार विकास कार्यालय प्यूठानका निमित्त कार्यालय प्रमुख नविन श्रेष्ठले जानकारी गराए । ‘ढाँड स्यालीघारी पुल कार्यालयकै प्रतिष्ठाको विषय बनेको थियो’,उनले भने,‘यसपाली काम पूनः शुचारु गर्न सफल भएका छौँ । सवैको साथले मात्र पुल बन्ने आशा गरिएको छ ।’ पुलको ८० प्रतिशत काम अझै बाँकी रहेको उनले बताए । २०७६ भदौमा प्रदेश ५ भौतिक पूर्वाधार विकास मन्त्रालयमा मन्त्री स्तरीय बैठकबाट रोकिएको पुल शुचारु गर्ने सहमती भएको उनले जानकारी गराए । पुल निर्माणका लागि भ्याट सहित ४ करोड २२ लाख ८० हजार रुपैयाँ बजेट विनियोजन भएको निमित्त कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिए । उनका अनुसार एक सय मिटर लामो मोटरेबल पुल बन्नेछ । पूनः गरिएको माटो परिक्षणले सामान्य फेरवदल बाहेक पुरानै डिजाईन स्टिमेटमा काम थाल्न सकिने प्रतिवेदन निकालेको उनले बताए ।
बीचका तीन वटा पिलर ६ मिटरको गहिराईमा निर्माण गर्नुपर्ने शुरुको डिजाइन स्टिमेटमा छ । तर नयाँ डिजाइनमा एक मिटरसम्म ढुंगा राखेर मात्र पिलर निर्माण गर्ने उल्लेख गरिएको छ । पूनः डिजाईनपछि निर्माण व्यवसायीले काम थालेका हुन् । थपिएको म्याद अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तभित्र पुल निर्माण गरिसक्नुपर्ने निमित्त कार्यालय प्रमुख श्रेष्ठले बताएका छन् । तर निर्माण व्यवसायीले ६ महिनाभित्रमा काम सम्पन्न गर्न नसकिने जनाउँदै कम्तीमा दुई वर्षको समयावधि दिन माग गरेका छन् ।
झिमरुक गाउँपालिका क्षेत्रका सर्वसाधरण वर्षौदेखि अलपत्र पक्की पुल पूनः सुचारु भएको देख्दा उत्साहित छन् । ‘पुल नहुँदा धेरै दुःख पायौँ’,झिमरुक ८ गोव्दीका ७८ वर्षिय बृद्ध डोर बहादुर बस्नेतले भने,‘हाम्रै पालामा पुल बन्ने भएपछि खुसी लागेको छ ।’ बीचमा अलपत्र परेपछि पुलको आशा मारेको समेत उनले अनुभव सुनाए । पुल नभएकै कारण खोला तर्ने क्रममा यस क्षेत्रका आठ जनाले ज्यान गुमाइसकेको तुषाराका स्थानीय झग बहादुर जिसीले जानकारी गराए । ‘अव खोला तरेर अकालमै ज्यान गुमाउनुपर्ने अवस्था आउने छैन्’,उनले भने,‘पुल बनाउन निर्माण व्यवसायीलाई सवैले साथ दिन्छौ ।’ पढ्न जाने विद्यार्थी, मेलापात जाने किसान र बजार जाने सर्वसारधणको खोलाले बगाएर मृत्यु भएको छ ।
नेपाल प्रहरीमा कार्यरत तुषाराका प्रहरी जवान विष्णु बहादुर महतराको कार्यस्थल रोल्पा फर्कैदै गर्दा बगाएर मृत्यु भयो । लिवाङ टिमुरचौरकी निर्मला गिरी, दारीमचौरका रेकम खत्री, सोही ठाउँका भक्त बहादुर खत्री, तुषारा गोव्दीका मोहनसिँह बस्नेत, ओखरकोटका मिन बहादुर जिसी, ओखरकोट ढाँडका अनिल खड्का र एकजना पहिचान नखुलेका लिवाङका यूवाले अकालमै ज्यान गुमाए । यस क्षेत्रका स्थानीयका लागि झिमरुक खोला त्रासको मार्ग बनिरहेको छ । ‘पढ्दै गरेको छोरालाई खोलाले बगाएर मृत्यु भयो’,ढाडका स्थानीय पदम खड्काले भने,‘यतिका समयसम्म पुल बनेन् । यसपाली फेरी बन्न थालेको देख्दा खुसी लागेको छ ।’
झिमरुक सहित गौमुखी र नौवहिनी गाउँपालिकामा पर्ने दर्जन बढी दुर्गमका नागरीक पुल बनेपछि लाभांवित हुनेछन् । लिवाङ, तुषाराका स्थानीय गाउँपालिका कार्यालय भ्यागुते पुग्न समेत खोला तरेर वारपार गर्नुपर्ने बाध्यता छ । लुङ, पुँजा, खुङ, नारीकोट, रजवारा, अर्खा, बांगेमरोट, खवाङ, स्याउलीवाङ र ओखरकोट सहित सिमानामा जोडिएका छिमेकी जिल्ला गुल्मी, अर्घाखाँची र बाग्लुङका नागरिकहरु समेत लाभांवित हुनेछन् ।