- वर्षौदेखिको सिंचाई गर्ने सपना अधुरै
बांगेशाल (प्यूठान) : बाङ्गेसाल लिफ्ट सिंचाई योजनाको समयावधि लम्बिएको छ । डेढ वर्षमै सम्पन्न हुनुपर्ने सिंचाई योजना चार वर्ष बितिसक्दा समेत सकिएको छैन् । योजना सम्पन्न नहुँदा किसानहरुको वर्षौ अघि देखिको सिंचाई गर्ने सपना अधुरै छ । साविक मध्यपश्चिमाञ्चल सिचाई विकास डिभिजन कार्यालय प्यूठानको एक करोड ५९ लाख ३० हजार ८ सय ४० रुपैयाँ लागत स्टिमेट रहेको योजनामा स्थानीय उपभोक्ता समितिले करिब ५ लाख रुपैयाँ बराबरको जनश्रमदान समेत गरिसकेका छन् । सिचाई डिभिजनमा चार जना कार्यालय प्रमुख फेरिदा समेत योजना संचालनमा आउन सकेको छैन् ।
राप्ती नदीको पानी लिफ्ट गरि सरुमारानीको साविक बाङ्गेसाल गाविसको वडा नं.४ र ५ का खेतियोग्य जमिनमा सिंचाई गर्ने योजना रहेको उपभोक्ता समितिका अध्यक्ष जिब्राईल मिँयाले बताए । ‘डेढ बर्षमा योजनाको काम सम्पन्न गरि सिंचाई गर्ने भनेको हो’,उनले भने,‘चार वर्ष बितिसक्दा समेत योजना सम्पन्न हुँदैन् ।’
पाँच वटा ओभरहेड पानी टंकी घर बनिसकेको र खोलामा ४ वटा (सम्पवायल) पानी कुवा निर्माण सम्पन्न भईसकेको छ । राप्ती नदी किनारमा थप एउटा सम्पवायल बनाउन बाँकी छ । मियाँ भन्छन्,‘ठेकेदारको लापरबाही र सिंचाई कार्यालयको हेलचक्रयाईका कारण सिंचाई योजना अलपत्र परेको हो ।’
सिंचित क्षेत्रको बिस्तार गरि कृषि उत्पादनमा बृद्धि ल्याउन सिंचाई योजनाको प्रभावकारी संचालनमा सम्वन्धित सरोकारवाला कार्यालय बढी जिम्मेवार हुनुपर्नेमा स्थानीय उपभोक्ता एंव जनप्रतिनिधि जितमान मिँयाले जोड दिए । गाँउपाललिकाले समेत योजनाका विषयमा चासो दिन उनले आग्रह गरे । करौडौँको योजनामा आर्थिक अपारदर्शिता समेत भएको आशंका उनले गरेका छन् । योजनाको दिगो भविष्य, प्राविधिक पाटो र सिंचाईको प्रयोगबारे सिंचाई कार्यालयले किसानहरुलाई जानकारी नगराएको समेत उनले गुनासो गरे ।
मध्यपश्चिमान्चल सिचाई विकास डिभिजन कार्यालय प्यूठानका प्रमुख दामोदर सापकोटाले योजनाका वाँकी कामहरु छिट्टै सम्पन्न गरिने दाबी गरेका छन् । ‘यस वर्ष २५ लाख थप बजेट प्राप्त भएको छ’, उनले भने, ‘उपभोक्ता समितिसंग नियमित संम्पर्कमै छौँ । काम हुन्छ ।’ मुस्लिम तथा आदीवासी धामी जातीको बाहुल्यता रहेको यस क्षेत्रमा सिंचाईको प्रभावकारी सुविधा भए गहु, तोरी, मकै र वेमौसमी तरकारी खेतीको बोलियो संभावना छ ।