- न लोडसेडिङ, न त नियमित विद्युत्त आपूर्ति
- अनियमित विद्युत्तले आक्रोशित प्यूठानी
घरी आउने जाने विद्युत्तले जिल्लाबासी हैरानी भएका छन् । जिल्लामै १२ मेगावट क्षमताको झिमरुक जलविद्युत्त आयोजना संचालनमा आएपनि नियमित विद्युत्त उपभोग गर्न नपाउँदा जिल्लाबासीको आक्रोश चुलिएको छ । दैनिक २०÷२५ पटक विद्युत्त जाने गरेको उद्योगी व्यवसायी बताउँछन् । अनियमित विद्युत्त समस्या समाधानका लागि पटक पटक सम्वन्धित निकायलाइ जानकारी गराउँदा समेत सुनुवाइ नभएको जिल्लाबासीको गुनासो छ ।
‘अनियमित विद्युत्तले धेरै समस्या भयो’,प्यूठान उद्योग वाणिज्य संघका अध्यक्ष केदारमान कक्षपतीले भने,‘नियमित आपूर्तिका लागि विद्युत्त प्राधिकरणलाइ धेरैपटक भन्यौ तर सुन्दैनन् ।’ विद्युत्तबाट संचालन हुने साना तथा घरेलु उद्योगहरु बढी मारमा परेका छन् । कुटानीपिसानी मिल, पाउरोटी उद्योग, ग्रिल, कम्प्यूटर इन्सिच्यूट लगाएतका उद्यम व्यवसायहरु चौपट बनेका छन् ।
साना उद्योगहरु विद्युत्तकै समस्याले वन्द हुने अवस्थामा पुगेको कक्षपतीले गुनासो पोखे । ‘कि त घोषित लोडसेडिङ हुनुप¥यो’,कक्षपतीले भने,‘होइन भने छिन छिनमा लाइन किन कट्छ ?’ उनले उद्यम व्यवसाय गर्नका लागि राज्यले उचित वातावरण मिलाउन नसकेको गुनासो सुनाए । विद्यूत्त कार्यालयमा सम्पर्क गर्दा सिस्टमबाट गएको भन्ने रेडिमेट जवाफ सुन्ने गरेको उनको भनाइ छ ।
‘मेशिनमा राखेपछि पाउरोटी तात्नुपर्छ’,शारदा बेकरी उद्योग प्यूठान नगरपालिका ४ विजुवारका बसन्तराज पोखरेलले भने,‘बीचमै लाइन गयो भने पाउरोटी कामै नलाग्ने हुन्छ ।’ विद्युत्त नियमित नहुँदा उद्योग संचालन गर्न धेरै समस्या भइरहेको उनले गुनासो गरे । उनले सम्वन्धित निकायलाइ भरपर्दो विद्युत्त आपूर्तिको व्यवस्था मिलाइदिन आग्रह समेत गरे । अनियमित विद्युत्त समस्याले गर्दा कतिपय उद्यमी व्यवसायीहरुको रोजीरोटी चलाउनै मुश्किल भइरहेको गुनासो गरेका छन् ।
ऊर्जा मन्त्रीलाइ ध्यानकर्षण
अनियमित विद्युत्त आपूर्तिलाइ नियमित बनाउन प्यूठान र स्वर्गद्धारी नगरपालिकाले प्रमुख जिल्ला अधिकारी मार्फत ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रीलाइ ध्यानाकर्षण पत्र समेत बुझाएका छन् । ‘प्यूठानमै उत्पादन भएको झिमरुक जलविद्युत्त आयोजना जिल्लाबासीको गाँससँग साटिएको छ’, प्यूठान नगरपालिकाका प्रमुख अर्जुन कुमार कक्षपतीले भने,‘विद्युत्त नियमित गराउन धेरैपटक आन्दोलन भए । उत्पादन गृहमै आगजानी भए । तर, नियमित विद्युत्त आपूर्तिलाइ ध्यान दिइएन ।’
सिंगो मुलुकलाइ नै लोडसेडिङमुक्त बनाउने अभियान चलिरहेका बेला आफ्नै जिल्लामा उत्पादन भएको विद्युत्त सहज रुपमा उपभोग गर्न नपाउनु चिन्ताको विषय बनेको उनको बुझाइ छ । हाल भइरहेका समस्यालाइ तत्कालै समाधानका लागि पहल गर्न समेत आग्रह गरिएको छ ।
भोल्टेजकै समस्या
भोल्टेजमा कमी हुँदा नियमित विद्युत्त दिन नसकिएको झिमरुक जलविद्युत्त केन्द्र प्यूठानका प्रमुख श्याम थापा बताउँछन् । राष्ट्रिय प्रशारण लाइनबाट १ सय ३२ केभी भोल्टेजको विद्युत्त आउनुपर्नेमा १ सय १४ भोल्टेच मात्र आइरहेको उनले बताए । प्यूठान सहित रोल्पा र अर्घाखाँचीमा प्रशारण भइरहेको विद्यूत्तमा समस्या आएमा नियन्त्रण गर्ने उपकरण झिमरुक पावर हाउसमा मात्र भएकाले पनि समस्या भइरहेको उनको भनाइ छ ।
दम्तीमा निर्माणधिन १ सय ३२ केभी क्षमताको सव स्टेशन संचालनमा आएपछि केही समाधान हुने आशा गरिएको उनी सुनाउछन् । झिमरुक जलविद्युत्त केन्द्रबाट हाल ८ मेगावाट क्षमताको विद्युत्त उत्पादन भइरहेको छ । नेपाल विद्युत्त प्राधिकरणले निर्माण गरेका पोल र लाइनका संरचनाहरु मापदण्ड अनुसार नहुँदा समेत विद्युत्त आपूर्तिमा समस्या भइरहेको सम्वन्धित निकायले बताएको छ ।
पोलहरुको दुरी मापदण्ड अनुसार नहुनु, तारलाइ रुखले छोएको, रुखमुनीबाट विद्युत्त विस्तार गरिँदा समेत समस्या भइरहेको थापाले बताएका छन् ।नेपाल विद्युत्त प्राधिकरण वितरण केन्द्र प्यूठानले जिल्लामा अव्यवस्थित बनेका पोल, तारहरुको व्यवस्थापनमा चासो देखाएको छैन् । धेरैजसो स्थानमा जिर्ण पोलहरु हटाइएको छैन् । रुखमै तार जोडिदा घाँस काट्ने क्रममा मरन्ठानामा एक यूवतीको ज्यान समेत गइसकेको छ ।